PahiloPost

May 15, 2024 | २ जेठ २०८१

‘सभामुख महोदय, भैँसीको नागरिकता भए देखाइदिन्थेँ यो भारतीय होइन, नेपाली हो भनेर’



पहिलोपोस्ट

‘सभामुख महोदय, भैँसीको नागरिकता भए देखाइदिन्थेँ यो भारतीय होइन, नेपाली हो भनेर’

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले कम्युनिस्ट सरकारले साना व्यापारीहरुलाई मारमा पारेको आरोप लगाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सांसद कर्णले भन्सारमा करोडौँको सामान ल्याउनेलाई कारबाही नगरेको भन्दै साना व्यापारीलाई मारमा पार्दा सरकारको नै बदनाम हुने बताए।

सांसद कर्णले भने, ‘दुई/चार लाखको व्यापार गर्नेलाई मार्ने काम नहोस्। यसले सरकारको बदनाम हुन्छ। करोडौँको माल ल्याउनेले छुट पाउने, दुई चार लाखको काम गर्नेलाई सिध्याउने? यसबाट जनता त्रसित छन्।’

उनले करोडौँको ल्वाङ, मरिच, केराउ कर बुझाएर ल्याउने गरेको भन्दै नेपालमा यसको खपत कति हुन्छ भन्दै अर्थमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरे। उनले बोर्डरमा भयावह अवस्था भएको बताए।

उनले भने, ‘भ्याट तिरेर यी सामानहरु लिएर जान्छन् आफ्नो बोर्डरको पसलमा। २५ किलोमिटरभित्रै प्रहरीहरुले समाउँन्। तर बोर्डरमा समातिएको भनेर मुचुल्का बनाउँछन्। व्यक्तिले झुटो बोल्ला तर राज्यले झुटो बोल्न सक्छ।’

उनले भिष्वा गाउँपालिकाको बोर्डरको एउटा पसलमा केराउ, ल्वाङ मरिच राखेको एक ट्र्याक्टर सामान समातेर भन्सारमा बुझाइएको बताए। ती सामानको भ्याट बुझाइएको भएको उनको भनाइ थियो। उनले साना व्यापारीले बेच्न नपाउने हो भन्दै प्रश्न गरे। कर तिर्दा पनि सामान समातिएकाले भेष्वा बजार ३ दिनदेखि बन्द भएको उनको भनाइ थियो।

किन बन्द भयो भनेर कसैले चासो नराखेको उनले बताए। उनले भैँसी बोर्डरबाट ल्याउँदा भारतीय भनेर समात्ने गरेको प्रसंग सुनाए।

‘भैँसी बोर्डरमा लिएर आउँछन्, बारा जिल्लाको जितिपुरको भैँसी बजारमा। त्यहाँबाट देशमा सप्लाई हुन्छ। पशुको क्वारेन्टाइनको व्यवस्था छैन। त्यहीको पशुचिकित्सालयमा देखाएर स्वस्थ छ भनेर लिएर जान्छ। विरगंजमा आउँदा प्रहरीले समाउँछ र भन्सारमा पुयाउँछ,’ उनले सुनाए।

उनले थपे, ‘सभामुख महोदय, भैँसीको नागरिकता हुँदैन। भए देखाइदिन्थे यो भारतीय होइन नेपाली हो।’

उनले भारतीय भैसी लिएर आएको भन्दै समात्ने गरेको प्रसंग सुनाउँदै भारतीय भैँसी भन्ने प्रमाण के भन्दै प्रश्न गरे। गरिबको सरकारले साना व्यापारीलाई मार्न नहुने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell