PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्वास्थ्य सतर्कतासहित मयूर यातायातले सञ्चालन गर्‍यो सार्वजनिक बस

स्वास्थ्य सतर्कतासहित मयूर यातायातले सञ्चालन गर्‍यो सार्वजनिक बस

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : मयूर यातायातले उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्न शुरु गरेको छ। मयूरले आजदेखि बस चलाउन शुरु गरेको हो।

सुरक्षा सतर्कतासहित मयूरले बस चलाउन शुरु गरेको छ। बसमा स्यानिटाइजरको व्यवस्था गरिएको छ भने सामाजिक दुरी कायम गरेर यात्रु चढाइएको छ।

मयूर यातायातले सोमबार विहानबाट ६ वटा बसमार्फत सेवा सुरु गरेको हो। कम्पनी अध्यक्ष मोहन श्रेष्ठले लामो समयदेखि बसहरू ग्यारेजमा थन्किएर रहेकाले तत्कालै सबै निकालेर चलाउन गाह्रो भए पनि ६ वटा बसबाट सेवा सुरु गरेको बताए। बसहरु मर्मत सकिएकालाई संचालनमा ल्याउने उनको भनाइ छ।

'ग्यारेजमा मेकानिक साथीहरुले मर्मतको काम धमाधम गरिरहनु भएको छ। भोलिबाट ४४ वटा नै बस संचालनमा ल्याउन लागेका छौं,' उनले भने, 'बसहरुको ब्याट्री र टायरमा समस्या आएको छ। केही दिनदेखि मर्मत जारी छ।'

रिङरोडमा चारवटा र धुलिखेलसम्म दुईवटा बस जान्छन्। धुलिखेल जाने बसमा अहिले कर्मचारीलाई मात्र लाने-ल्याउने गरिएको छ। गृह मन्त्रालयको स्वीकृतिमा सरकारी कर्मचारी ल्याउनका लागि प्रयोग गरिएको छ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर बस संचालन गरिएको  श्रेष्ठको भनाइ छ। सामाजिक दुरी कायम गरिएको छ भने चालक र सहचालकलाई मास्क र पंजा दिइएको छ। स्यानिटाइजर राखिएको छ। बसका कर्मचारीलाई पीपीई सेट पनि कम्पनीले दिएको छ।

लामो समय रहेको सिन्डिकेट खारेजी प्रक्रियामा मयुर यातायातले सरकारलाई सहयोग पुर्‍याएको थियो। कोटेश्वर पूर्वको रुट दिएर सरकारले सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो।

श्रेष्ठले बसहरु ग्यारेजमा राखे थप क्षति हुने भन्दै संचालनमा ल्याएको बताए। उनले अरु कम्पनीहरुलाई समेत बस संचालन गर्न आग्रह  गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell