PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुख्य दलका प्रमुख नेता आक्कल झुक्कलमात्र पुग्छन् पार्टी कार्यालय : सत्तारुढ दलको कार्यालय सुनसान, यस्तो छ प्रतिपक्षी दलका कार्यालयको चहलपहल



मुख्य दलका प्रमुख नेता आक्कल झुक्कलमात्र पुग्छन् पार्टी कार्यालय : सत्तारुढ दलको कार्यालय सुनसान, यस्तो छ प्रतिपक्षी दलका कार्यालयको चहलपहल

  • कुञ्जरमणि भट्टराई-

काठमाडौं:  अधिवेशन, चुनावलगायतका समयमा गर्माउने पार्टी कार्यालयहरु हिजोआज सुनसान देखिन्छन्। पार्टी कार्यालयहरुमा आफ्ना पदाधिकारीहरुका लागि छुट्टाछुट्टै कार्यकक्ष तय गरिएता पनि प्राय: ती कार्यकक्षहरु खाली खाली हुन्छन्। पार्टीका पदाधिकारीहरु कार्यालयमा उपस्थित नभएपछि कार्यकर्ता र नेताहरुको भेटघाट पनि बाहिर नै हुन थालेको छ। पार्टी कार्यालयहरुमा केही कर्मचारीहरु मात्रै भेटिन्छन्।

बेरोजगार नेता,  काम नहुँदा नेता कुर्दै ने क पाको कार्यालय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को मुख्यालय धुम्बाराही सुनसान जस्तै देखिन्छ।  विभाग अनुसार कार्यकक्ष छुट्याइए पनि नेताहरु भने फाट्टफुट्ट रुपमा उपस्थित हुने गर्दछन्। पार्टी कार्यालमा बैठक नहुँदा चहलपहल देखिदैन।

पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आइरहेको छ। गत मंसिरमा भएको स्थायी कमिटीको बैठकबाहेक यहाँ पार्टीको कुनै निकायको बैठक बस्न सकेको छैन। यसबाहेक धुम्बाराही पार्टी कार्यालयमा कहिलेकाँही पार्टी प्रवेश तथा श्रद्धाञ्जली कार्यक्रम हुँदै आएका छन्। 

सोमबार पार्टी कार्यालय पुग्दा बाहिरबाट झट्ट हेर्दा कार्यालय खुल्ला छ कि बन्द भन्ने पहिल्याउन नै मुस्किल थियो।  भव्य पार्टी कार्यालय परिसरमा नेता कार्यकर्ता थिएनन्।

कार्यालयभित्र रहेका रिसेप्सन, लेखा शाखा, संगठन विभाग खुला थिए। पदाधिकारीका लागि छुट्टाइएका कार्यकक्षहरु बन्द जस्तै थिए। कर्मचारी पनि थिएनन्।

कार्यालयको सोधपुछ कक्षमा एक व्यक्ति भेटिए।

कार्यालय सुनसान छ त? हामीले रिसेप्सनमा रहेका चन्द्रदेव पासमानलाई सोध्यौं।

‘बैठक बाहेकका दिनहरुमा खासै चहलपहल हुँदैन। भूकम्पछि यहाँ सरेपछिको अवस्था यस्तै नै छ,’ पासमानले भने, ‘बैठक बाहेक अन्य कार्यक्रम हुँदा पदाधिकारीहरु आउँछन्। त्यसबाहेक उनीहरु देखिँदैनन्।’

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १३ महिना पुगिसकेको छ। तर, केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन। केन्द्रीय विभागहरु पनि बनेका छैनन्। कार्यविभाजन नहुँदा समस्या भएको ती कर्मचारीले बताए। पार्टी एकतापछि २०७२ सालमा आएको विनाशकारी महाभूकम्पछि धुम्बाराहीमा सरेको तत्कालिन नेकपा एमालको पार्टी कार्यालय हाल ने क पाको मुख्यालय हो। पूर्व माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालय बनाउने निर्णय भएको थियो।

विभागहरु खाली हुँदा कार्यालय झन सुनसान बन्दै गएका छन्। झट्ट हेर्दा लाग्छ, नेताहरु बेरोजगार छन्, कार्यालय नेताहरुको पर्खाइमा छ।

‘संसद बैठक नहुँदा कार्यालय सचिव आउनुहुन्छ। महासचिव पनि आइरहनुहुन्छ,’ पासमानले भने।

ने क पामा दुई अध्यक्ष भए पनि अध्यक्षका कार्यकक्ष भने प्राय: खाली देखिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली बैठक बाहेक उपस्थित हुँदैनन्। यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बेला बेला हुने पार्टीका कार्यक्रममा सहभागी हुन धुम्बाराही पुग्ने गरेका छन्। तर उनी पनि आफ्नो कार्यकक्षमा विरलै पुग्छन्। आउँछन्, कार्यक्रम हुने हल पुग्छन्। त्यहीँबाट बाहिरिन्छन्।

पार्टी कार्यालमा नेताहरु नभेटिने भएपछि कार्यकर्ताहरु पनि कार्यालय आउँदैनन्। ‘आगन्तुकहरुले नेता हुनुहन्छ की हुनुहुन्नँ भनेर फोन गर्नुहुन्छ। नेताहरु कहाँ हुनुहुन्छ भनेर पत्ता लगाएर उहाँहरुलाई जानकारी दिने गरेको छु। उतै भेट्नुहुन्छ,’ उनले भने।

पेरिसडाँडा पनि प्राय: सुनसान हुन्छ। ‘जनवर्गीय संगठनको केही कार्यक्रम हुँदा अध्यक्ष आउनुहुन्छ। नत्र नेताहरु आउनुहुन्छ,’ तत्कालिन माओवादी केन्द्रका कार्यालय सचिव प्रल्हाद बुढाथोकीले भने, ‘सामान्य कार्यालयबाट हुने कामहरु त भइरहेका छन्। तर नेताहरुको कार्यविभाजन नहुँदा कार्यालय सुनसान जस्तै छ।’

पार्टी एकतापछि पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्ड कार्यक्रमका हुँदा पुग्ने गरेपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली भने कार्यभार सम्हाल्ने दिन बाहेक पुगेका छैनन्।

नेपाली काँग्रेसः नेता बाहिर, भित्र कार्यकर्ताको चहलपहल

नेपाली काँग्रेसको कार्यालय सानेपा पुग्दा केही चहलपहल नै देखिन्थ्यो। केही नेता कार्यकर्ताहरु कार्यालय परिसरमा देखिन्थे। शीर्ष नेताहरु भने कार्यालयमा थिएनन्।

नेपाली कांग्रेसको पार्टीका अधिकांश बैठकहरु पार्टी कार्यालय सानेपामै हुने हुँदा सत्तारुढ दल ने क पा भन्दा यहाँ चहलपल देखिन्छ। महामन्त्री पूर्ण बहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतका नेताहरु नियमित जसो उपस्थित हुने कांग्रेसको पार्टी कार्यालयका सुचना अधिकारी केशव रिजालले दाबी गरे।

सभापति शेरबहादुर देउवा भने बैठक हुँदा मात्र कार्यालय आउने गर्दछन्। अधिकांश नेताहरु पार्टी कार्यालय नै आउँदैनन्। पछिल्लोपटक नेताहरु जागरण अभियानका क्रममा बाहिर गएकाले उनीहरु आउन कम भएको रिजालले बताए।

‘वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म पहिलो चरणको जागरण अभियान सञ्चालन गरेको थियो। एक महिनाका  लागि ७७ जिल्लामा खटिएका प्रतिनिधि खटाइएको थियो। यही बुधबार र बिहीबार केन्द्रिय कार्यालयमा सभापति र पदाधिकारीहरुको उपस्थितिमा जागरण अभियानको विषयमा छलफल हुँदैछ,’ रिजालले भने।

मिनि मधेश ‘मधेश भवन’

अन्य पार्टी कार्यालयभन्दा राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बढी चहलपहल देखिन्छ। कार्यालय प्रांगण र भित्र नेता कार्यकर्ताहरुको आवतजावत भइरहन्छ। सिंहदरबार नजिकै बबरमहलमा रहेको पार्टी कार्यालयमा मधेशबाट आएका कार्यकर्ताहरुको जमघट पनि बाक्लै देखिन्छ।

सोमवार राजापा नेपालको पार्टी कार्यालय मधेस भवन पुग्दा राजपा अध्यक्ष मण्डलका सदस्यहरु बैठकमा व्यस्त थिए।

अरु दिन पनि कोही न कोही अध्यक्ष मण्डलका सदस्यहरु पार्टी कार्यालय पुग्ने महासचिव केशव झाले दाबी गरे। अध्यक्षहरु नआएको दिन पनि अन्य पदाधिकारीहरु हुने उनको भनाइ छ।

कार्यालयमा अध्यक्ष मण्डलका छ जना सदस्यका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाइएको छ। आफू महासचिवको नाताले सधै नै कार्यालयमा रहने झालेले बताए।

कात्तिक २८, २९ र ३० गते एकतापछिको पहिलो महाधिवेशन गर्ने तयारीमा लागेको राजपा नेपाल त्यसैको तयारीमा जुटिरहेको छ। ‘महाधिवशेनका लागि तयारीका काम पनि भइरहेका छन्। साधारण र सक्रिय सदस्यहरुको विवरण संकलन गर्ने काम भइरहेको छ,’ महासचिव झाले बताए।

समाजवादीको कार्यालय: एकतापछिको चहलपहल

बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकता भई बनेको समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा पनि यतिबेला चहलपहल देखिन्छ। पार्टी एकतापछि पूर्व फोरमको केन्द्रीय कार्यालय रहेको बालकुमारीमा समाजवादी पार्टीको केन्द्रीय कार्यालय स्थापना गरिएको छ।

मंगलवार समाजवादी पार्टीको कार्यालय पुग्दा संघीय परिषदका अध्यक्ष डा भट्टराई र केन्द्रीय कार्यसमितिका अध्यक्ष यादव फेला नपरे पनि दोस्रो तहका नेताहरु पार्टी एकताको विषयमा छलफलमा जुटिरहेका थिए।

उपाध्यक्ष हिसिला यमी कार्यालयमा नेता कार्यकर्ताहरुमाझ छलफल गर्दै थिइन्। समाजवादी पार्टी बनिसकेपछि पहिले फोरम कार्यालय रहेको भवनलाई व्यवस्थित बनाउने काम भइरहेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए।

‘तल्ला कमिटीको एकताको विषयमा गृहकार्य भइरहेको छ। दिनहुँ छलफल चलिरहन्छ,’ अधिकारीले भने, ‘पुरानो सांगठनिक संरचना अनुसार बनेको कार्यालय भएकाले कार्यालयको व्यवस्थापन संरचना परिवर्तन लगायतका कामहरु पनि चलिरहेका छन्।’

कार्यालयमा केन्द्रीय समितिका अध्यक्ष यादव प्रायः जसो पुग्ने गर्छन्। संघीय परिषदका अध्यक्ष भट्टराई भने कार्यक्रम हुँदा पुग्ने गरेको अधिकारीले बताए।

विवेकशील साझा

विवेकशील साझा पार्टीको कार्यालय पुग्दा रिसेप्सनमा एक जना र प्रशासकीय अधिकृत भेटिए। तराइ, पहाड र हिमालको झल्को आउने गरी बनाइएका कोठाहरु भने खाली थिए। रिसेप्सनमा भेटिएकी सीमा घिमिरेले पार्टीको संगठन विस्तारको काममा व्यस्त भएकाले कार्यालयमा खासै चहलपहल नभएको बताइन्।

विवेकशीलमा भने सबै पधादिकारीलाई छुट्टाछुट्टै कोठा छैनन्। धेरै जसो बैठक कक्ष छन्। संयोजक रविन्द्र मिश्र भने बैठक हुँदा मात्र कार्यालय उपस्थित हुने गर्दछन्।

सचिवालय प्रमुख मानवी पौडेल पार्टीका ९ विभागमध्ये उद्यमशीलता तथा रोजगारी विभाग, अभियान विभाग र संगठन विभाग सक्रिय रहेको बताउँछिन्।

उनले भनिन्, ‘अभियान विभागले हरेक हप्ताको शनिबार पार्टी कार्यालमा छुट्टाछुट्टै विषयमा टक शो सञ्चालन गरिरहेको छ। हाल हाम्रो सक्रियता भनेको संगठन विस्तार र भ्रष्ट्राचार विरुद्धको अभियान हो। हालै मात्र ‘पार्टी भन्दामाथि देश’ भन्ने नारासहित सुदुरपश्चिमका नौ जिल्ला पुग्यौँ। छिट्टै नै एक नम्बर प्रदेशमा जाने तयारीमा छौँ। सबै प्रदेशमा जाने छौँ।’

उनले जनताको प्रत्यक्ष राख्ने विषयमा पार्टी भन्दामाथि उठेर काम गर्दै आएको दाबी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell