PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झापा हल्दिबारीका एक जनालाई कोरोना आशंका, र्‍यापिड टेस्टको रिजल्ट पोजेटिभ



अनन्तराज न्यौपाने

झापा हल्दिबारीका एक जनालाई कोरोना आशंका, र्‍यापिड टेस्टको रिजल्ट पोजेटिभ

विराटनगर : झापाका एक युवकमा कोरोना भाइरसको एन्टीबडी फेला परेको छ।

झापाको हल्दीबारी गाउँपालिका घर भएका ती युवकमा कोरोना भाइरसको एन्टीबडी फेला परेको हो।

आरडीटी अर्थात् र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट बुधबार गरिएको परीक्षणमा युवकमा एन्टीबडी देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

एन्टीबडी देखिएका ती युवक वैदेशिक रोजगारका क्रममा दुबई गएका थिए। उनी एक महिनाअघि आफ्नो घर झापाको हल्दिबारी फर्किएका हुन्। त्यसपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए।

मन्त्रालयका अनुसार ती युवामा आरडीटी पोजिटिभ पाइएपछि उनको घाँटीको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको छ। उनलाई कोविड १९ को सङ्क्रमण भएनभएको टुङ्गो बिहिबार साँझसम्म लाग्ने मन्त्रालयले जनाएको छ।

‘आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ हुन्छ भन्ने छैन’, मन्त्रालयका एक विज्ञले भने, ‘आरडीटी पोजिटिभ भएकाको स्वाब परीक्षण नेगेटिभ आएको पनि उदाहरण छन्।’

जिल्ला जन स्वास्थ्य कार्यालय झापाका अनुसार हल्दिबारीका मात्र ५५ जनाको आरडीटी गरिएको छ। जसमध्ये १९ जनाको थ्रोट स्वाब कोशी अस्पताल विराटनगर पठाइएको छ। कार्यालयका अधिकृत जीवन चौलागाईले अहिलेसम्म कसैको पनि कोरोना पोजिटिभ नआएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell