PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति डा केसीको आपत्ति: प्रक्रिया तुरुन्त रोक्न माग



पहिलोपोस्ट

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति डा केसीको आपत्ति: प्रक्रिया तुरुन्त रोक्न माग

काठमाडौं:  त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। बिहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको संस्थापक उपाध्यक्ष कुनै राजनीतिक दलको कार्यकर्ता बन्न सक्ने भन्दै आपत्ति प्रकट गरेका हुन्।

‘आयोगको उपाध्यक्ष नियुक्ति कसैलाई जागीर खुवाउने वा कसैको स्वार्थपूर्ति गर्नेभन्दा निकै संवेदनशील कुरा हो,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको यस क्षेत्रमा अहिलेसम्म देखा परेका यावत विकृत्तिहरुलाई झनै मौलाउन दिनु र चिकित्सा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु हो।‘

सरकारले चिकित्सा शिक्षा ऐेन बनेको ४ महिनापछि चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने प्रक्रिया अघि बढाएको थियो। प्रक्रिया अनुसार उपाध्यक्ष चयनका लागि सिफारिस समितिले योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको थियो। सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली अध्यक्ष रहेका छन्।

सिफारिस समितिले आवेदन खुलाएपछि छ जनाको आवेदन परेको थियो। आवेदन दिनेमा चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेका डा नीलमणि उपाध्यायसमेत छन्।

त्यस्तै उपाध्यक्षकालागि आवेदन दिनेहरुमा डा श्रीकृष्ण गिरी, डा रमेश सिंह, नीलाम्बर झा, डा पारस पोखरेल र डा प्रमोद साह छन्। आवेदनको समय सोमबार सकिएको छ।

तर डा केसीले उमेदवार छनौटको प्रक्रियाप्रति नै असन्तुष्टि जनाउँदै प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। ‘सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने हैन कि योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पिनुपर्छ,’ केसीले भनेका छन्, ‘त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनौट प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गर्दछौं।‘

पत्रकार सम्मेलनमा डा केसीले माग पुरा नभए अनशन बस्ने चेतावनीसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell