PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ



सहयोग रञ्जित

'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ

काठमाडौँः वर्षा र सहकालका देवता करुणामय बुंगद्य: रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुँदैछ। बेलुकी ललितपुरको जावलाखेलमा भोटो जात्रा सकिएसँगै रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गरिन्छ। सो प्रक्रियासँगै जात्रा सम्पन्न हुन्छ।

तर, स्थानीय र पानेजुहरु (रातो मछिन्द्रनाथका पुजारी) भने मछिन्द्रनाथलाई फेरि सोही मन्दिरमा राख्न बाध्य हुनुपरेकोमा भने दु:खी र आक्रोशित छन्। किनभने हाल रातो मछिन्द्रनाथलाई राखिने मन्दिर अस्थायी हो।

ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको रातो मछिन्द्रनाथको मन्दिर २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा भत्किएको थियो। जसको निर्माण हालसम्म हुन सकेको छैन। 

भूकम्पले मन्दिर भत्किएपछि मन्दिर पुनर्निर्माणमा सहयोग गर्न श्रीलंकाली सरकारले इच्छा देखायो। सरकारले पनि मन्दिर पुनर्निर्माणमा सहयोगी हातहरुको स्वागत गर्‍यो। मन्दिर बनाउन टेन्डर आह्वान गरियो। करिब ५ करोडको लागतमा पुरातत्व विभागमार्फत ठेक्का प्रक्रिया अघि बढ्यो। तीन कम्पनीले (प्रेरा,थेगिम,तुलसी जेभी धनगढी) संयुक्त रूपमा रूपमा ठेक्का पाए। तर, दुई वर्षमा मन्दिर पुनर्निर्माण गर्ने भनिए पनि हालसम्म सम्पन्न हुनसकेको छैन। 

स्थानीय रमेश महर्जन भन्छन्, 'हामी ठेक्काबाट नभई स्थानीयहरू मिलेर उपभोक्ता समिति बनाएर मन्दिर बनाइन्छ कि भनेर सोचिरहेका थियौँ। अचानक ठेक्का दिने कुरा बाहिर आयो। ठेक्का दिएका मन्दिरको निर्माण अवस्था नदेखेको होइन। तर पनि, ठेक्कापछि मन्दिर बन्ला भनेर हामी आशावादी भयौँ।'

तर,  जब ठेकेदारले मन्दिरको जगमा पुराना प्रकारका इँटा (मा अप्पा, दाँची अप्पा) को प्रयोग नगरी तराईबाट इँटा ल्याएर पुनर्निमाणको काम अघि बढायो स्थानीयहरू सशंकित भए।

'आक्रोशित स्थानीयले ठेकेदारले बनाएको जग भत्काए' रमेश भन्छन्, 'त्यसपछि विभिन्न चरणहरूमा मन्दिर पुनर्निर्माणबारे छलफल भयो। तर कुनै प्रगति भएन।'

पछि केही सहमतिपछि ठेकेदार कम्पनीले पुन: मन्दिर पुनर्निमाण प्रक्रिया अघि बढायो। तर, स्थानीय र श्रीलङ्कन सरकारलाई ठेकेदारको काम मन नपरेको बताउँछन् ललितपुर महानगरपालिका वडा सदस्य अम्बिर राज शाक्य। स्थानीय सरकारलाई समेत थाहै नदिई ठेक्का प्रक्रियाका बारेमा जानकारी नभएको भन्दै उनले भने, 'एक महिना काम गर्ने ६ महिना हराउने। यो सडक बनाएको होइन नि। सरकारले ठेक्का दिनु नै गलत थियो।'

पानेजु मदन शाक्य भन्छन्, 'मन्दिर बन्न सुरु भएको दुई वर्षभन्दा बढी भइसक्यो भयो। २० प्रतिशत काम भएको छैन। यहाँका काठ, इँटा, टुँडालहरू यतै छरिएका छन्। सकेजति हामीले सुरक्षित गरेका छौँ। तर ठेकेदारको लापरबाहीले मन्दिर बन्न सकेन। यसपटक फेरि रातो मछिन्द्रनाथलाई  अस्थायी मन्दिरमा राख्नु पर्ने भयो। मन्दिर पनि के भन्ने र टहरा जस्तै भयो नि यो।'

शाक्य मन्दिर नबन्दा देवता नै असुरक्षित भएको बताउँछन्। मन्दिरमा रहेको बहुमूल्य सामान, भोटोको सुरक्षामा उनी चिन्तित छन्। 

अहिले रातो मछिन्द्रनाथको मूर्ति राख्न पहिलाको मन्दिर रहेको पछाडि अस्थायी मन्दिर बनाइएको छ। पानेजु शाक्य सरकारसँग प्रश्न गर्छन्, 'केही वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली यही आउनु भएको थियो। मन्दिर बनाउन शिलान्यास गर्नुभयो। मन्दिर बन्छ भनेर जानु भयो। फेरि फर्केर आउनु भएन। कहिलेसम्म अस्थायी टहरामा पूजा गर्ने?'

उनी गुनासो गर्छन्,'काठको काम राम्ररी गरेको छैन। मन्दिरको भित्री भाग पहिलाको भन्दा साँघुरो छ। ठेकेदारलाई पहिला जस्तो बनाउँ भन्यो भने स्थानीयले काममा अवरोध गर्‍यो भन्छ। यसरी त भएन नि। काम नगर्नेले नै फेरि मुद्दा हालेको छ।'

अहिले ठेकेदारले काम नगरेपछि ठेकेदार कम्पनीसँग ठेक्का रद्द प्रक्रिया अघि बढाइएको छ। पुरातत्व विभागले ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी समेत थालेको छ। श्रीलङ्कन सरकारले पनि मन्दिर पुनर्निर्माणमा ठेकेदारको कामप्रति असन्तुष्ट देखिएको छ।

पुरातत्वले ठेक्का रद्द गर्दै बैङ्क ग्यारेन्टी रद्द गर्ने भएपछि ठेकेदार कम्पनीमध्ये थेगिमले उल्टै अदालतमा मुद्दा हालेर मन्दिर निर्माण प्रक्रियामा अवरोध सिर्जना गरेको स्थानीय बताउँछन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन केन्द्र सरकारको नीतिप्रति असन्तुष्ट छन्। ठेक्का दिएर सम्पदा पुनर्निर्माण गराउँदा महानगरको मात्र नभई देशकै इज्जतमा आँच आउने अवस्था आएको महर्जन बताउँछन्। बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणमा श्रीलंकाली सरकारले आर्थिक सहयोग गरेकोमा ठेकेदारले काम नगरिदिँदा श्रीलंकाली राजदूतले महानगर आएर निकै असन्तुष्टि पोखेको उनले बताए।

' त्यो ठेक्का हामी आउनुअघि नै गरेको थियो। काम नगर्ने ठेकेदारलाई हटाउने प्रक्रिया भइरहेको छ। अदालतमा मुद्दा टुंगिएपछि मन्दिरको पुनर्निर्माणको काम हामी महानगरपालिकाले गर्छौँ। त्यसको लागि जहाँ जे गर्नु पर्छ हामी गर्छौँ। तर मछिन्द्रनाथलाई टहरामा रहन दिँदैनौँ।'

सम्पदा पुनर्निर्माणमा ठेक्का दिने प्रवृत्ति हाबी भएकाले मन्दिर पुनर्निर्माणमा अवरोध आएको प्रमुख महर्जन बताउँछन्। 'सरकारले स्थानीय सरकारसँग समन्वय नै नगरी ठेक्का दियो। ठेक्का कसले पायो भन्दा बाटो बनाउने कन्ट्रयाक्टरले। अब बाटो बनाउनेले मन्दिर बनाउँदा के हुन्छ। यो सरकारले सोच्नै पर्ने विषय हो।'

पानेजु शाक्य आज भोटो जात्रापछि ६ महिनाका लागि रातो मछिन्द्रनाथ बुङ्गमतीमा रहने बताउँछन्। मन्दिर फर्केसँगै उनी देवताको नृत्य पूजाहरूमा व्यस्त हुनेछन्। तर आगामी वर्ष पनि रातो मछिन्द्रनाथको मन्दिर बन्नेमा आशावादी छैनन् उनी।

भन्छन्,' चार वर्ष त चलाइयो। मन्दिरभित्र गर्नुपर्ने कति संस्कार राम्ररी गर्न पाएको छैन। अर्को वर्ष पनि यस्तै होला। सरकारले सक्दैन भने हामीलाई भनोस्। हाम्रो देवताको मन्दिर हामी आफैं बनाउँछौँ। यसरी टहरामा धेरै राख्नुभएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell