PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा



संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा मछिन्द्र क्लब संकटा क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाविरुद्ध मछिन्द्रले ३-१ को जित निकालेको हो।

खेलको ४४ औँ मिनेटमा देवेन्द्र तामाङको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। रञ्जित धिमालले प्रहार गरेको कर्नर किकलाई तामाङले हेडिङ गर्दै गोलमा परिणत गरे। पहिलो हाफमा मछिन्द्रले १-० ले अघि रह्यो।

दोस्रो हाफमा अर्को गोल थप्दै मछिन्द्रले अग्रता दोब्बर बनायो। ६४ औँ मिनेटमा विशाल राईले पोस्टभन्दा धेरै टाढाबाट हानेको फ्रिकिकलाई संकटाका किपरले ‘जज’ गर्न नसक्दा बलले जाली चुमेको थियो। ८२ औँ मिनेटमा दीपक राईले गोल थप्दै खेललाई ३-० को अवस्थामा पर्‍याए। त्यसअघि मछिन्द्रका केही प्रयासहरु असफल भएका थिए।

खेलको ८९ औँ मिनेटमा संकटाका मेसुके ओलुमुले गोल गर्दै टिमलाई खेलमा फर्काउन खोजे पनि त्यो पर्याप्त भएन।

जितसँगै दोस्रो स्थानको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। १२ खेलमध्ये ९ मा जित, एउटा हार र २ मा बराबरीको नजिता निकालेको मछिन्द्रको २८ अंक छ। अघिल्लो सिजनमा रेलिगेसन नहुँदा अन्तिम दोस्रो स्थानको मछिन्द्रको यस सिजनमा एक अंक घटाइएको थियो। अघिल्लो पटक तालिकाको पुछारमा रहेको न्यू रोड टिमको दुई घटाइएको छ।

यद्यपि दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले १ खेल कम खेलेका छन्। आर्मीको २६ अंक छ भने मनाङको २२ अंक छ। यता संकटा १५ अंकसहित तालिकाको ७ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell