PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रियगानका संगीतकारको कान्छालाई तारा खसाउने गीतमा 'अंगालो'को विवाद



स्वेच्छा राउत

राष्ट्रियगानका संगीतकारको कान्छालाई तारा खसाउने गीतमा 'अंगालो'को विवाद

ए कान्छा मलाई सुनको तारा खसाइ देउ न
त्यो तारा मात्र होइन, जुन पनि झारी दिउँला… 

के के छन् तिम्रा चाहना, आज सबै भनिदेउ 
पूरा गरिदिन्छु सबै, अंगालोमा लेउ… 

राष्ट्रगानका संगीतकार अम्बर गुरुङद्वारा संगीतवद्ध माथि उल्लेखित गीतको स्थायी (पहिलो हरफका शब्दहरु) नौलो लाग्दैन। अरुणा लामाको आवाजमा रेकर्ड भएको पहिलो गीत। उनीसँगै पुरुष आवाज दिएका थिए रुद्रमणि गुरुङले। कालजयी शब्द, स्वर तथा संगीतका कारण गीत सदाबहार छ। युवापुस्तामा पनि लोकप्रिय नै छ। 


आजका पुस्ताले गीतको कभर गरेका भिडियोहरु युट्युबमा प्रशस्त भेटिन्छन्। ज्योवन भुजु र दीक्षा जे थापाले गरेको कभरमा ६९ लाख हिट्स छन्। त्यस्तै विजय प्रितीले गाएको 'ए कान्छा'मा ५७ लाखभन्दा बढी हेरिएको छ। निक्की कार्की, दीपेन गुरुङ लगायतले गरेको कभरमा पनि सर्वाधिक लाइक र हिट्स छन्। 

ओरिजिनल गीतको रेकर्डिङदेखि नेपाल टेलिभिजनमा दिइएको प्रत्यक्ष प्रस्तुतिको भिडियोहरु व्यक्तिगत युट्युब च्यानलमार्फत अपलोड गरिएका छन्। 

धेरै मानिसमा लोकप्रिय यस गीतको शब्द शब्द याद छ अधिकांशलाई। तर यति चर्चित गीतको हालै रिलिज भएको एउटा गीतको अन्तरामा छ- 

के के छन् तिम्रा चाहना, आज सबै भनिदेउ 
पूरा गरिदिन्छु सबै, अंगालोमा लेउ… 

कसैले नसुनेका यी शब्दहरु कसरी आए त अन्तरामा ? 

अन्तरा गायक यश कुमारले थपेका हुन्। उनी निर्देशित एवं अभिनित फिल्म 'छिरिङ'का लागि। उनले गीत 'रिमेक' गरेका हुन्। उक्त गीतको रिमेक भर्सन यो समाचार तयार पार्दासम्म साढे १० लाखभन्दा बढी हेरिएको छ। करिब ५ सयले मन नपरेको भन्दै डिस्लाइक बटन थिचेका छन्। 

पुरानो गीत रिमेक गरेको भनिए पनि नयाँ संस्करणमा पुरानोको स्थायीमा प्रयोग लय र शब्द बाहेक केही पनि मिल्दैन। अन्तरामा संगीत, शब्द मिल्दो छैनन्। क्रेडिट लाइनमा गीतकार लेखिएको छ पासाङ बाङ्बल, यशकुमार। संगीतकार :  अम्बर गुरुङ, यश कुमार। 

शब्द नयाँ, लय, संगीत नयाँ। किन स्थायी मात्र पुरानो गीतको राखियो त? के गीतको लोकप्रियताले दिन सक्ने फाइदा क्यास गर्न खोजेका हुन् त यश कुमारले?  

ओरिजिनल गीतका संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भयो। त्यसैले गीत रिमेकका लागि अम्बरकी छोरी अल्का गुरुङ कहाँ पुगे यश कुमार। उनले आफ्नो फिल्म निर्माण कम्पनी रिदम फिल्म्समार्फत् अनुमति माग्दै निवेदन दिएका थिए। निवेदनमा उनले 'ए कान्छा मलाई सुनको' बोलको गीत फिल्मको सिक्वेन्समा आवश्‍यक परेको जनाएका छन्। 

'हर छातीमा यो दिल हुन्न' नामक फिल्मका लागि दिइएको निवेदनमा लेखेका छन्- 'सो गीतको स्थायीलाई सोही लयमा गाउने तर अन्तरामा भने संगीत र शब्द समेत फरक पारेर गाउने सिक्वेन्स परेकाले।' 

आखिर दुईटा फरक गीत मिसाउनै पर्ने अवस्था कसरी आइलाग्यो त उनलाई? 

'कथाको माग हो। पात्रले गुन्गुनाइ रहेको अवस्थाबाट गीत सुरु हुन्छ त्यसैले राखेको', गायक यश कुमारले प्रष्ट पारे। उनले संगीतकार अम्बर गुरुङकी छोरी अल्का गुरुङले गीतको प्रयोगको अनुमति दिएको बताए। भने,'उहाँले हस्ताक्षर गर्नु भएको सहमतिपत्र एउटा मलाई दिनु भयो। एउटा उहाँले राख्नु भयो। अनुमति नलिइ प्रयोग गरेको होइन।' 

तर यश कुमारले अनुमति प्रदान गरिएको हस्ताक्षरसहितको पत्र भने सार्वजनिक गरेका छैनन्। उनले सार्वजनिक गरेको पत्रमा अनुमति मागेको मात्र उल्लेख छ। 

गीत बनाएर सार्वजनिक गर्नुअघि देखाउन भनिएकोमा त्यो नदेखाई एकै पटक युट्युबमा राखिएको र कालजयी शब्दका हरफहरु नै परिवर्तन गरिएकोमा गुरुङ परिवार असन्तुष्ट छ। तर अम्बर पुत्री अल्का गुरुङले औपचारिक प्रतिक्रिया पहिलोपोस्टलाई यतिमात्र दिइन्-  'म एक्लोको निर्णय ठीक हुँदैन। हामी पारिवारिक सल्लाह गरेर चाँडै आन्तरिक कुरा बाहिर ल्याउँछौं।'

यसबारे प्रश्न राख्दा यश कुमार आक्रोशित हुँदै आफूले सर्जक गुरुङको परिवारसँगको सहमतीमा गीतको प्रयोग गरेको भएपनि गीतको प्रयोग बारे अनावश्यक र नकारात्मक टिका टिप्पणी भएको दाबी गरे। गीत सार्वजनिक भएको नौ महिना पछि यस बारे 'इस्यु' बनाउनु ठीक नभएको उनको तर्क छ। 

'हाम्रो गीत प्रोमोसन गर्नु पर्दा चाहिं तपाईंहरु सहयोग नगर्ने अनि अहिले किन यस्ता विषयलाई उठाउँदै हुनुन्छ?', उनले सोधे। 

उनको लागि गीत बारे उठेको प्रश्न सामान्य भएपनि स्रष्टा गुरुङको परिवारको लागि भने ठूलै मुद्धा बनेको छ। जसबारे गुरुङका तीन छोरा र एक छोरीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिने बताएका छन्। 

त्यसो त अम्बर गुरुङको यही गीतको लय चर्चित भारतीय संगीतकार आरडी बर्मनले 'दीवाना मुझसा नहीँ इस अम्बरके निचे' गीतमा नक्कल गरिएको पनि भनिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell