PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकप क्रिकेट: शकिबको कीर्तिमानी प्रदर्शनमा बंगलादेश विजयी, अफगानिस्तानको सातौं हार



विश्वकप क्रिकेट: शकिबको कीर्तिमानी प्रदर्शनमा बंगलादेश विजयी, अफगानिस्तानको सातौं हार

अलराउण्डर शकिब अल हसनले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाउनुका साथै ५ विकेट लिएपछि बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पारेको छ।

शकिबकै प्रदर्शनको मद्दतमा बंगलादेशले सोमबार अफगानिस्तानलाई ६२ रनले पराजित गरेको हो। शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन्। यस्तै एउटै विश्वकपमा शतक प्रहार गर्ने अनी ५ विकेट पनि लिने उनी तेस्रो खेलाडी बनेका छन्। यसअघि भारतका कपिल देव र युवराज सिंहले उक्त उपलब्धि हात पारेका थिए। साथै विश्वकपको एकै खेलमा अर्धशतक बनाउने र ५ विकेट लिने शकिब युवराज सिंहपछि दोस्रो खेलाडी बनेका छन्।
 

तेस्रो जितपछि बंगालदेश ७ खेलबाट ७ अंक जोड्दै अंकतालिकामा पाँचौं स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ।

शकिबले उत्कृष्ट बलिङ गर्दै २९ रन मात्र खर्चेर ५ विकेट लिएपछि २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा दुई सय रनमा अलआउट भयो।

अफगानिस्तानका लागि समिउल्लाह शेनवारीले नटआउट ४९ र कप्तान गुलबादिन नैबले ४७ रन बनाए।

शकिबले १० ओभरमा १ मेडन राख्दै २९ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै मुस्ताफिजुर रहेमानले २ विकेट लिए।

त्यसअघि साउथह्याम्पटनस्थित रोस बल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले शकिब र मुस्फिकर रहिमको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ७ विकेट गुमाएर २६२ रन बनाएको थियो। रहिमले ८७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाए।

शकिबले ५१ रन बनाए। प्रतियोगितामा शकिबको यो तेस्रो अर्धशतक हो। यस खेलपछि उनी सर्वाधिक रन बनाउनेमा डेविड वार्नर र इंग्ल्याण्डका जो रुटलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेका छन्।

शकिबले २ शतक र ३ अर्धशतकसहित ४७६ रन बनाइसकेका छन्। आइसीसी ओडिआईको अलराउण्डर वरीयतामा १ नम्बरमा रहेका शकिबले १० विकेट समेत लिइसकेका छन्। एउटै विश्वकपमा ४०० रन बनाउने र १० विकेट लिने पनि शकिब पहिलो अलराउण्डर  बनेका छन्।

यस्तै तमिम इकवालले ३६ र मोसादेक होसेनले ३५ रन योगदान गरे।

अफगानिस्तानका मुजिउर रहेमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए।

यस विश्वकपमा अफगानिस्तान जितविहीन एक्लो टोली हो। अफगानिस्तानले लगातार सातौं हार बेहोरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell