PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कोरोना कहर : बहराइन हिँडेका ३० नेपाली दुबईबाट फिर्ता पठाइए, विदेश भ्रमण नगर्न सरकारको सुझाव



कुञ्जरमणि भट्टराई

कोरोना कहर : बहराइन हिँडेका ३० नेपाली दुबईबाट फिर्ता पठाइए, विदेश भ्रमण नगर्न सरकारको सुझाव

काठमाडौं : कोरोना भाइरसको त्रासका कारण बहराइन हिँडेका नेपालीलाई दुबईबाट फिर्ता पठाइएको छ।

वैदेशिक रोजगारीका सिलसिलामा बहराइन हिँडेका ३० जना नेपालीलाई दुबईले फिर्ता पठाएको हो। बहराइन जाने क्रममा दुबईमा ट्रान्जिट रहेका उनीहरुलाई त्यहाँको अध्यागमन कार्यालयले बहराइन जान रोक लगाउँदै फिर्ता पठाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

यसैबीच नेपालले पनि नेपाल प्रवेशमा कडाइ गर्ने भएको छ।

नेपाल सरकारले विदेशी नागरिकहरुलाई दिँदै आएको अन दी अराईभल भिसा नदिने निर्णय गरेको हो। नेपालमा लगभग सबै देशका नागरिकलाई अराईभल भिसा दिँदै आएको थियो। नेपालमा १२ देशका नागरिक तथा यात्रा अनुमति पत्र बोकेका शरणार्थीहरुले अग्रिम भिसा लिनुपर्ने व्यवस्था छ। नाइजेरिया, घाना, जिम्वावे, स्वाजिल्याण्ड, सोमालिया, क्यामरुन, लिवेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानस्तान र सिरियाका नागरिकले अग्रिम भिसा लिनुपर्ने प्रावधान थियो।

चीनमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाल पनि उच्च जोखिममा रहेको छ। त्यसैले नेपालले नेपाल प्रवेशमा कडाइ गर्ने तयारी भएको हो। यही मार्च ७ गते देखि लागु हुने गरी नेपालले अराइभल भिसामा कडाइ गर्ने बताएको छ। कोरोना प्रभावित देशहरुबाट नेपाल प्रवेश गर्ने नागरिकलाई त्यस्तो भिसा नदिने र अन्य देशबाट आउनेहरुलाई पनि उनीहरुको पछिल्लो भ्रमण विवरण हेरेर मात्र दिने गरी सरकारले निर्णय गरेको छ।

अब विदेशीले नेपाली भिसा प्राप्त गर्नका लागि अग्रिम अनलाईनबाट भिसा आवेदन दिनुपर्ने तथा स्वास्थ्य रिपोर्टसमेत पेस गर्नुपर्ने छ।

यता सरकारले यस अवधिमा विदेश भ्रमणमा नजान सुझाव दिएको छ। 'सकभर विदेश भ्रमण नगर्नुस,' परराष्ट्रमन्त्री ज्ञवालीले भने।

उनले पारिवारिक कार्यक्रम संस्कार विवाह भोज भतेर, सभा सम्मेलन गर्दासमेत ध्यान दिन सुझाव दिएको छ।

'सकभर विवाह गर्दा पनि धेरै जमघट नगर्नुस। पारिवारिक भेला मात्र गर्नुस्,' उनले भने।

यसैबीच मन्त्री ज्ञवालीले खरिपाटीको क्वारेन्टाइन कायम राख्दै निजि अस्पतालहरुलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिएको जानकारी दिए। उनले सगरमाथा संवादसहितका सबै अन्तर्राष्ट्रिय कार्यक्रमहरुसमेत रद्द गरिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell