PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आमा र हजुरआमाको हत्या गर्ने बालारामलाई जन्मकैदको सजाय



पहिलोपोस्ट

आमा र हजुरआमाको हत्या गर्ने बालारामलाई जन्मकैदको सजाय

दुल्लुः कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। नारायण नगरपालिका-३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए।

बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशीला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र रु २० हजार जरिवाना हुने ठहर गरेको छ। दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार उक्त फैसला भएको हो।

घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करिब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए।

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो। आमाको ज्यान गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालो प्रहार गर्न खोजेपछि दौडँदै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए। जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell