PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'



पहिलोपोस्ट

भाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'
फोटो : रासस

काठमाडौं : सर्लाहीका कुमार पौडेल 'इन्काउन्टर' प्रकरणबारे संसदीय छानविन समिति गठन गर्न प्रमुख प्रतिपक्षी दलका सांसदहरुले माग गरेका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा असार ५ गते भएको पौडेलको हत्याको विषयमा जानकारी गराएका थिए।

मन्त्री थापाले गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनलाई उल्लेख गर्दै दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको जानकारी गराए। उनले स्थानीय जनप्रतिनिधिको मागअनुसार कारवाही भएको समेत बताए।

'सार्वजनिक जग्गा अतिक्रमण, चन्दा आतंक चलाएको अवस्थामा केन्द्रबाट विशेष कार्यदस्ता, प्रदेश प्रहरी, जिल्ला प्रहरीको टोलीले निगरानी अगाडि बढाएको थियो,' गृहमन्त्री थापाले भने, 'लालबन्दीबाट सिन्धुली जाँदै गर्दा प्रहरीसँगको मुठभेडमा कुमार पौडेलसँग रहेका व्यक्तिहरुले प्रहरीलाई गोली हान्दै जंगल भागेको र कुमार पौडेलको मिस फायर भएको तथा जवाफी कारवाहीमा मृत्यु भएको हो।'

गृहमन्त्रीले स्थानीय शान्ति सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि कारवाही गर्न परेको तर्क संसदमा पेश गरेका थिए।

'शान्ति सुब्यवस्था कायम गर्ने क्रममा, लोकतन्त्रको रक्षा गर्ने क्रममा यी घटनाहरु (सर्लाहीका कुमार पौडेल र अवैध रुपमा खनिएको खाल्डोमा बालक डुबेर मरेपछि भएको झडप र मृत्युको घटना) घटेका हुन्,' उनले भने।

गृहमन्त्री थापाले दिएको जवाफ 'चित्त नबुझेको' भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सदन अवरुद्ध गरे। यससँगै केही बेरका लागि संसद बैठक स्थगित भयो।

गृहमन्त्रीमाथि सांसदका कडा प्रश्न

भरतकुमार शाह : गृहमन्त्रीले दिएको जवाफ सत्यतथ्यमा आधारित छैन्। संसदीय समिति गठन गर्न गृहमन्त्रीजी तयार हुनुहुन्छ कि हुनुहुन्न जवाफ चाहियो?

उमा रेग्मी : सरकारबाट छानविन समिति गठन गर्नुपर्‍यो। सत्यतथ्य बाहिर ल्याउनुपर्‍यो। छानविन समिति गठन हुने हो होइन जवाफ चाहियो।

देवेन्द्रराज कँडेल : मिस फायर गर्नेलाई पक्राउ गर्न नसक्ने, भागेकालाई गोली हान्न नसक्ने, भाँचिएको हातले कसरी बन्दुक समात्न सक्छ?

डिला संग्रौला : गृहमन्त्रीको जवाफ झुटको पुलिन्दा

मीनबहादुर विश्वकर्मा : हत्याको छानविन गर्न हत्यारालाई नै जिम्मा दिइयो भने मृतक दोषी हुन्छ। छानविन कसले गर्‍यो? जसले गोली चलायो। उसैले प्रतिवेदन गृहमन्त्रीको हातमा थमाइदियो। कुमार पौडेल दोषी ठहरिए।

प्रेम सुवाल : सरकारको नेतृत्व गरिरहेका पार्टीका गुण्डाहरुले जे पनि गर्न पाउने? सरकारको विरोध गर्ने सर्वसाधारणलाई गोली हान्ने?

पुष्पा भुषाल : हात खुट्टा भाँचेर गोली हान्ने युद्ध कहिलेदेखि सुरु भयो?

मिना पाण्डे : इन्काउन्टरमा मारिएको भए हात किन भाँचियो। दाँत किन भाँचियो?

दिलेन्द्रप्रसाद बडु : बुढी मरी भन्दा पनि काल पल्कियो। इन्काउन्टरको नाममा कहिलेसम्म हत्या हुने हो? संसदीय छानविन टोली गठन गर्न माग गर्दछु।

गृहमन्त्री थापाको जवाफ यस्तो थियो : 'सर्लाहीका घटना शान्ति सुव्यवस्था कायम गर्ने क्रममा, लोकतन्त्रको रक्षा गर्ने क्रममा भएको हो। सरकारलाई शान्ति सुव्यवस्था कायम गर्ने म्यान्डेट जनताले दिएका छन्। स्थानीय तहका चन्दा आतंक लगायतका गतिविधि भएकाले त्यसलाई रोक्न स्थानीय जनप्रतिनिधिको माग अनुसार कारवाही गरिएको हो।

संसदीय समिति बनाउने नबनाउने कुरा सदनको अधिकार हो। सरकारले त्यसको विरोध गर्दैन। सदनले आवश्यक ठाने बन्न सक्छ। यो सदनको अधिकार क्षेत्र हो।'

सन्तुष्ट भएनन् सांसदहरु

गृहमन्त्रीको जवाफ चित्त बुझेन प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालका सांसदलाई। त्यसपछि नाराबाजीसहित रोष्टम घेराउ गरे। संसदमा रहेका दलहरुसँग परामर्श गरेर निर्णय गर्ने बताइरहेका थिए, सभामुख कृष्णबहादुर महरा तर, अझै चित्त बुझेन प्रतिपक्षी सांसदको।

र, १५ मिनेटका लागि संसद स्थगित भयो।

त्यसअघि, संसदको विशेष समयमा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजकिशोर यादवले मुलुक कसले चलाएको छ भनेर प्रश्न गरेका थिए।

आजको संसदमा बोल्दै उनले सलार्हीमा एक महिनाका बीचमा तीनवटा हत्या हुनुले सरकार कसले चलाएको छ भन्ने प्रश्न उठेको भनेका थिए। उनले यतिसम्म कि - एसपी, सिडियोले केही माफियाहरुसँग मिलेर, पैसा लिएर, विरोधीहरुलाई सिध्याउन इन्काउन्टरको नाममा कुमार पौडेलको हत्या गरेको आरोप लगाए ।

जातीय नरसंहार गर्ने क्रममा सरोजनारायण यादवको हत्या भएको उनले बताए। उनको प्रश्न : के राज्य जातीय नरसंहार गर्न उद्धत हो? उनले कुमार पौडेलको फेक इन्काउन्टको नाममा हत्या भएको, एसपीलाई कारबाही हुनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell