PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टी २० विश्वकप क्वालिफायरको तयारी, मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेटर, हेर्नुस फोटोमा

टी २० विश्वकप क्वालिफायरको तयारी, मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेटर, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सिंगापुरमा यही जुलाई अन्तिम साता हुने आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल मलेसियामा छ।

क्वालिफायरको लागि तयारी गर्न एक साता अघि नै मलेसिया पुगेको नेपालले त्यहाँ घरेलु टोलीसँग २ खेलको टी २० आई सिरिज समेत खेलिसकेको छ। नेपालले दिपक्षिय सिरिज क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारिसकेको छ।

तर नेपालको मुख्य लक्ष्य सिंगापुरमा हुने ५ राष्ट्र सम्मिलित क्वालिफायर जित्दै युएईमा हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुन हो। अहिले नेपाली टोली त्यसैका लागि मलेसियामा तयारीमा व्यस्त छ। सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने क्वालिफायर जित्ने लक्ष्यमा साथ नेपालले कडा तयारी गरिरहेको छ।

क्वालिफायरमा नेपालसहित मलेसिया, घरेलु टोली सिंगापुर, कतार कुवेत छन्।

नेपाल, सिंगापुर र मलेसिया यसअघि भएको एसिया रिजन क्वालिफायर समूह बी मा शीर्ष तीनमा रहँदै दोस्रो चरणमा छनोट भएको हो। यस्तै कुवेत र कतारसँगै युएई समूह ए को शीर्ष तीनमा रहेर दोस्रो चरणमा छानिएको थियो। तर आइसीसीले ग्लोबल क्वालिफायरको आयोजकको रुपमा युएईलाई चयन गरेपछि युएई स्वत एसिया फाइनल क्वालिफायर नखेली ग्लोबल क्वालिफायरमा पुगेको हो।

नेपालले भने त्यहाँ पुग्न अझै एक राउण्ड खेल्नुपर्ने छ। युएई सिधै छनोट भएपछि अब एसिया रिजनबाट एक टिम मात्र ग्लोबल क्वालिफायर पुग्नेछ र त्यसका लागि सिंगापुरमा विजेता बन्नु जरुरी छ।

राउण्ड रोविन लिगको आधारमा हुने उक्त क्वालिफायरमा नेपालले जुलाई २३ मा पहिलो खेल कतारसँग खेल्नेछ। यस्तै जुलाई २४ मा मलेसिया, जुलाई २७ मा कुवेत र जुलाई २८ मा सिंगापुरसँग खेल्नेछ।

यस क्वालिफायर जितेमा नेपाल युएईमा आगामी अक्टोवर/नोभेम्वरमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। जहाँ आइसीसीको फूल १२ मेम्बरमध्ये २ राष्ट्र जिम्बावे र आयरल्याण्डसहित १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र त्यहाँबाट शीर्ष ६ राष्ट्र सन् २०२० मा अक्टोवर/नोभेम्वरमा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकप खेल्दै विश्वकपमा डेब्यु गरेको नेपाल दोस्रो पटक टी २० विश्वकप खेल्ने लक्ष्यमा छ। सन् २०१६ को टी २० विश्वकपमा भने नेपाल छनोट हुन सकेको थएन।

युएईमा हुने ग्लोबल क्वालिफायरका लागि अहिलेसम्म ११ राष्ट्र छनोट भइसकेका छन्। अब एसियाबाट १ तथा अमेरिका रिजनबाट २ टिम मात्र छनोट हुन बाँकी छ। अमेरिका रिजन क्वालिफायर अगष्टमा बर्मुडामा हुँदैछ।

ग्लोबल क्वालिफायरमा पुगेका ११ मध्ये ६ टोली आइसीसीको र्‍याङ्किङमा ११औं देखि १६औं सम्म रहेकाले सिधै छनोट भएका हुन्। जसमा स्कटल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छन्।

यस्तै केन्या र नामिबिया अफ्रिका रिजनबाट, पपुवा न्यु गिनी इस्ट एसिया प्यासिफिकबाट तथा जर्सी युरो रिजनबाट छनोट भएको हो। युएई आयोजकको हैसियतले सिधै छनोट भएको हो।

 

नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदित ऐरी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, पवन सर्राफ

 

रमन शिवाकोटी : म्यानेजर/टेक्निकल एनालिस्ट

उमेश पटवाल : कोच

दिनेश भट्ट : फिजियो

 

Photo Credit : Raman Shiwakoti



ट्रेन्डिङ पोस्ट

Ncell