PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टिपर आतंक : 'ब्याक' गरेर वृद्धालाई किच्न खोज्दा स्थानीयको प्रतिरोध



सविन ढकाल

टिपर आतंक : 'ब्याक' गरेर वृद्धालाई किच्न खोज्दा स्थानीयको प्रतिरोध

काठमाडौं : मङ्गलवार बिहानै करिब पौने ६ बजे मुलपानी ‘बाबा चोक’ क्षेत्रमा त्रसित बन्यो। ओछ्यानमा आँखा खुल्दै गरेका मानिस पनि जुरुक्क उठेर के? कता? भन्दै दौडिन थाले। बिहानको सुनसान समयमा एक्कासी आएको ठूलो आवाजले सबैलाई तर्साएको थियो।

सबैलाई अत्याउने कारण रहेछ टिपर। अर्थात् टिपर आतंक। बिहानै छोरी ज्वाइँको घर हिँडेकी एक बुद्धालाई टिपरले ठक्कर दिएको रहेछ। आफ्नो बाटोमा हिँडिरहेकी सिन्धुली घर भएकी ६९ वर्षीय विष्णुमाया आले मगरलाई टिपरले ठक्कर दिएको हो।

विषय दुर्घटनामै सीमित भएको भए यस्तो आतङ्कित बनाउने अवस्था हुँदैन थियो होला। टिपरको ठक्करबाट सडक किनारमा लडेकी विष्णुमायाको खुट्टा माथि टिपर चल्यो। यतिसम्म त दुर्घटना नै थियो। तर, एकाएक फेरि टिपरले ब्याक गरेर उनको ज्यानै लिन खोज्यो।

‘हामी हेरिरहेका थियौं। बुढी आमालाई मार्न भनेर ब्याक गर्‍यो। हामी कराउन थाल्यौँ अनि भाग्यो,' घटनास्थलमा भेटिएकी प्रत्यक्षदर्शी महिलाले सुनाइन्।

वृद्धालाई ट्रिपरले हानेपछि जोगाउन पुगेका एक युवकलाई पनि टिपर चालकले हान्न खोजेको दावी गरे।

‘म पनि नजिकै हिँडिरहेको थिए। बुढी आमालाई ठक्कर दिएर लडेपछि फेरि ब्याक गरेर हान्न खोज्यो। मैले 'रोक रोक' भनेर चिच्याएँ। मलाई नै हान्न खोज्यो। नजिकैको इँटा उठाएर हान्न खोजेपछि भाग्यो,' ती युवकले सुनाए।

घाइते वृद्धाको वी एन्ड वी अस्पतालमा उपचार भइरहेको छ। वृद्धालाई किचेर युवकलाई ठोक्काउँला झै गरेको टिपरले घरमा पार्क गरेर राखेको कारलाई क्षति पुर्‍यायो। सडकभन्दा भित्र गएर ट्रिपरले कारलाई ठक्कर दियो।

दुर्घटना भएपछि टिपर लिएर चालक फरार। स्थानीयले प्रहरीलाई खबर गरेपछि साँखुमा बा ४ ख ७०१३ नम्बरको त्यो टिपरलाई प्रहरीले नियन्त्रणमा लियो।

‘भाग्दै गर्दा हाम्रो टोलीले नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले भने।

तीन साता अघिमात्र पनि यही बाटोको बोडे जोड्ने मनोहरा पुल नजिकै गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो। ठक्कर दिने गाडीको भने त्यतिखेर पहिचानसमेत हुन सकेको थिएन।

टिपर आतंकपछि स्थानीयले बोडे हुँदै बाबा चोक भएर चल्ने टिपरलाई रोक लगाएका छन्। टिपर चालकको लापरबाहीका कारणले दुर्घटना र दुर्घटनापछि ब्याक गरेर मार्न खोजेको भन्दै स्थानीय क्रुद्ध बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell