PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिलनले 'पाठ सिकाउन' खोज्दा प्रनेश प्रकरण, मिश्रको प्रश्न : कम्पनीको गल्तीमा व्यक्तिलाई कार्वाही किन?



पहिलोपोस्ट

मिलनले 'पाठ सिकाउन' खोज्दा प्रनेश प्रकरण, मिश्रको प्रश्न : कम्पनीको गल्तीमा व्यक्तिलाई कार्वाही किन?

काठमाडौं :  चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेश गौतम यतिबेला प्रहरी हिरासतमा छन्। मिम नेपालको युट्युब च्यानलमा आएको वीर बिक्रम २ को भिडियो समीक्षालाई लिएर पक्राउ परेका गौतमको रिहाइको र अर्कोतिर कारबाहीको माग गर्नेहरु विभाजनमा उत्रिएका छन्।

वीर बिक्रम २ का निर्देशक मिलन चाम्सले दिएको उजुरीका आधारमा प्रहरीले मिम नेपाल च्यानलका सञ्चालक र भिडियो समीक्षा गर्ने गौतमलाई पक्राउ गरेको थियो। सञ्चालक आदर्श मिश्र रिहा भइसकेका छन् भने गौतम अझै हिरासतमै छन्। मिम नेपाल नेपाल सरकार अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७३ मा दर्ता भएको कम्पनी हो। यो कम्पनीले नियमित कर तिरिरहेको दाबी पनि कम्पनीको छ। तर, प्रहरीले यो मुद्दामा कम्पनीका सञ्चालक आदर्श मिश्रलाई छोडेर प्रनेशलाई थुनेर राखेको छ। 

प्रनेशलाई जानीजानी विद्युतीय कारोबार ऐनमा मुद्दा चलाएर दु:ख दिन खोजेको देखिएको मिश्रको दाबी छ। 'संस्थागत रुपमा भएको कामलाई व्यक्तिसँग जोडेर नियतबस कारबाही प्रक्रिया अगाडि बढाइएको छ,' मिश्रले भने, 'मिम नेपाल हाम्रो संस्था हो। संस्थाबाट भएको गल्तीमा व्यक्तिलाई किन समातियो? संस्थालाई समात्न नसकिने र कानुनी प्रकृया लामो भएकाले यस्तो गरिएको हो।' 

मिम नेपाल र प्रनेश गौतमले संयुक्त रुपमा निर्माण गरेको भिडियोविरुद्ध ‘वीर बिक्रम २’का निर्माता एवं निर्देशकले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। फिल्म सार्वजनिक भएको एक सातापछि नै उजुरी दर्ता गरिएको थियो। तर, त्यसको अर्को साता दुईजना पक्राउ परे। प्रनेश पक्राउ परेपछि चाम्सले प्रनेशका बुबालाई भेटेका थिए। उनले प्रनेशलाई सोमबार नै छुटाउने आश्वासन पनि दिएका थिए। प्रनेशका बुबा पनि चाम्सले आफूलाई प्रनेशलाई छुटाउने वचन दिएको स्वीकार्छन्।

तर, सोमवार प्रनेशलाई छुटाउन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका चाम्स र मिम नेपालका बीच कुरा नमिलेपछि प्रनेशले थप थुनामा बस्नुपर्‍यो। 

'उहाँहरुसँग सोमबार नै भेट भएर कुरा भएको हो। उहाँहरुसँग सौहार्दपूर्ण नै कुरा भएको हो,' प्रनेशका बुबा ऋषिराज गौतमले भने, 'चिन्ता नगर्नुस्, हामी छुटाउँछौँ पनि भनेका हुन्।'

कुरा कसरी बिग्र्यो त? बुधवारको पत्रकार सम्मेलनमा मिलन चाम्सले भनेका छन्, 'त्यहाँ पुगेपछि मिम नेपालका साथीहरुले ठूला कुरा गर्नुभयो। कलाकारहरुले पनि अपमानित भएको महशुस गर्नुभयो, त्यसैले पनि छुटाउन सकिएन।' 

प्रनेशका बुबाले पनि प्रहरीमा मुद्दा पुगिसकेपछि सजिलो नभएको महशुस गरेका छन्। 'एकपटक प्रहरीमा आइसकेपछि सबै कुरा भनेजस्तो हुँदो रहेनछ,'  गौतमले भने, 'उहाँहरुले अहिले चाहिँ गल्ती गरेको महसुस गर्नुभएको पनि छ।'

मिम नेपालका सञ्चालक मिश्रले पनि चाम्ससँग कुरा भएको तर चाम्सले कम्पनी नै खारेज गर भनेपछि कुरा नमिलेको बताउँछन्। मिश्राका अनुसार मिम नेपालमा अहिले ६ जना कर्मचारी फुलटायमरका रुपमा काम गरिरहेका छन्।

‘सरकारमा दर्ता भएको कम्पनी हो। कुनै व्यक्तिले कम्पनी नै खारेज गर भन्न पाउँछ? निर्माताले कम्पनी खारेज गर भन्नु भयो,' मिश्रले भने हामीले भिडियो हटाएका थियौं तर पनि मान्नु भएन। हामीबाट गल्ती भयो होला तर अपराध भएको छैन। मानहानीको मुद्धा लगाएको भए हुन्थ्यो साइबर क्राइम लगाएर गलत भयो।'

प्रनेशलाई बुधबार जिल्ला अदालत काठमाडौंले गौतमलाई थप अनुसन्धानका लागि दुई दिन म्याद दिएर थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीले सामाजिक सन्जालहरुको अध्ययनका लागि भन्दै १५ दिन मागेकोमा अदालतले दुई दिनको समय दिएको हो। मुद्दा अदालती प्रकृयामा पुगिसकेको छ। प्रहरीले आज अदालतमा लगेर सरकारी वकिल कार्यालयमार्फत् मुद्दा अगाडि बढाउला भन्ने ऋषिराजको अपेक्षा छ। यो समाचार तयार पार्दासम्म प्रनेशलाई काठमाडौं अदालत लगिसकिएको छ।

 

के यसमा विद्युतीय कारोबार ऐन आकर्षित हुन्छ?

विद्युतीय कारोबारलाई नियमित र व्यवस्थित गर्न पुनःस्थापित प्रतिनिधिसभाले विद्युतीय कारोबार ऐन, २०६३ पारित गरेको थियो। ऐनको मूल उद्देश्य विद्युतीय अभिलेखको सिर्जना, उत्पादन, प्रशोधन तथा सम्प्रेषणलाई प्रमाणीकरण तथा नियमित गर्ने हो। अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गरेमा सोको नियन्त्रण गर्ने उद्देश्य ऐनको छ। 

ऐनको मर्म अनुसार हरेक दायित्व फौजदारी प्रकृतिका छन्। तर, पछिल्लो समय ऐनको दफा ४७ अनलाइन मिडियाले उत्पादन गरेका सामाग्रीमा आकर्षित गरिँदै आएको छ। सामाजिक सञ्जालमा लेखिएका विषयमा पनि यही ऐन प्रयोग गरिएको छ।

२०७५ भदौ १ अघि सामाजिक सञ्जाल लगायतमा लेखिएका विषयको कसुर परिभाषित र कारबाहीको स्पष्ट व्यवस्था थिएन। पछिल्लोपटक अपराध संहिताले यस्ता विषय सम्बोधन गरे पनि विद्युतीय कारोबार ऐनको सहारा लिन छाडिएको छैन। जुन कानुनको अनधिकृत प्रयोग समेत हो। राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रहरीलाई यो कानुनको 'दुरुपयोग नगर्न' पत्राचार गरिसकेको छ।


विद्युतीय कारोबार ऐनका जानकार सन्तोष सिग्देलका अनुसार विद्युतीय कारोबार ऐनको दफा ४७  यस प्रकरणमा आकर्षित हुने विषय होइन। 'अहिलेको मुद्दा हेर्दा यो गाली बेइज्जती ऐन अन्तर्गत नै हुनुपर्ने हो तर यसमा विद्युतीय माध्यमबाट आएकोले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको जस्तो देखिन्छ,' उनले भने।

उजुरी र घटनाको प्रकृति हेरेर कुन कानुन अन्तर्गत मुद्दा चलाउने भन्ने हेर्ने प्रहरीले भए पनि त्यसमा चुकेको उनको दाबी छ। आफूले प्रहरीमा दिएको उजुरीको पुरा पाठ पढ्न नपाएकोले पनि ठ्याक्कै के हो भन्न नसक्ने पनि उनले बताए।

'अनुसन्धानकै क्रममा अभियुक्तलाई अपराधी जस्तै आँखा छोपेर फैसला नै भैसकेको जस्तो गरी फोटो राखिएको छ,' उनले भने, 'मैले हिजो मिलन चाम्सले गरेको पत्रकार सम्मेलनको कुरा पनि पढेँ। उनले थर्काउनको लागि उजुरी दिएको भनेका छन्। कुनै कानुनको सहारा लिएर गलत नियतले कसैलाई दु:ख दिने मनसायले उजुरी गरेमा उजुरी दिने व्यक्ति नै कारबाहीको भागिदार हुने कानुन छ।' 

बुधवारको पत्रकार सम्मेलनमा निर्देशक चाम्सले स्पष्ट शब्दमा 'आफ्नो इन्टेन्सन लेसन सिकाउने मात्र' भएको बताएका छन्। आफुले ठोक्ने वा थुनाउने नियतले नभै पाठ पढाउने नियतले उजुरी दिएको उनले पटकपटक बताएका छन्। उनको भनाइले प्रनेश र मिम नेपाललाई पाठ पढाउन वा थर्काउन विद्युतीय कारोबार ऐनको दुरुपयोग गरिएको देखिन्छ। यदि अदालतबाट प्रनेश विद्युतीय कारोबार ऐन अन्तर्गत दोषी प्रमाणित नभएको खण्डमा उनले नेपाल प्रहरी तथा निर्देशक चाम्स विरुद्ध मानहानी तथा क्षतिपूर्तिको मुद्दा हाल्न सक्नेछन्। 

'पाठ सिकाउन' विद्युतीय कारोबार ऐन

‘मेरो नियत भनेको पाठ सिकाउने मात्र हो। निवेदन दिँदा पनि हामीले त्यो कुरा स्पष्ट भनेका छौं। प्रनेशलाई जुन कानुन अनुसार सुधार्न सकिन्छ, त्यही कानुन अनुसार गएको हो,' फिल्म निर्देशक मिलन चाम्सको भनाइ हो यो।

बुधवार पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक चाम्सले आफूले केका आधारमा कुन कानुनका आधारमा मिम नेपाल र गौतम विरुद्ध उजुरी दिएको भन्ने खुलाउन सकेनन्।

'उजुरी दिएका हौँ के कानुन लाग्छ के लाग्दैन भन्ने हामीलाई थाहा भएन्,' उनले भने, 'हामीले भिडियो लगेर देखायौं त्यही आधारमा प्रहरीले उजुरी दर्ता गर्‍यो।'

प्रहरीका अनुसार गौतम विरुद्ध साइबर क्राइम अन्तर्गत मुद्दा चलिरहेको छ। निर्देशक चाम्सले चलचित्रको समीक्षा नराम्रो गर्‍यो भनेर उजुरी नगरेको दाबी गरे।

‘हामीले केश दर्ता गरेको थियौं। तर, त्यो चलचित्रको समीक्षा गर्‍यो भनेर होइन। मानहानी, गाली बेइज्जत, चरित्र हत्या, अपशब्द अनि रंगभेद गरिएको कारणले केश दर्ता गराएको हो,' उनले भने, 'चलचित्रको विषयमा समीक्षा गर्ने स्वतन्त्रता सबैलाई छ। तर, के बोल्ने कतिसम्म बोल्ने भन्ने बारेमा प्रष्ट हुनुपर्छ।’

उनले समीक्षाका नाममा यसअघि पनि कलाकारहरु माथि प्रहार हुने गरेको भन्दै आफू प्रतिनिधि पात्रमात्र भएको बताए।

'हिजो पनि यस्तो हुन्थ्यो। मानहानी, रंगभेद र अपशब्द बोलेको कारणले गर्दा भोलि यस्ता चिजहरु नआओस् र समाज नराम्रो बाटोतिर नजाओस् भन्ने हिसाबले गौतममाथि केश दर्ता गरेका हौँ,' निर्देशक चाम्सले भने।

चाम्सले आफू प्रनेशलाई रिहा गराउन गएको र उनले गल्ती स्वीकार गरेकोसमेत दाबी गरे।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार नरेश भट्टराईले पनि उजुरी नराम्रो रिभ्यू गरेको भन्दै नभएर मानहानी गरेको भएर गरेको दाबी गरे। उनले मुद्दालाई राजनीतिकरण गरेको दाबी गरे। विषयलाई नबुझिकन फिल्म निर्देशक माथि प्रहार गर्ने काम भएको बताए।

उनको समर्थनमा पुगेका चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले फिल्मको बारेमा नबुझेकाले विरोध भइरहेको बताए। चलचित्र पत्रकारले फिल्मलाई नराम्रो नभनेको तर चलचित्रको ज्ञान नै नभएकाले यस्तो आलोचना गरेको उनले दाबी गरे।

प्रनेशका बाबु भन्छन् : बिना कसुर बनाइयो अपराधी

प्रनेशका बाबु ऋषिराज गौतम छोरालाई बिना कसुर अपराधी बनाएको दाबी गर्छन्। उनका अनुसार निर्देशक चाम्ससँग भेटेर कुराकानी पनि गरिसके उनले।

'छोरोलाई बिना कसुर अपराधी बनाइएकोमा हरेक बाबुआमालाई दुःख लाग्छ नै,' उनले भने, 'प्रहरीले अपराधी भनेर हतकडी लगाएर आँखामा पट्टी बाँधेर फोटो हालेर प्रचार गरेको छ। अब यस्तोबेला एउटा बाबुको मन कस्तो होला?'

करिअर बनाउन लागेको केटोलाई एउटा भिडियोका कारण यसरी अपराधी बनाउँदा उसलाई पनि पीडा भएको बताउँदै उनले हिरासतमा यातना भने नदिएको बताए। 'ऊ आफैं पीडामा छ, यस्तो बेला गीत गाउन लगाउने, कमेडी गर् भन्ने, कहिले एक्टिङ् गर् भनेर उसलाई झन् पीडा थपिदिने गरेको चाहिँ रहेछ,' उनले भने, 'खोर त हो। खोरमा बस्नु त्यसै पनि नराम्रो हो। यहाँ पनि त्यही हो।'

उनले प्रहरीले हतकडी लगाएर अपराधीको व्यवहार गरेकोमा दु:ख व्यक्त गरे। 'कुनै ठूलै अपराधी जस्तै प्रनेशको आँखामा पट्टी बाँधेर, हतकडी लगाएर फोटो सार्वजनिक गरिएको छ,' उनले पहिलोपोस्टसँग भने, 'आफ्ना सन्तानलाई यस्तो अवस्थामा देख्दा बाबुआमाको मनमा के बित्छ भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिनँ।' 

प्रहरी भन्छ : अदालतको आदेश अनुसार नै विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा

यता प्रहरीले भने उजुरीकर्ताहरु साइबर क्राइममै उजुरी गर्न आएपछि अनुसन्धान अघि बढाइएको बताएको छ। जेठ १० गते पीडित पक्षले नै साइबरमा मुद्धा चलाउनु भन्दै उजुरी लिएर पुगेको एसएसपी सहकुलबहादुर थापाले बताए। 

प्रहरीले २७ गते पीडित र पीडक दुवैलाई मेलमिलाप गर्ने समय दिएको थियो।

'उहाँहरु समयमा मिल्नु भएन। अनि हामीले अदालतबाट अनुमति मागेर साइबर क्राइममा पक्राउ पुर्जी जारी गरेको हो। अदालतको आदेशले नै हो,' उनले भने, ‘शब्द भल्गर, चक्कु देखाएको लगायत कुरालाई हेर्दा साइबरमा मुद्दा चल्ने देखेर नै चलाएका हौं। आधारहरु हेर्दा मुद्धा चल्ने देखियो र चलाएको हो।' प्रहरीले कसैको उजुरीको आधारमा मात्र विद्युतीय कारोबार ऐनमा मुद्दा नचलाइने पनि दाबी गरे।

के भन्छन् कलाकार?

नायिका ऋचा शर्माले चलचित्रको समीक्षा गरेकै आधारमा यातना दिन नहुने बताइन्।

'जात धर्म र रंग भेषभुषाको आधारमा हुने कमेन्ट गलत हुन् त्यसप्रति मेरो भर्त्सना छ। तर, फिल्म नराम्रो भनेकै आधारमा पक्राउ गर्नु राम्रो होइन। म यसको विरोध गर्छु। कसैलाई बोलेकै आधारमा यातना दिइनु हुदैन्,' उनले भनिन्।

कलाकार दीपकराज गिरी समस्याको समाधान प्रहरीबाट नभइ सहमतिबाट लिनुपर्ने बताउँछन्।

'म समीक्षामा जान चाहन्नँ। कस्तो प्रकार थियो त्यो आफ्नो ठाउँमा छ। विदेशमा गरिएको अभ्यास यहाँ गर्दा त्यो समाजले हाम्रो संस्कृतिले पचाउन सक्छ कि सक्दैन भन्ने ख्याल गर्नुपर्थ्यो। अझै पनि हाम्रो संस्कृतिले त्यसलाई पचाउन सकेको छैन। दुवैजना एक्स्ट्रिमिस्ट हुनु हुन्न। यसमा माफी लिनुदिनु बाहेक अर्को ठूलो केही हुँदैन। मिलाएर जानुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell