PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुठीयारको अधिकार समाप्त गर्ने प्रस्तावित विधेयकको विरोधमा सांस्कृतिक आन्दोलनको घोषणा, विधेयक जलाइयो



सहयोग रञ्जित

गुठीयारको अधिकार समाप्त गर्ने प्रस्तावित विधेयकको विरोधमा सांस्कृतिक आन्दोलनको घोषणा, विधेयक जलाइयो

काठमाडौं: सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक न्यायोचित नभएको भन्दै जलाइएको छ।

नेवा: देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाहरुले काठमाडौंको ढल्कोमा विधेयक जलाएका हुन्।

आज आयाेजित विरोध कार्यक्रममा उनीहरुले प्रस्तावित विधेयक 'संस्कृति र गुठी विरोधी' भएकाे भन्दै पर्सी (आइतवार) माइतीघर मण्डलामा 'सांस्कृतिक आन्दोलन' गर्ने घोषणा समेत गरिसकेका छन्। माइतीघर मण्डलामा उपत्यकाका विभिन्न गुठी सम्बन्धित गुठियारका साथै तीनै जिल्लाका नेवारहरुलाई सहभागी हुन आह्वान गरिएको छ।

कार्यक्रममा बोल्दै नेवा: देय् दबूका अध्यक्ष ताम्राकारले सरकारले ल्याएको विधेयक नेवारहरुलाई काठमाडौंबाट विस्थापित गर्ने षड्यन्त्रबाट आएको भन्दै त्यसको विरुद्धमा सडकमा उत्रने चेतावनी दिए। उनले भने, 'यो यहाँका नेवारहरुको संस्कृति मास्न र भू-माफियाहरुलाई पोस्न ल्याइएको विधेयक हो। देशमा हिन्दु र बौद्ध धर्म समाप्त पारेर देशलाई पश्चिमाकरण र इसाईकरण गर्ने यो विधेयकको आसय देखिन्छ।'

कार्यक्रममा उपस्थित गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले सरकारले पहिला प्रतिनिधिसभामा विधेयक नलगि सिधै राष्ट्रियसभामा विधेयक लगेको भन्दै त्यसमा ठूलै चलखेल हुन सक्ने दावी गरे।

गुठी संस्थानले पठाएको मस्यौदा र सरकारले राष्ट्रियसभामा दर्ता गराएको विधेयकमा धेरै फरक भएको भन्दै भूभिसुधार मन्त्रालयले संविधानसँग बाझिने गरि कानून सिफारिस गरेकोमा उनले चिन्ता व्यक्त गरे। आफू पनि थारु भएको र आफ्नोमा हुने गुठीलाईसमेत यस विधेयकले प्रभावित पार्ने भन्दै उनले भने, 'अहिले प्रस्ताव गरेको विधेयकमा गुठी भनेर जग्गा हो भनेर प्रस्तुत गर्न खोजियो। धर्म र संस्कृतिसँग गुठीको कुनै सरोकार नै छैन जस्तो गरि विधेयक दर्ता गराइयो। अहिले राष्ट्रियसभामा यस विधेयकबारे दफावार छलफल हुँदै रहेछ। मैले माननीयहरुसँग भेटेर विधेयकको कमजोरी बारे जानकारी गराइसकेको छु।'

चौधरीले प्रतिनिधि सभामा जेठ २७ गते गुठी विधेयकमा दफावार छलफल हुने जानाकारी पाएको भन्दै अब यस विधेयक रोक्न जनदबाब नै सिर्जना गर्नुपर्ने बेला आइसकेको बताए। 

अध्यक्ष चौधरीले यो विधेयकलाई 'आत्मघाति हिसाबले ल्याएको विधेयक' को संज्ञा दिँदै आन्दोलनमा साथ दिने बताए।

प्रस्तावित गुठी विधेयकको दफा २३ मा हाल कायम रहेका छुट गुठी र सार्वजनिक गुठी स्वत: राजगुठीमा परिणत हुने भन्दै त्यसपछि ती गुठीको चल अचल सम्पत्ति, जायजेथामात्र नभई देव-देवीको प्रतिमा समेत रहेको गुठीयारको हक र दायित्व प्राधिकरणमा सर्ने उल्लेख गरेको छ।

यस्तै यो विधेयकको दफा २४ मा गुठीयारको हक स्वतः समाप्त हुने व्यवस्था गरिएको छ।

नेवा: राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठले नेवारहरु उठेर आउनुपर्ने बेला भएको भन्दै भने, 'नेवारहरु निदाइरहेका छन्। उनीहरुलाई उठाउने बेला आएको छ। यदि उनीहरु उठेनन् र यो गुठी विधेयक पारित भयो भने कालानतरमा नेवारहरुलाई कहाँ लगेर फालिदिने हो। थाहा छैन।'

नेपालभाषा टाइम्सका सम्पदक सुरेश किरण मानन्धरले यो समय घरमा जात्रा पर्व छ भनेर बस्ने नभई आन्दोलनमा उत्रने समय भएको बताए। आगागी २६ गते हुने भोटो जात्रा तर्फ लक्षित गर्दै उनले भने,' त्यो दिन जात्रा मात्रै मनाउने होइन। विरोध गरौं। भोटो जात्रा मात्रै भनेर बस्यो भने सबै सकिन्छ। नेवारहरुलाई दबाएर राज्यसत्ताले यो विधेयक पास गरे द्वन्द्व झनै बढ्छ। यहाँ नेवारहरु उठे के हुन्छ भनेर पाना पल्टाएर हेर हुन्छ।'

कार्यक्रममा सहभागी स्थानीयहरुले अब आफ्नो निजी गुठीबाट हुँदै आएको कूल पूजा र भोजहरु गर्न समेत सरकारको अनुमति लिनुपर्ने, खर्चको लागत बुझाउन पर्ने जस्ता नियम ल्याउन लागेको भन्दै आन्दोलन गर्नुपर्ने बताएका थिए।

लगत्तै सहभागीहरुले गुठी विधेयकको खारेजीको नारा लगाउँदै र्‍याली निकालेका थिए। उनीहरुले आइतवार माइतीघर मण्डलाबाट सुरु हुने सांस्कृतिक आन्दोलनबाट पनि सरकारले विधेयक नसच्चाए उपत्यका नै ठप्प पार्ने चेतावनी दिएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell