PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीजी फर्केपछि वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन हुन्छ, त्यसमा दुई मत हुँदैन : प्रचण्ड



रासस

ओलीजी फर्केपछि वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन हुन्छ, त्यसमा दुई मत हुँदैन : प्रचण्ड

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन हुने स्पस्ट पारेका छन् ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सदस्य बनाउन आलटाल गरिरहेका बेला प्रचण्डले भने सचिवालयको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने दावी गरेका हुन् । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनको अनुरोध छ।

नेकपा चितवनको सचिवालय बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, 'अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ। त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ। हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका हौं। त्यो कार्यान्वयन हुनेछ। त्यसमा दुई मत हुँदैन।'

विचलित नहुन कार्यकर्तालाई निर्देशन

अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित नहुन निर्देशन समेत दिए। उनले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर विचलित मनस्थिति बनाएको भए त्याग्न कार्यकर्तालाई अनुरोध गरे।

बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष प्रचण्डले भने, 'माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ।' शीर्ष नेतामा कुनै समस्या नभएको बताउँदै उनले ‘हामी मिलिहाल्छौं, तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ’ भनेका थिए।

तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिए। उनले भने, 'तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ।'

कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उनले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिन आग्रह गरे।

पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell