PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल



सहयोग रञ्जित

हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल

काठमाडौं : केही दिनअघि हङकङमा भएको आन्दोलनको एउटा भिडियो भाइरल भयो। सुपुर्दगी विधेयकको विरुद्धमा हजारौं जनता सडकमा ओर्लिएका थिए। बाटो ठप्प थियो। त्यही समयमा एउटा एम्बुलेन्स आइपुग्यो। सडक छपक्कै छोपेर प्रदर्शनमा उत्रेकाहरुले एम्बुलेन्सलाई बाटो छोडिरहेका थिए।

बुधबार गुठी विधेयकको विरोधमा जनता माइतीघरमा भएको प्रदर्शनमा हङकङको त्यही दृश्य दोहोरियो। आन्दोलनमा सहभागीहरु माइतीघरमा मात्र नभइ थापाथली र बानेश्वरसम्म सडकमा थिए।

बाटोमा नाचगान गर्दै सरकारलाई विधेयक ल्याएकोमा प्रश्न सोध्दै नारा लगाउँदै थिए। सवारी आगमन ठप्प थियो। तर, प्रदर्शनकारीहरुले एम्बुलेन्सलाई स्कर्टिङ् गर्दै अगाडि बढ्न दिए।

एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनलाई भिडको बीचबाट जान बाटो खुलाउन आन्दोलनकारीहरु आफै लागेका थिए।

 

 

यस्ता प्रदर्शनमा देखिने अर्को नराम्रो दृश्य हो, आन्दोलनकारीहरुले गर्ने फोहोर। पानीका बोतल, जुसका प्याकेट, चाउचाउ र चकलेटका कागज, प्लेकार्डहरु बाटामा छरफस्ट देखिनु कुनै नौलो होइन यस्ता आन्दोलनमा।

तर बुधबारको प्रदर्शनमा यस्ता फोहोर टिप्दै जम्मा गर्ने स्वयंसेवक टोली खटिइरहेको थियो। उता मञ्चबाट माइकिङ् पनि हुँदै थियो जथाभावी फोहोर नफाल्न र फोहोर संकलन गर्न। प्लाष्टिकका ठूला प्याकेट बोकेर स्वयंसेवकहरु प्लाष्टिकका बोतल तथा अन्य फोहोरहरु संकलन गरिरहेका थिए।

प्रहरीलाई फूल, पानी र घमसाघम्सी

गायक योगेश्वर अमात्य पूर्व योजना अनुरुप फूल लिएर माइतीघर पुगेका थिए। मञ्चमा नेवार अभियन्ता बोलिरहँदा अमात्य भने प्रहरीलाई फूल दिँदै थिए। योगेश्वरले पहिलोपोस्ट सित भने, 'प्रहरीपनि हाम्रो साथी हो। उहाँहरुलाई पनि तनाव हुन्छ। यो फूल दिएर उहाँहरु सँग हामी छौं भनेर दर्साउन खोजेको हुँ।' योगेश्वरले फूल दिँदै गर्दा प्रहरी हसिँलो र लजालु देखिन्थे।

चर्को घाम र हजारौं मानिसबीच सुरक्षा प्रदान गरिरहेका प्रहरीहरुलाई आन्दोलनकारीले पानी वितरण गर्नै गरेको दृश्य पनि देखियो।

उता, हजारौंको संख्यामा माइतीघर पुगेकाहरुलाई व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे भयो। सिंहदरबार जाने बाटोमा बाजागाजा सहित जम्मा भएका सहभागी र प्रहरीबीच केही बेर घम्साघम्सी भयो। यद्यपि, अवस्था प्रतिकूल भएन।

ब्रास ब्यान्डदेखि लाखे नाच

योगेश्वर अमात्य फूल मात्रै नभइ ब्रास ब्यान्ड नै लिएर माइतीघर पुगेका थिए। ठिक ११ बजे माइतीघर पुगेका ब्रास ब्यान्डले राजामती गीत गाउँदै माहौललाई संगितमय बनाए। ब्यान्डले नेवारी गीतका बाहेक राष्ट्रिय गीतहरुका बजाएका थिए। आन्दोलनमा सहभागी हुन भक्तपुर, पाटन, खोकना, साँखु, पनौती लगायतका स्थानबाट युवाहरु धिमे, भुस्या र बाँसुरी बजाउँदै आएका थिए।

खबरदारी सभामा लाखेनाचले धेरैलाई आकर्षित गर्‍यो। करिब तीनघण्टा चलेको आन्दोलनमा सहभागी आन्दोलनकारीहरु नाचगान गर्दै नारा लगाउँदै गरेका थिए।

सम्बन्धित समाचार

गुठी विधेयकविरुद्धको आन्दोलन सोझियो जातीय स्वायत्तता तर्फ, खबरदारीसभामा उठ्यो नेवा: राज्यको माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell