PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने चेतावनी दिने भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस' सुटुक्क काठमाडौंमा



विधुर ढकाल

ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने चेतावनी दिने भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस' सुटुक्क काठमाडौंमा
फाइल फोटो : रोयटर्स

देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोराका तथा त्यहाँको सत्तारुढ पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) कंग्रेसका सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अहिले नेपालमा छ।

उनी त्यहाँको संविधानसभाका सदस्यसमेत हुन्। त्यस्तै नेशनल फिल्म स्कुल अफ भेनेजुएलाका कोअर्डिनेटर तथा कर्प्स अफ स्पेशलन इन्सपेक्टर अफ प्रेसिडेन्सी (विशेष सैन्य टुकडी) का प्रमुखसमेत हुन्। राष्ट्रपति मादुरोले उनलाई नयाँ पदको सिर्जान गरी त्यसको प्रमुख बनाएका थिए। त्यस्तै उनी प्रेसिडेन्सियल डेलिगेशन तथा इन्सट्रक्सन अफ भाइस प्रेसिडेन्टका महासचिवमा नियुक्त भएका हुन्। यी पद नयाँ सिर्जना गरिएका पद हुन्।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को युवा संगठन नेपाल युवा संघले मादुरोसहितको ११ सदस्यीय टोलीलाई नेपालमा स्वागत गरेको हो। उनको साथमा भेनेजुएलाका तीन मन्त्री पनि नेपाल आएका हुन्।

शनिवार नेपाल आइपुगेको टोली मंगलवार स्वदेश फर्किँदैछ। यसबीच आइतबार टोली युवा संघले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएको थियो। दुई देशबीचको सम्बन्धका विषयमा आयोजित कार्यक्रममा ने क पाका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतम पनि सहभागी थिए।

मादुरोको टोलीलाई नेपाल ल्याउनका लागि ने क पाका केन्द्रीय सदस्य बलराम बास्कोटाले पहल गरेका थिए। बास्कोटा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सपथ समारोहमा सहभागी हुन काराकास पुगेका थिए।

काराकासबाट फर्किएका उनै बास्कोटाको ब्रिफिङ पछि ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेनेजुएलाको पक्षमा वक्तव्य जारी गर्दै अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए। प्रचण्डको वक्तव्यसँगै नेपाल र अमेरिकाबीच कुटनीतिक टकराव उत्पन्न भएको थियो।

नेपाल आएको टोलीमा इन्टरनेसनल वामपन्थी युवा शक्तिका सदस्यहरु रहेका छन्। सो टोलीले ने क पा सचिवालय सदस्य गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुई देश र दुई पार्टीबीचको सम्बन्धको विषयमा छलफल भएको नेता बास्कोटाले जानकारी दिए।

यता परराष्ट्र मन्त्रालय भने मादुरो र भेनेजुएलाका तीन मन्त्रीको नेपाल भ्रमणबारे जानकार छैन।

'उनीहरु आए भन्ने छ। अफिसियल रुपमा जानकारी छैन,' मन्त्रालयका एक अधिकारीले बताए।

भेनेजुएलामा सन् २०१९ देखि नै राजनीतिक संकट चुलिँदै गउको छ। गत जनवरीमा दोस्रो कार्यकालका लागि सपथ लिएका राष्ट्रपति मादुरो विरुद्ध त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष जुहान गुइदोले अन्तरिम राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि भेनेजुएला मामिलामा शक्ति राष्ट्रहरु दुई ध्रुवमा विभाजन भएका छन्।

त्यस्तैमा ने क पाका एक अध्यक्ष प्रचण्डले १० माघमा वक्तव्य जारी गर्दै मादुरोको साथ दिएका थिए। प्रचण्डको वक्तव्यपछि नेपालस्थित अमेरिकी राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै नेपालको धारणा प्रष्ट पार्न माग गरेको थियो भने अमेरिकी विदेश मन्त्रालयले अमेरिकाका लागि नेपाली राजदूतलाई स्पष्टिकरण सोधेको थियो।

राष्ट्रपति निकोलास मादुरेको पक्षमा अहिले रुस, चीनलगायत देशले साथ दिइरहेका छन् भने युरोपियन युनियन, अमेरिकालगायतले विपक्षी दलका नेता हुवाँ गुवाइदोलाई साथ दिएका छन्। नेपाल पनि भेनेजुएलाको पक्षमा उभिएको अवस्थामा राष्ट्रपति मादुरोका छोराले नेपालको गोप्य भ्रमणमा आएका छन्।

उनी माथि अमेरिकाले तीन साता अगाडि मात्र प्रतिवन्ध लगाएको थियो।

अमेरिकाले आफ्ना नागरिकसँग गुइरोसँग कुनै पनि व्यवसायिक तथा व्यक्तिगत सम्बन्ध नराख्न जुन २८ मा सूचना जारी गरेको थियो।

को हुन लिटल निकोलस?

२९ वर्षिया निकोलस मादुरो गुइरो २०१७ मा भेनेजुएलाको राजनीतिमा देखिन थालेका हुन्। सन् १९९० जुन २१ मा जन्मिएका उनी २०१४ देखि भेनेजुएलाको सत्तारुढ दल पीएसयुभीको कंग्रेसमा प्रतिनिधित्व गर्दै आएका थिए। संगीतका विद्यार्थी उनले त्यहाँको सैन्य विश्वविद्यालयबाट अर्थाशास्त्र पनि अध्ययन गरेका छन्। उनले सन् २०११ बाट त्यहाँका सार्वजनिक मन्त्रालयमा काम गर्न थालेका थिए।

२०१३ मा मादुरो भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएसँगै उनी भेनेजुएलाका राष्ट्रपति मातहतका नीति कार्यान्वयन गर्ने निकयाको प्रमुख भए। २०१४ को जुन २१ मा २४ औं जन्मदिनको उपहार स्वरुप उनले त्यहाँको नेशनल फिल्म स्कुलमा कोअर्डिनेटरमा नियुक्ति पाए।

उनी २०१७ को संविधानसभामा सदस्यको रुपमा निर्वाचित भएका थिए। संविधानसभा सदस्यको रुपमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्लाई दिएको चेतावनीले बाहिरी संसारमा चिनिए।

सन् २०१७ को अगस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको सैन्य शासन भएको भन्दै राष्ट्रपति मादुरोको नेतृत्व माथि प्रश्न उठाएका थिए। त्यसको जवाफमा संविधान सभाको पाँचौं सत्रमा उनले भनेका थिए, 'यदि अमेरिकाले भेनेजुएलामाथि हमला गर्न चाहन्छ भने राइफलहरु न्यूयोर्कमा पुग्नेछन्, ट्रम्प महासय हामी त्यहाँ पुग्नेछौँ र ह्वाइट हाउस लिने छौँ।'

उनी पटक पटक विवादमा पनि पर्दै आएका छन्। उनको नियुक्तिलाई लिएर पटक पटक विवाद बल्झिँदै आएको छ। सन् २०१५ मा एक व्यवसायी जोसे जाल्टको विवाहमा उनी डलरले शरीर सफा गरिरहेको देखिए। त्यसले उनी थप विवादमा तानिए।

त्यस्तै सन् २०१७ मा उनको तस्विर खिचिरहेकी एक महिलामाथि उनका अंगरक्षकहरुले दुर्व्यवहार गरे। उनको फोन फुटालिदिए। त्यसपछि ती महिलाले पार्टी नै छाडिन्। जुन ८ मा ती महिला र उनका श्रीमान आरुवा जाने क्रममा त्यहाँको विमानस्थलबाट पक्राउ परे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell