PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

त्यो ‘क्लु’ जसले होटलसम्म पुर्‍याएर पाँच चिनियाँ नागरिकसहित लुटिएको पैसा फेला पार्‍यो

त्यो ‘क्लु’ जसले होटलसम्म पुर्‍याएर पाँच चिनियाँ नागरिकसहित लुटिएको पैसा फेला पार्‍यो

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौः ‘हाम्रो एटिएमबाट अस्वाभाविक रुपमा पैसा झिकिएको छ। एउटै व्यक्तिले रकम झिकेको देखिन्छ।‘ 

शनिवार दिउँसो करिब ४ बजेतिर प्रभु बैंकका कर्मचारीको फोनले प्रहरीलाई झस्कायो। लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गमा रहेको एटिएम बुथतिर लाग्यो।

नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिक जस्तै देखिने युवक पैसा झिकेर निस्किँदै थिए। उनी प्रहरीको शंकाको घेरामा परे। सिभिल ड्रेसमा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लियो।

विदेशी भएकाले नेपाली बुझ्ने अवस्थै थिएन। प्रहरीले अंग्रेजीमा गरेको प्रश्नको जवाफ नै आएन। प्रहरीलाई यतिखेर दोभासेको अभाव खड्कियो। याक एन्ड यति होटेलबाट निस्किएका एक कर्मचारी प्रहरीको सहयोगी बने। उनले चिनियाँ भाषा बोल्न जानेकाले ती व्यक्तिसँग संवाद गरे।

होटल कर्मचारीको संवादपछि उनी चिनियाँ नागरिक भएको प्रष्ट भयो। नाम खुल्यो झु लियानग्याङ। प्रहरीले उनको साथबाट ४५ हजार रुपैयाँ फेला पार्‍यो। ४५ हजार रुपैयाँ एटिएमबाट निकाल्नु स्वभाविक नै थियो। तर प्रहरीले उनको शरीरको खान तलासी गर्दा भेटिएको २० वटा एटिएम कार्डले प्रहरी झस्कियो। एउटा व्यक्तिसँग यति धेरै एटिएम कसरी?

बैंकका कर्मचारीले दिएको जानकारी सत्य साबित हुने सम्भावना देखियो। तर उनी प्रहरीले सोधेको प्रश्नको थप जवाफ दिने पक्षमा थिएनन्। तर प्रहरीलाई एउटा क्लु हात पर्‍यो। झुको साथबाट दुईवटा चाबी भेटिए। कोठा नम्बर ६०२ र ६०४ को। त्यो चाबी नै यस्तो क्लु बन्यो जसले प्रहरीलाई उनको गिरोह नै रहेको होटलसम्म पुर्‍यायो।

होटल थियो जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक।

होटलको छैटौ् तलामा पुगेपछि भेटिन्छ कोठा नम्बर ६०२। होटेलमा झुका साथी लिन जियानमेङ, लुओ जियालेइ, क्वी युनकिङ र चेन बिन बिन होटेलबाट चेक आउट गरेर हिँड्ने तर्खरमा थिए। खाजा खान लागेकाले केही ढीला भएको थियो। उनीहरुको साथमा थियो, दुई वटा ब्रिफकेस र झोला।

प्रहरीले दुईवटा झोला र ब्रिफकेस खोलेर हेर्‍यो। सबै अचम्ममा परे। पैसा नमिलाइ कोचिएको अवस्थामा लाखौं रुपैयाँ देखियो। त्यसपछि ती ५ चिनियाँ नागरिकको एटिएम लुटको धन्दा बाहिरियो। ‘एक मिनेट मात्र ढीलो भएको भए लाखौं रुपैयाँ लिएर भागि सक्थे। होटेल पत्ता लाग्न साथ पुगेर रकम बरामद गर्न सफल भइयो।‘ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

एटिएम लुट्नकै लागि नेपाल

प्रहरीले पक्राउ गरेका ५ जना चिनियाँ नागरिक एटिएम लुट्नको लागि नै नेपाल आएको खुलेको छ। उनीहरु शुक्रवार दिउँसो चाइनिज एयरलाइन्स मार्फत नेपाल आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरुले एटिएम लुट्नको लागि चीनबाट नै योजना बनाएर १ सय ३२ वटा एटिएम ह्याक गर्ने कार्ड समेत ल्याएको भेटिएको छ। उनीहरुको समूहमा अन्य ३ जना पनि रहेकाले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेको होटल माया मनोर बुटिक होटलको कोठा चीनबाटै बुकिङ गराएका थिए। शनिवार उनीहरु दरबारमार्ग, ठमेल, सोह्रखुट्टे लगायतमा रहेका एटिएमको रकम लुटिसकेपछि अर्को होटेलमा सर्ने योजना बनाएका थिए। ‘प्रहरीले थाहा पाउन सक्ने हुनाले होटल चेन्ज गर्ने र नेपाली सिम कार्डसमेत प्रयोग नगरेको देखियो,‘ परिसरका एसएसपी सुवेदीले भने।

उनीहरुले शनिवार बिहानदेखि नै एटिएममा गएर रकम झिक्न शुरु गरेका थिए। दिउँसो ४ बजेसम्म १ करोडभन्दा बढी रकम झिकेका थिए। शनिवार दिनभरि रकम झिकेर आइतवार क्यासिनोमा रमाइलो गरी सोमवार चीन फर्कने योजना उनीहरुले बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरुले नेपालमा शनिवार विदा हुने बैक तथा अन्य कार्यालयहरु पनि विदा हुने भएकाले शनिवार नै रकम झिक्ने योजना बनाएको खुलेको छ।

तीन जना कसरी भागे?

उनीहरुले ८ जनामध्ये दुइटा समूह बनाएर पैसा झिक्ने गरेका थिए। तर दुई समूहका एकले अर्कोलाई नचिनेको देखिन्छ। प्रहरीले पक्राउ गरेका झुसँग भेटिएका होटलका कोठा नम्बर ६०२ र ६०४ का चाबीका माध्यमबाट थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो। तापनि झुको समूहका ३ जना भने भाग्न सफल भएको प्रहरीको अनुमान छ। होटेल माया मनोरमा उनीहरुले तीनवटा कोठा बुक गरेका थिए। छैटौं तलामा २ वटा र दास्रो तलामा एउटा। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आफ्नो साथी पक्राउ परेको जानकारी पाएपछि तल्लो तलामा भएकाहरु चाँडै निस्किएर भाग्न सफल भएको देखिएको छ। ‘उनीहरुलाई पक्राउ भएको जानकारी आएको हुनुपर्छ। त्यसैले तल्तो तलामा बसेका चिनियाँ भाग्न सफल भए,‘ एसएसपी सुवेदीले भने।

भागेका ३ जना चिनियाँले कति पैसा लिएर भागे वा लग्न भ्याएनन् खुलिसकेको छैन। प्रहरीले ५ जनाको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ। तर राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्रले भने ३ करोड ५४ लाख रुपैयाँ झिकिएको बताएका छन्।

नेपालबाहेक अन्य देशबाट पनि नेपालबाट जारी भएको भिसा कार्डबाट रकम झिकिएको हुन सक्ने आशंका गरिएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ। लुटिएको रकमको पूर्ण विवरण भने आइसकेको छैन।

पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको छ।

चिनियाँहारुले पाँच घण्टामा १५ सय पटकसम्म कार्ड घोटेका छन्। प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो। नबिलमा भिसाको प्रोसेसर चल्छ। चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ।

भिसाले नेप्सलाई सम्पर्क गर्छ। नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ।

सम्वन्धित समाचार

चीनमै बन्यो नेपालमा 'बैंक लुट्ने' योजना : काठमाडौं झरेको २४ घण्टामा एक्सन, यसरी परे प्रहरी फन्दामा

यसरी लुटे चिनियाँ नागरिकले पाँच घण्टासम्म नेपाली बैंक, भारत र भुटानमा पनि बै‌क लुटेको आशंका



ट्रेन्डिङ पोस्ट

Ncell