PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गृह मन्त्रालय रोक्ने, स्थानीय सरकार जनता घर फर्काउनेः नारायणटारमा पाँच सयभन्दा बढी मानिस भेला, जनप्रतिनिधि र प्रहरीको विवाद



पहिलोपोस्ट

गृह मन्त्रालय रोक्ने, स्थानीय सरकार जनता घर फर्काउनेः नारायणटारमा पाँच सयभन्दा बढी मानिस भेला, जनप्रतिनिधि र प्रहरीको विवाद

काठमाडौँः लकडाउनलाई कडाइ गर्न भन्दै मंगलबारदेखि गृह मन्त्रालयले उपत्यकाबाहिर जाने र भित्रने दुबैलाई कडाइ गर्न निर्देशन दिएको थियो। तर, कतिपय स्थानीय तहले भने आफ्ना नागरिक लैजाने प्रक्रिया अझै जारी राखेका छन्।

बुधवार बौद्ध नारायणटार क्षेत्रमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका पाँच सयभन्दा बढी नागरिक गाउँ फर्कने भेला भएका छन्। स्थानीय जनप्रतिनिधि दशभन्दा बढी बस लिएर नागरिक लिन आएका छन्। वडाध्यक्ष स्वयम नागरिक लिन काठमाडौँ आइपुगेका हुन्।  

तर, गृहको निर्देशन भन्दै प्रहरीले उनीहरुलाई सिन्धुपाल्चोक जान रोक लगाइरहेको छ। अहिले प्रहरी, जनप्रतिनिधि र घर जान तयार परेका नागरिकबीच विवाद भइरहेको छ। जनप्रतिनिधिले मास्क, स्यानिटाइजर लगायतका सामाग्री समेत लिएर नागरिक लिन काठमाडौँ आइपुगेका हुन्।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले गृहको निर्देशन अनुसार उनीहरुलाई गाउँ फर्कन रोक लगाइएको बताए। कार्कीले भने, ‘दुई तीन दिनअघिदेखि नै जनतालाई लिन आउँछु भनेर आह्वान भएको रहेछ। कसरी समन्वय भएको थियो, थाहा भएन। तर हामी जान दिँदैनौँ।’

स्थानीयले भने घर फर्काउन माग गरिरहेका छन्।

यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिका ७ का वडाध्यक्ष सार्की तामाङले नागरिकलाई सुरक्षित रुपमा लिएर जान आफूहरु लिन आएको बताए। तामाङले भने, ‘हामी सम्पूर्ण हिसाबले सुरक्षित रुपमा लैजान्छौँ। त्यसैले लिन आएका हौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell