PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


आफ्नै सडक संघर्षको एउटा डायरी


स्वेच्छा राउत

आफ्नै सडक संघर्षको एउटा डायरी
प्रतीकात्मक फाइल फोटो

मनसुन सुरु भएयता हरेक बिहान म घरबाट निस्कँदा आमाको एउटै डायलग दोहोरिन्छ - 'पानी पर्छ। बसमा गए भइहाल्यो नि।'

उहाँको कुरा त ठीकै हो तर बसको भर हुनुपर्‍यो नि! हाम्रो ठाउँमा चल्ने भनिएका सार्वजनिक बसको कुनै भर छैन। न समय तालिका, न रुटिन नै। सबै मनलाग्दी चल्छन्।

यो सन्दर्भ भने एक साता अघिको हो। आमाले हरेक दिन झैं उही सुझाव दोहोर्‍याउनु भयो। नियमित प्रकृया झैं मैले उहाँको सुझावलाई पन्छाउँदै स्कूटर निकालेँ।

बिहान ६ बजेर ५ मिनेट गइसकेको थियो। ६:१५ बजे पहिलो क्लास।

'आज पनि ढिला हुने भयो' भन्दै बत्तिएँ।

कलेज पुगेपछि भोग्न पर्ने सम्भावित घटनाहरुको दृश्य दिमागमा सल्बलाए - 'बाहिरै बस्नु' अथवा 'आधा हाजिर गरौं?'

बीस मिनेटभित्र पुगेँ भने पनि दश मिनेटमात्र ढिला हुन्छु भन्ने अड्कल लगाएँ। स्कूटरको रफ्तार घटाउने कुरै थिएन। तर, नघटाइ पनि सुख कहाँ थियो? बाटोका खाल्डाखुल्डीले अनायसै रफ्तार नियन्त्रण गर्थ्यो। घरबाट तीन किलोमिटर दुरी तय गरेर चुच्चेपाटी नपुग्दै मेरो सोच र स्कूटरको गतिमा एक्कासी ब्रेक लाग्यो।

खाडलकै कारणमात्र मलाई रोकिन परेको थिएन। अगाडिको खाल्डो देखेपछि आफसेआफ ब्रेक लगाएँ। तर, मभन्दा पछाडिबाट आएको गाडीले यसरी हुर्‍यायो कि खाडलको हिलो ममाथि नै वर्षियो।

शरीर र स्कुटरको देब्रे भाग हिलाम्य। मास्क र चश्मा ब्यागमै हुन्छ धेरैजसो। हत्तपत्त लगाउने बानी छैन। पानी परेर रहेको मौसम। धुलो हुँदैन भनेर ढुक्क थिएँ। त्यतिमात्र होइन, हेलमेटको भाइजर पनि खुला नै छाडेको थिएँ। भाइजर खुला हुनुको मोल भारी पर्‍यो त्यतिखेर। दाहिने आँखासम्मै हिलो! बेस्‍मारी बिझायो।

'ढिला भएकै बेला यस्तो हुन्छ'- बर्बराउँदै स्कूटर साइड लगाएँ।

ब्यागबाट बोतल निकालेँ। खानेपानीले आँखा पनि पखालेँ। त्यसपछि पाइन्टमा लागेको हिलो पुछ्ने असफल प्रयास गरेँ। दाहिने खुट्टाको जुत्ता र मोजा लपक्कै भिजेको रहेछ। फुकालें। नियमित पानी पर्न थालेदेखि एकजोर प्लास्टिकको चप्पल स्कुटरको डिक्कीमा राख्दै आएको थिएँ। धन्न, थियो र त्यही लगाएँ।

थप सुरक्षाका लागि रेनकोटको ट्राउजर, भिजेको पाइन्टमाथि लगाएँ। किनकि त्यही लुगा लगाएर दिउँसो परीक्षा दिन पनि जानु थियो,'कानुन' को।

लुगाको ओभानो भाग खोजेर हातको पानी पुछें। मोबाइल हेरेँ - ६ बजेर १८ मिनेट गइसकेको थियो। अब जाममा परिनँ भने पनि बीस मिनेट ढिला हुने निश्चित थियो। हतार गर्दै स्कुटर स्टार्ट गरेँ। तर, अगाडि बत्तिने ठाउँ थिएन।

चुच्चेपाटीदेखि चाबहिल चारुमती स्तुप नपुगेसम्म सडक छैन- खाल्डाखुल्डीमात्र। वर्षा लागेपछि खेतको आली झैं लाग्छ। त्यसमाथि गाडीको भिड। खाल्डाखुल्डीबाटै दुई पाङ्ग्रे हाँक्नु पूरै खोजिमा। दुई खुट्टा टेकेरै घिस्रर्नु पर्ने बाध्यता।

घिसार्दा घिसार्दै मैले धेरैपटक कलेजको पहिलो कक्षा छुटाएकी छु। कतिपटक पढाइ सुरु भएको आधा समय बितेपछि मात्र पुगेकी छु। घरबाट प्राय हरेकदिन एउटै समयमा निस्किन्छु। तर, कहिले पनि एउटै समयमा कलेज पुगेको याद छैन। ढिला हुनु, ढोका बाहिर रुँघेर दोस्रो कक्षा सुरु भएपछिमात्र भित्र पस्नु आफ्नै कमजोरीहरुको परिणाम हुन्। कहिले काहीँ त सबैभन्दा अगाडि पुगेर अरुलाई पर्खनुको अनुभव पनि संगालेकी छु।

त्यस दिन पनि त्यस्तै हुने भयो। हतार गरे पनि पहिलो कक्षा छुट्ने पक्का। आफू जुन अवस्थाबाट भर्खरै गुज्रिएँ त्यही समस्या अरुलाई नपरोस् भनेर सतर्क भएँ। हिलो र खाल्डो छल्दै अघि बढ्दै थिएँ। केएल टावर नपुग्दै अर्को बितन्डा मच्चियो। चाबहिलतिरबाट आएको रातो पल्सरले फेरि हिलो छ्याप्यो। यस पटक चप्पल र ट्राउजरमा मात्र होइन दाहिने पाखुरा हुँदै गर्धन र हेल्मेटसम्म हिलोले होली खेल्यो।

झनक्क रिस उठ्यो। यस्तो बाटोमा पनि स्पिड कन्ट्रोल नगर्ने? केही अगाडि सिट्ठी फुक्दै यताउता गरिरहेको ट्राफिकतर्फ सोझिएँ - गुनासो गर्न। तर, उनी छेउ पुग्दा नपुग्दै मेरो तातेको कन्सिरीको पारो सेलायो। किनकि ट्राफिकको हालत मेरोभन्दा कम थिएन। हिलोबाट बच्न रबरको कालो बुट लगाएका उनको निलो पाइन्ट सर्टदेखि सेतो टोपीसम्मै हिलाम्य। विचरा, पैताला हिलोमा गाढेरै आफ्नो कर्तव्य निभाइरहेका थिए।

फेरि आफ्नो बाटो लागेँ। चाबहिलबाट गौशला, मैतिदेवी हुँदै कलेजसम्म पुग्दा पटकपटक सोचें- 'जसो गरेपनि ढिला नै भयो। बरु एकछिन कुरेर बसमै आएको भए हुने रै'छ। यो बेहाल त हुन्नथ्यो।'

बाटोमा सबैले आफ्नै बेहाल हेरेजस्तै लाग्ने। छिनछिनमा आँखा आफ्नै शरीर र ब्याक भ्यु मिररमा पुगिरहेको थियो। जो देख्छु उसको ध्यान खेतमा जोतेर ल्याए सरह स्कुटर र ज्यानभरी परेको हिलोमा भएजस्तो। एकटक हेर्ने केहीसँग आँखा जुध्यो। मनमा लाग्यो- 'बरु मास्क लगाएको भए हुने रै'छ।'

मैले केही दिनअघि 'मास्क'ले तताएको माहोल सम्झिएँ। प्रधानमन्त्रीले एक मन्तव्यमा भनेका थिए - 'म प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनेको संख्या आधा घट्यो।'

उनको मन्तव्य आलोचित बन्यो। आलोचना गर्ने केही साथीलाई जिस्काउँदै भनेको थिएँ - 'हो त। उहाँ प्रधानमन्त्री भएदेखि नै हो मैले मास्क लगाउन छोडेको।'

यतिखेर भने कस्तो झुर मजाक गरेको रहेछु भन्ने लाग्यो। मास्क नलगाउने बानी खत्तम लाग्यो। धुलो नभए पनि हिलाम्य हुँदाको लाज त ढाक्थ्यो।

सरासर कलेज गएँ। हिलोकै कारण सबैले आफूतिर हेर्नुले असहज महसुस गराएको थियो। पार्किङदेखि डिपार्टमेन्ट भवनसम्म कसरी पुग्नु? मानिसहरु झुण्डझुण्ड बनाएर बसेका हुन्छन्।

उपाय निकालेँ, हिलाम्मे ट्राउजर र हेल्मेट डिगीमा कोचेँ। धुलो पुछ्न राखेको कपडाले हात पाखुराको हिलो पुछे। झन् लुगाभरी पो दलियो त। आमा भन्नु हुन्थ्यो- 'हतारको बेला लतरपतर'। त्यस्तै भयो। केही सिप लागेन। ब्यागबाट किताबहरुले थिचेरै थोत्रिएको कपडाको मास्क निकालेर लगाएँ।

कलेजभित्रको धारोमा फेरि हातमुख धोएँ, ब्यागको हिलो पखालेँ।

कक्षा सकिन लाग्दा भित्र छिर्दा लेक्चर दिइरहेका सरलाई डिस्टर्ब हुन्छ। साथीहरुलाई पनि। मनमा यस्तो खेल्दाखेल्दै पनि कक्षा छिरेँ। यहाँ मास्कले काम गर्नेवाला थिएन। खोलेर ब्यागमा राखिसकेको थिएँ। र, लाजै पचाएरै एक छेउमा बसेँ।

म पसेको केही क्षणमै अर्को साथी हातमा हेलमेट लिएर कक्षाकोठामा आयो। आखिरमा हुने हाजिर सुरु हुन लागेको थियो। सरले सोध्नु भयो- 'हेर त बाइकमा आउने मान्छेको ताल! तिमीले त बाइककै बेइज्जत गर्‍यौ भाइ।'

साथीले फिस्स हाँसेर टारे। मेरो मनमा भने चिसो पस्यो- मलाई नै भने जस्तो। भर्खरै पार्क गरेर आएको स्कुटर सम्झिएँ। सायद मैलेपनि समयमा नपुगेर स्कुटरको बेइज्जत गरेँ। अब त्यसको इज्जत गर्न भएपनि पखालेर थन्काउँछु। र, आमाको सुझाव अनुरुप मनसुन नसक्किएसम्म माइक्रोमा यात्रा गर्नेछु।



आफ्नै सडक संघर्षको एउटा डायरी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट