PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिमा विनाको प्रतियोगिता हुँदैन : सदस्य–सचिव सिलवाल



पहिलोपोस्ट

बिमा विनाको प्रतियोगिता हुँदैन : सदस्य–सचिव सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्।

राखेप कर्मचारी संघले बिहीवार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन्।

‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन। चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता, विमा गर्नै पर्छ,’ सदस्य–सचिव सिलवालले भने।

सदस्य–सचिव सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने धारणा व्यक्त गर्दै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए।

उनले बाहिरबाट हायर गरिएको व्यक्तिले नभइ परिषद्कै कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउँदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए।

‘यहाँ धेरै कर्मचारीहरुसँग लामो समय काम गरेको अनुभव छ। हायर गरेको व्यक्तिले होइन तपाईंहरुले नै परिषद्लाई मजबुत बनाउने हो,’ सदस्य–सचिव सिलवालले भने– ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिन। तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुन्छ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउँदै वर्तमान सदस्य–सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

निवर्तमान सदस्य–सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिँदै यस विषयमा वर्तमान सदस्य–सचिव पनि सचेत रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell