PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ट्रम्पले रचे इतिहास, उत्तर कोरियामा पाइला टेक्दै किमलाई अमेरिका भ्रमणको निम्तो



ट्रम्पले रचे इतिहास, उत्तर कोरियामा पाइला टेक्दै किमलाई अमेरिका भ्रमणको निम्तो
फोटो: Reuters

डोनाल्ड ट्रम्प उत्तर कोरियामा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। दक्षिण कोरिया र उत्तर कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र पार गर्दै ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो वहालवाला राष्ट्रपति बनेका हुन्।

जी २० सम्मेलनका क्रममा जापानबाटै दक्षिण कोरिया र उत्तर कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र (डीएमजे) मा पुगेका थिए।

पहिलोपटक निशस्त्रिकरण क्षेत्रमा पुगेका ट्रम्प र उत्तर कोरियाली नेता किमले डिएमजे क्षेत्रमा नै हात मिलाएका थिए।  शनिवार नै डिएमजे क्षेत्रमा आउने घोषणा गरेका ट्रम्पलाई स्वागत गर्न पुगेका किमले फेरि भेट्न पाएकोमा खुशी व्यक्त गर्दै 'निशस्त्रिकरण गरिएको क्षेत्रमा हामीबीच कहिल्यै भेट होला भनेर नसोचेको' बताएका थिए।

ट्रम्पले उत्तरमा उक्त भेटलाई ठूलो क्षण भएको प्रतिक्रिया दिएका थिए।

त्यसपछि ट्रम्पसँगै किमले दुई देशको सीमा नाघेर दक्षिण कोरिया प्रवेश गरे। त्यहाँ रहेको फ्रिडम हाउसमा दुई नेताबीच करिब १ घण्टा कुरा भएको बताइएको छ।

ट्रम्पले वार्ताका क्रममा दुई राष्ट्रबीचको सम्बन्ध उत्कृष्ट रहेको टिप्पणी गर्दै आजको दिन विश्वको लागि महत्वपूर्ण दिन रहेको बताए। यस्तै दुई राष्ट्रबीचको सीमामा पाइला राख्न पाउँदा ट्रम्पले आफू निकै खुशी भएको बताएका थिए।

ट्रम्पले भेटका क्रममा किमलाई अमेरिका भ्रमणको निम्तोसमेत दिएको बताइएको छ। उत्तरमा किमलेसमेत ट्रम्पलाई प्योङयाङ भ्रमणको निम्तो दिएका थिए।

जी २० सम्मेलनपछि किम र ट्रम्पबीच उत्तर कोरियामा नै भेट हुनुलाई महत्वपूर्ण घटनाका रुपमा अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

दुई नेताबीच भएको आकस्मिक भेटवार्ताका क्रममा कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा रोकिएको वार्ता पुन: सुरु गर्न सहमति भएको बताइएको छ।

फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो।

गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्ने सहमति भएको थियो। यस्तै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नेसमेत सहमति भएको थियो। तर पछि, दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell