PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समाजवादी पार्टीको तल्ला कमिटीको एकता असार मसान्तभित्रै! असन्तुष्ट ने क पा प्रवेशको तयारीमा



समाजवादी पार्टीको तल्ला कमिटीको एकता असार मसान्तभित्रै! असन्तुष्ट ने क पा प्रवेशको तयारीमा

  • कुञ्जरमणि भट्टराई-

काठमाडौं: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले असार मसान्तसम्म सबै तहमा एकता पुर्‍याउने तयारी गरेको छ।

गत वैशाख २३ गते एकतापछि बनेको समाजवादी पार्टीले जेठ ३० गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। हाल पार्टी आन्तरिक रुपमा एकतालाई तल्लो तहसम्म पुर्‍याउने गरी गृहकार्यमा जुटेको बताएको छ। यद्यपि पार्टीको गतिविधि भने सार्वजनिक रुपमा देखिएको छैन।

एकतापछि किन सेलायो त समाजवादी पार्टी? जवाफमा समाजवादी पार्टीका एक उपमहासचिव डम्बर खतिवडाले बाहिर पार्टीका गतिविधि केही नभएको जस्तो देखिए पनि आन्तरिक गृहकार्य भइरहेको दाबी गरे। ‘असार मसान्तभित्रमा प्रदेश, जिल्ला, तथा स्थानीय तहसम्मै एकता हुन्छ। हाम्रो विधानले व्यवस्था गरे अनुसारका सबै कमिटी बन्छन्,’ खतिवडाले भने, ‘एकतालाई तल्लो तहसम्म पुर्‍याउन कुनै समस्या छैन। असार मसान्तभित्रै जनवर्गीय संगठनहरुको पनि एकता टुंगो लगाउँछौँ।’

अधिवेशन नहुन्जेलसम्म प्रदेश कमिटी संक्रमणकालीन धाराबाट अघि बढ्ने उपमहासचिव खतिवडाले जानकारी दिए। आगामी महाधिवेशनसम्म प्रदेश कमिटीहरुमा पूर्व नयाँ शक्ति र पूर्व संघीय समाजवादी फोरमका प्रदेश कमिटीका सदस्यहरु नै रहने गरी प्रदेश कमिटी बन्ने उनको भनाई छ। ‘अहिले नै प्रदेश कमिटीमा यति संख्या भनेर तोकिएको छैन। दुबै पार्टीका प्रदेश कमिटीका सदस्यहरु समावेश गरी प्रदेश कमिटी बन्छ,’ उनले भने, ‘अधिवेशनपछि भने प्रदेश कमिटीमा ८९ जना रहने छन्।’

अर्का उपमहासचिव प्रकाश अधिकारीले पार्टी एकताको गृहकार्यसँगै संगठन विस्तारको काममा पनि पार्टी लागेको बताए। ‘एकता असार मसान्तमा टुंग्याउँछौँ। यसबीच हामीले संगठन विस्तार तथा सुदृढीकरणको काम पनि गरिरहेका छौँ,’ उनले भने।

 

समाजवादी सत्ता पक्ष र प्रतिपक्ष?

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव हाल सरकारमा छन् भने संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई प्रतिपक्षमै बस्दै आएका छन्। पार्टी एकीकरणकै बेला सरकारलाई संविधान संशोधनमा दबाब दिने बताउँदै आएको पार्टी अहिले दुई अध्यक्षको भूमिकाले सत्तापक्ष कि विपक्ष भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

उपमहासचिव खतिवडाका अनुसार समाजवादी पार्टीले निर्वाचन आयोगको दर्ता पक्रिया टुंगो नलाग्दासम्म सत्तापक्ष र प्रतिपक्ष दुबैमा रहने तर्क गरे। समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराएको छ।

निर्वाचन आयोगले दल एकता भएको घोषणा नगर्दासम्म तत्कालीन नयाँ शक्ति प्रतिपक्षकै भूमिकामा रहने उपमहासिचिव खतिवडाले स्पष्ट पारे। ‘निर्वाचन आयोगले कानुनी रुपमा दल एक भएको निर्णय नगरेसम्म सरकारमा रहेको तत्कालीन संघीय समाजवादी पार्टी सरकारमा नै रहन्छ। हामी प्रतिपक्षमा छौँ,’ उनले भने। खतिवडा तत्कालीन नयाँ शक्तिका प्रवक्तासमेत हुन्।

सरकारमा बस्ने कि बाहिरिने भन्ने विषयमा अझै टुंगो नलागेको खतिवडाले बताए। 

‘हामीले राख्दै आएको संविधान संशोधनको कुरा मिलेको खण्डमा पार्टी एकतापछि सरकारमा नै रहन्छौँ,’ उनले भने, ‘संविधान संशोधनको कुरा टुंगिएन भने कानुनी एकतापछि हामी प्रतिपक्षको भूमिकामा रहन्छौँ।’

 

अध्ययन गर्दै निर्वाचन अयोग

निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेसँगै आयोग पार्टीका विधान, संगठनलगायतका विषयमा अध्ययनमा जुटेको छ।

‘अहिले उक्त पार्टीको विधानलगायतका विभिन्न विषयमा भेरीफाई गर्ने काम भइरहेको छ,’ आयोगका सहसचिव एवं प्रवक्ता शंकरप्रसाद खरेलले भने, ‘हामी अध्ययनमै छौँ। कहिले टुंगिन्छ। तोकेर भन्न सक्दिनँ। तर, ४५ दिनभित्र निर्णय दिइ सक्नुपर्छ। हामी समयमै निर्णय लिन्छौँ।’

समाजवादी पार्टी नेपालले नेपालमा अहिलेसम्म कुनै दलले प्रयोग नगरेको दुई समानान्तर कमिटीसहितको संगठनात्मक संरचना तयार गर्दैछ। केन्द्रमा संघीय परिषद र केन्द्रीय कमिटीको व्यवस्था हुँदा प्रदेश तथा जिल्ला र स्थानीय तहमा पनि सोही किसिमको संरचना तयार गर्दैछ। केन्द्रमा हाल संघीय परिषद्को अध्यक्ष डा भट्टराई छन् भने उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष छन्।

 

ने क पामा जानेबारे सोच्दै नयाँ शक्तिका असन्तुष्ट

डा भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा उनको साथमा उभिएका केही नेताहरुमा भने असन्तुष्टि देखिन्छन्। उनीहरु सत्तारुढ दलतिर जाने विषयमा छलफल चलाइरहेका छन्।

बाबुरामले तत्कालीन माओवादी छाडेर नयाँ शक्ति बनाउँदा माओवादी नेतृत्वबाट बाबुरामको साथ दिनेहरु अहिले पूर्व माओवादी केन्द्र र पूर्व एमालेबीच एकतापछि बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा जाने तयारी गरिरहेका हुन।

संविधानसभा सदस्य रहेका सीमा विक र गंगा चौधरी यसअघि नै ने क पामा प्रवेश गरिसकेका छन्। विक राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट समानुपातिक सभासद् थिइन्। पछि उनी नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। चौधरी पनि थरुहट तराई पार्टीकी अध्यक्ष तथा संविधानसभा सदस्य थिइन्। उनले संविधान निर्माणपछि पार्टीलाई नयाँ शक्तिमा विलय गराएकी थिइन्।

चौधरी प्रतिनिधिसभा निर्वाचन अगाडि तत्कालीन एमालेमा प्रवेश गरेकी थिइन्। वाम गठबन्धनमा सहभागी भएसँगै एमालेले उनको नाम समानुपातिक सूचीमा समावेश गरेका थियो। नयाँ शक्तिको समेत समानुपातिक सूचीमा रहेकी उनले एमालेलाई रोजेकी थिइन्। उनकै पहलमा विक पनि वैशाख २५ गते ने क पामा प्रवेश गरेकी हुन्।

पार्टी एकता गर्दा छलफल नगरिएको भन्दै असन्तुष्ट रहेका देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, रामरिझन यादवलगायतका नेताहरु पनि ने क पा प्रवेशको तयारी गरिरहेका छन्। उनीहरु पूर्व माओवादी समूहबाट बाबुरामसँगै बाहिरिएका थिए।

भट्टराई प्रधानमन्त्री हुँदा यादव प्रेस सल्लाहकार थिए। धमला माओवादीबाट पहिलो संविधानसभामा धादिङबाट विजयी भइ मन्त्रीसमेत बनेकी थिइन्। वैकल्पिक शक्ति बनाउने भनेर नयाँ शक्ति बनाएको भए पनि पार्टी पूरानै लाइन अनुसार अगाडि बढेको भन्दै पुरानामै फर्किने विषयमा सोचिरहेको नेता पराजुलीले स्वीकार गरे। 

‘नयाँ शक्ति एउटा वैकल्पिक शक्ति बनाउने भनेर स्थापना गरिएको थियो। विकास संवृद्धि, सम्मुन्नत समाजतर्फ सिंगो देशलाई जोड्ने लगायतका कुरा समावेश थिए। तर राजनीतिक कदम एक खालको देखिएन। कहिले वाम त कहिले कांग्रेससँग गठबन्धन गर्न खोजियो,’ पहिलोपोस्टसँग पराजुलीले भने, ‘पार्टी एकता हुने कुरा राम्रो भए पनि एकतापछिको एजेण्डा, विचारका विषयमा छलफल नै गरिएन। हामीले उठाएका विषय सम्बोधन हुने देखिएन।’

पार्टी पुरानै बाटोमा फर्किँदै गएपछि यही पार्टीमै बसिरहनुपर्छ भन्ने नभएको उनले बताए।

‘ने क पामा जाने विषयमा छलफल भइरहेको छ। उहाँहरुले पनि बोलाइरहनु भएको छ,’ पराजुलीले भने, ‘तर यस विषयमा टुंगो लागिसकेको छैन। नयाँ शक्ति नयाँ शक्ति रहेन। रुपान्तरणका लागि पुरानै बाटोबाट संघर्ष गर्नुपर्छ भने पुरानोमै किन नजाने भन्ने पनि हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell