PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी बाजुराबाट गर्भवतीको उद्धार



एम बम

सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी बाजुराबाट गर्भवतीको उद्धार

कैलाली: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रवार रातिबाट व्यथाले च्यापेकी बुढी नन्दा नगरपालिका १० रावत बाडाकी  २२ वर्षीया रमिला रोकायालाई स्वास्थ्यकर्मीले त्यहाँ उपचार सम्भव नरहेको भनेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

रोकाया व्यथा लागेपछि शुक्रवार राति १० बजे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । शनिवार बिहानसम्म उनी सहजै सुत्केरी हुन नसकेपछि नेपालगन्ज लग्नुपर्ने अवस्था आएको थियो। 

स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनलाई स्थल मार्गबाट ल्याउन सम्भव नरहेको भन्दै हेलिकप्टर चार्टर गरिएको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले बताए। ‘मन्त्री ज्युलाई आज बिहान खबर आएको थियो,’ उनले भने, ‘स्थल मार्गको बाटो लामो रहेकाले हेलिकप्टर चार्टर गरी उद्धार गरिएको हो।’

रोकायालाई कोल्टी विमान स्थलबाट कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकास मन्त्रालयको निजी सचिवालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयले यस अघि पनि दुर्गमका तीन जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell