PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुठी विधेयकको विरुद्ध भक्तपुरको थिमी र टौमढीमा मसाल जुलुस, पनौतीमा विरोध सभा

गुठी विधेयकको विरुद्ध भक्तपुरको थिमी र टौमढीमा मसाल जुलुस, पनौतीमा विरोध सभा


भक्तपुर: सरकारले संसदमा ल्याएको गुठी विधेयकको विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन भइरहेका छन्। यसैबीच गुठी विधेयक फिर्ता लिन माग गर्दै आज भक्तपुर र काभ्रेको पनौतीमा विरोध कार्यक्रम आयोजना गरियो।

भक्तपुरको थिमीमा स्थानीय गुठीयार, संघ संस्थाको अगुवाइमा आयोजित विरोध सभाका क्रममा गुठीयारहरुले केही समय कोटेश्वर – सूर्यविनायक सडक खण्ड अवरुद्ध गरेका थिए।

सडकमा कोणसभापछि गुठीयार र स्थानीयहरुले मसाल जुलुस निकालेर मध्यपुर थिमी परिक्रममा गरेका थिए।  उनीहरुले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका थिए।

'नेमकिपा कसको पक्षमा ?'

यस्तै, भक्तपुरको टौमढीमा आज नेवा: राष्ट्रिय मुक्ति मोर्चाले गुठी विधेयक विरुद्ध मसाल जुलुस निकाल्यो। कार्यक्रममा मोर्चाका नेताहरुले सरकारले गुठी विधेयक फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी दिएका थिए।

नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिव श्रीकृष्ण सुलुले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले गुठी विधेयकका सन्दर्भमा दोहोरो चरित्र निर्वाह गरेको बताउँदै भने,' उहाँहरु मोही र किसानको कुरा गरिरहनु भएको छ। हाम्रो नेवार संस्कृति, कलासँग मतलब छैन। भक्तपुर नगरपालिकाको मुख्य आयस्रोत के हो? यहीकै कला र संस्कृति होइन र?'

 मोर्चा कसैलाई धनी बनाउने नाममा कला संस्कृति मास्ने पक्षमा नरहेको बताउँदै उनले जग्गा रहे सम्म मात्रै नेवारहरुको कला संस्कृति जीवन्त रहने बताए।  

नेमकिपाले विधेयकबाट किसान र मोहीहरुले अधिकार पाउने बताउँदै भ्रम फैलाएको उनको आरोप थियो। भने,'  यो विधेयकले मोही र किसानलाई हक दिएको छैन। वर्षौं सम्म सत्ता बिहिन रहेका जनतालाई जग्गा दिने नाममा भूमाफियाहरुलाई जग्गा बाध्न ल्याइएको विधेयक हो यो।'  

मोहीलाई गुठीको आधा मात्रै नभइ सबै जग्गा दिने व्यवस्थाले यो विधेयक किसान भन्दा भूमाफियाको पक्षमा रहेको भन्दै उनले नेवारहरुको कला,संस्कृति,जात्रा,पर्व संचालन गर्न र जग्गा बिहिन बनाइएका किसानहरुलाई हक प्रदान गर्न नेवा: स्वायत्त राज्य स्थापना हुनुपर्ने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell