PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मृत्युको सामुन्ने इरफानको आत्मसमर्पण



पहिलोपोस्ट

मृत्युको सामुन्ने इरफानको आत्मसमर्पण

भारतीय अभिनेता इरफान खानको निधन भएको छ। आमा साइदा बेगमको निधन भएको चार दिनपछि इरफानको उपचारको क्रममा निधन भएको हो। मंगलवार स्वास्थ्यमा खराबी देखिएका कारण उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको आसियूमा उपचार भइरहेको थियो।

५३ वर्षीय इरफानको उपचारका क्रममा निधन भएको हो। दुई वर्षअघि न्यूरो इंडोक्राइन ट्यूमरबाट ग्रस्त उनमा फेरि कोलनमा इन्फेक्सन देखिएको उनका निजी प्रवक्ताले बताएका थिए।

गत शनिवार उनकी आमाको निधन भएको र लकडाउनका कारण इरफान अन्तिम संस्कारमा जान पाएका थिएनन्। त्यतिखेर उनका निकट साथीहरुलाई पनि उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी थिएन। धेरैको अनुमान उनी उपचारका लागि बेलायत पुगेको भन्ने थियो।

फिल्म 'अङ्ग्रेजी मिडियम' सकेपछि एकपटक उपचारकै शिलशिलामा बेलायत गएपछि उनी कहिले फर्किए भन्नेबारे यकिन जानकारी कसैलाई थिएन।

फिल्मकर्मी सुजित सरकारले चार दिनअघि बलिउड हंगामासँग केही महिना यता उनी सम्पर्कमा नभएको बताएका थिए। उनै सरकारले आज ट्वीटरमार्फत् इरफानको मृत्युको खबर सार्वजनिक गरेका हुन्। लेखेका छन्, 'तिमीले धेरै लड्यौ। मलाई तिमीप्रति गर्व छ। सायद हामी फेरि भेट्नेछौं।'

इरफानको परिवारले विज्ञप्ति जारी गर्दै खबरको पुष्टि गरेको छ।

दुई वर्ष अघि आफूलाई ट्युमर भएको जानकारी गराउँदा इर्फानले लेखेका थिए : 'मैले आत्मसमर्पण गरेँ।'

त्यही भनाइ उल्लेख गर्दै पारिवारिक विज्ञप्तिमा लेखिएको छ : हामीले पीडासहित यो खबर सार्वजनिक गर्नु परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell