PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

यातायातमन्त्री नेम्वाङले गरे ऐतिहासिक मानदेव पथको उद्घाटन



यातायातमन्त्री नेम्वाङले गरे ऐतिहासिक मानदेव पथको उद्घाटन

काठमाडौं : लिच्छिविकालिन राजा मानदेवद्वारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका छन्। भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज मन्त्री नेम्वाङले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताए। उनले पर्यटकीय दृष्टिकोणले पनि यस क्षेत्रको ठूलो महत्व रहेको बताए। उनले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनु पर्ने बताए।

उनले भने, ‘नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो। त्यसलाई हरियाली बनाउनु पर्छ। धुलोरहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ। तर, केहि समस्या भएको छ। हामी लागि रहेका छौ।’

उनले त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उल्लेख गरे।

भक्तपुरदेखि काठमाडौं जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडिबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै उनले दीर्घकालिन समाधानका लागि तयारी गरिएको पनि बताए।

‘एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ। जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौं,’ उनले भने।

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell