PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा

भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा प्रवेश गरेको छ।

दोस्रो दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले २३९ रन डिफेण्ड गर्दै भारतलाई पराजित गरेको हो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई बुधवार पनि निरन्तर खेलाइएको थियो।

जहाँ किवी बलरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई घर फर्कायो। २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो। रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै ७७ रन बनाएपनि भारतलाई जितसम्म पुर्‍याउन सकेनन्।

लगातार दोस्रो पटक फाइनल पुगेको न्यूजिल्याण्डले अब अष्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

म्यानचेष्टरस्थित ओल्ट ट्राफोर्डमा मध्यम लक्ष्य पछ्याएको भारतले सुरुवाती ३ ओभरमा टप थ्री ब्याट्सम्यानलाई गुमाएको थियो। म्याट हेनरी र ट्रेन्ट बोल्टले भारतका ओपनर रोहित शर्मा, कप्तान विराट कोहली र अर्का ओपनर केएल राहुललाई आउट गर्दै न्यूजिल्याण्डलाई गतिलो सुरुवात दिलाएका थिए। तीनै खेलाडी समान १ रन बनाएर आउट भए।

दिनेश कार्तिक ६ रन बनाएर आउट भए। ऋषभ पन्त र हार्दिक पाण्ड्याले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर मिचेल सान्तनरले दुवैलाई आउट गरेपछि भारत ९२-६ को स्थितीमा पुगेको थियो।

महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सातौँ विकेटका लागि शतकिय साझेदारी गरेपनि न्यूजिल्याण्डले बलिङमा पुनरागमन गर्दै अन्तिम ४ विकेट झारेपछि भारतको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। जडेजा र धोनीले ११६ रनको साझेदारी गरे। जडेजाले ५९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए। धोनीले ५० रन जोडे। भारतले १३ रनको लागि अन्तिम ४ विकेट गुमाएको थियो।

न्यूजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २-२ विकेट लिए। हेनरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे।

त्यसअघि दुई दिनसम्म ब्याटिङ गरेको न्यूजिल्याण्डले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो।  न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रन बनाउँदा कप्तान केन विलियमसनले ६७ रन जोडे।

मंगलवार वर्षाले खेल स्थगित हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाएको थियो। आज ३.५ ओभर खेल खेलेपछि न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको थियो। न्यूजिल्याण्डले बुधवार २८ रन थप्दै अरु ३ विकेट गुमायो।

अघिल्लो दिन ६७ रन बनाएर खेलिरहेका रोस टेलरले आज ७ रन थपे र ७४ रन बनाएर आउट भए। त्यसअघि कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ ओभर मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए। अघिल्लो दिन १ विकेट लिएका भुवनेश्वरले आज २ विकेट थपे।

यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell