PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रमलाई गोर्खा सैनिकको ‘गार्ड अफ अनर’मा देउवाको टिप्पणीः ह्वाइटहरुले सलामी गर्न मानेनन् त के गर्ने?



पहिलोपोस्ट

प्रमलाई गोर्खा सैनिकको ‘गार्ड अफ अनर’मा देउवाको टिप्पणीः ह्वाइटहरुले सलामी गर्न मानेनन् त के गर्ने?

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु तथा राजीनामा दिएकी बेलायती प्रधानमन्त्रीको आश्वासनले मात्र कुनै अर्थ नराख्ने उनले बताएका हुन्।

सदनलाई छलेर गुठी विधेयक बाहिरबाट फिर्ता लिने निर्णय भएको भन्दै देउवाले आपत्ति जनाए। आफूले बोल्न समय मागेपछि बोल्नकै लागि प्रधानमन्त्रीले हठ गरेको पनि उनले बताए।

प्रतिनिधिसभामा सम्बोधनको सारसंक्षेप

मैले हिजो समय मागेको थिएँ। प्रधानमन्त्रीले समय माग्नुभएको रहेछ । बोल्न दिएको भए मेरो पनि जवाफ दिन पाउनुहुन्थ्यो । संसारभर जहाँ पनि संसद विपक्षीको हुन्छ। तर, यहाँ उल्टो भयो। आफैँ बोल्ने। प्रतिपक्षले पहिले बोलेका विषयमा उहाँले जवाफ दिने हो। प्रधानमन्त्रीले बोलेपछि बोल्न नपाउने? जब मैले समय पाएको थिएँ। उहाँले जबर्जस्ती गर्नुभयो। संसारभर जहाँ पनि प्रधानमन्त्रीले जवाफ दिने हो। संसद् विपक्षीको हो। यो संसारभरको मान्यता हो।

सभामुख महोदय गुठी सम्बन्धी विधेयकमात्र मेरो विरोध थिएन। अरु पनि विषय थिए।

संसारभर विधेयक संसदबाट फिर्ता लिइन्छ। बाहिरबाट कहाँ मिल्छ? फेरि संसदबाट सम्बन्धित मन्त्रीले पो फिर्ता लिने त? संसद चलेका बेला बाहिरबाट विधेयक फिर्ता लिने? यहीँबाट फिर्ता लिएको भए भैहाल्थ्यो नि। संसद चलेका बेला बाहिरबाट विधेयक फिर्ता लिन मिल्छ कहाँको संसदीय व्यवस्था हो यो?

गिरिजाप्रसाद कोइराला रोष्ट्रममा बोल्दाबोल्दै उहाँहरुले बोल्न दिनुभएन। ४८ दिनसम्म संसद् अवरुद्ध गर्नुभएको थियो हामीले त्यसो गरेका त हैनौँ नि। जहाँ पनि सरकारले जवाफ दिने हो। बोल्ने विपक्षीले हो, सत्तापक्षले काम गर्ने हो।

मैले बोलेपछि उहाँले बोले भैहाल्थ्यो नि। यो कहिल्यै नभएको कुरा भएको छ। यो बलमिच्याइँ भएको छ। हामी मान्दैनौँ।

उहाँको बेलायतको भ्रमण सफल भएको छैन।

उहाँलाई गोर्खा सेनाले गार्ड अफ अनर दिएछ। मलाई त ब्रिटिस सेनाले नै दिएको थियो। ह्वाइटहरुले सलामी नै गर्न मानेनन् त के गर्ने?

फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै दिएनछन्। बेलायतमा राजीनामा दिएको प्रधानमन्त्रीले के दिन सक्थिन्? उहाँको विदेश भ्रमण असफल भएको छ।

मिडिया काउन्सिल, मानव अधिकार  र सूचना प्रविधि विधेयक फिर्ता हुनुपर्छ। प्रजातन्त्र भएको देशमा बोल्ने लेख्ने निर्वाध स्वतन्त्रता हुन्छ। राम्रो वा नराम्रो लेखे उही जिम्मेवार हुन्छ। यो बहुदलीय व्यवस्था र प्रजातन्त्रमाथिको आक्रमण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell