PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'इन्डियाज मोस्ट वान्टेड' फिल्म किन नेपालमा रिलिज भएन? के सेन्सर बोर्डले रोकेको हो?



स्वेच्छा राउत

'इन्डियाज मोस्ट वान्टेड' फिल्म किन नेपालमा रिलिज भएन? के सेन्सर बोर्डले रोकेको हो?

काठमाडौं : अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको अनि टिजर र ट्रेलरबाटै चर्चामा आएको बलिउड एक्सन थ्रिलर फिल्म 'इन्डियाज मोस्ट वान्टेड' रिलिज भएको आज एक साता पूरा भयो।

प्रायः सबै फिल्म अल इन्डिया रिलिजकै दिन नेपालका हलहरुमा पनि लाग्ने गर्थ्यो। तर नेपालमा सुटिङ भएर नेपाली कलाकारहरुले पनि खेलेको र नेपाली दर्शकहरुबीच पनि चासो भएको फिल्म नेपालमा किन रिलिज भएन त?

फिल्ममा भारतका विभिन्न ठाउँमा भएका बम आक्रमणका मुख्य योजनाकार पोखरामा लुकेर बसेको मात्र हैन, नेपाललाई पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइको प्रभाव स्थलका रुपमा देखाइएको छ। आइएसआइका एजेन्टहरु सामु नेपाली सुरक्षा निकाय र नागरिक बिक्ने गरेको देखाइन्छ।

के नेपालको छवि बिगारेको भएर अघिल्लो शुक्रबार (मे २४) मा रिलिज भएको फिल्म नेपालमा सेन्सरले रोकेको हो?

पहिलोपोस्टले गरेको प्रश्नमा सेन्सर बोर्ड सदस्य उमेश खड्काले भने,'फिल्म त सेन्सर बोर्डमा आएकै छैन।'

किन त?

उनले भने, 'सायद नेपाली डिस्ट्रिब्युटरले फिल्म ल्याएनन्।'

उनले भनेजस्तै फिल्मको प्रोडक्सन तथा डिस्ट्रिब्युसन कम्पनी फक्स स्टार स्टुडियो र नेपाली वितरकबीच कुरा नमिलेको दावी बलिउड फिल्महरु नेपालमा प्रदर्शनका लागि ल्याउने वितरक मनोज राठीले गरे।

'इन्डियाज मस्ट वान्टेड ल्याउन पैसाको कुरा मिलेन त्यसैले नकिनेका हौं,' राठीले भने।

उनको कतिमा ल्याउने प्रस्ताव स्वीकार नभएको बारे भने केही बताएनन्।

केही बलिउड तथा हलिउड फिल्महरु नेपाल प्रदर्शनमा केही सातादेखि महिनौँ ढिला ल्याइन्छ। राठीले दिएको जानकारी अनुसार यो फिल्म भने नेपाल प्रदर्शनमा आउने सम्भावना छैन। अर्जुन कपुर स्टारर यो फिल्म हलिउडको अलाद्दिन र बलिउडको पिएम मोदीसित भारतीय बक्स अफिसमै पनि संघर्ष गरिरहेको छ। नतिजा उत्साहजनक छैन।

के छ फिल्ममा?

छ वर्षअघि भारतीय मिडियाले भारतका लागि ओसामा बिन लादेनका रुपमा प्रचार गर्ने गरेका इन्डियन मुजाहिद्दीनका सह संस्थापक यासिन भट्कल नेपालको पोखराबाट पक्राउ परेका थिए। भारतीय सुरक्षाकर्मीले दिएको सुराकको आधारमा नेपाल प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरी भारतीय सीमामा लगेर छाडेको थियो।

भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीबीच अघोषित सहकार्य भएकोले यसलाई नेपाल प्रहरीले आधिकारिक रुपमा कहिल्यै स्वीकारेको छैन। भारतीय प्रहरीले पनि उनलाई नेपालको सीमामा पक्राउ परेको बताउने गरेको छ।

पोखरामा युसुफ नाम राखेर युनानी डाक्टरको भेषमा भट्कल रहेका थिए। उनको आतंकवादी संगठनले सन् २००५ देखि २०१३ सम्म भारतका विभिन्न शहरमा भएका श्रृंखलाबद्ध विष्फोट गराउँदा कयौँको ज्यान गएको थियो।

भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सीले त्यहाँको विशेष अदालतमा पेश गरेको चार्जसिटमा पनि भट्कल पोखरामा रहेर आतंकवादी काममा संलग्न रहेको उल्लेख छ-

फिल्मको कथा यसैमा आधारित छ।

तर भट्कल पक्राउको घटना ओसामा बिन लादेनलाई अमेरिकाले स्पेसल अपरेसन युनिट पठाएर पाकिस्तानलाई थाहै नदिई पाकिस्तानी सहर अबोत्ताबादमा मारेको जस्तो घटना थिएन।

नेपाल प्रहरीकै विशेष ब्युरोले गोप्य अपरेसनमार्फत् पक्राउ गरी भारतीय सुरक्षाकर्मीलाई सीमामा लगेर 'गिफ्ट' दिएको सत्य कथाले भारतीय सर्वोच्चता नदेखिने भएर सत्य घटनामा ट्विस्ट गरिएको छ।

नेपालमा भएको सुराकीले दिएको सूचनाका आधारमा अर्जुन कपुरको कमान्डमा भारतीय सुरक्षाकर्मी युसुफ भएको नभएको यकिन गर्न भारत सरकारको अनुमति बिना पोखरा आउँछन्। यकिन भएपछि नेपाली प्रहरीका केही अधिकारीले असहयोग गर्दागर्दै पनि घरभित्र पसेर युसुफ र उनका सहयोगीलाई पक्रेर वीरगञ्जबाट सीमा पार गराउँछन्।

फिल्ममा भारतलाई सुराकी गरिरहेको एक व्यक्तिलाई नेपाली प्रहरीले गोली हानी मारेकोले अर्जुन कपुरलाई नेपाल जान रोक्न खोजेको, नेपालको सीमामा बस्ने अधिकारीदेखि ढाका टोपी लगाएका सरकारी अधिकारीसम्म आइएसआइसित मिलेको, आइएसआइले अह्राएको काम गर्न नेपाली महिलाले हुलका हुल नेपालीहरुलाई लगाएको, भारतको भन्दा पनि पाकिस्तानको नेपालमा निकै प्रभाव रहेको जस्ता तथ्य स्थापित गर्न खोजिएको छ।

स्क्रिप्ट सेन्सर किन भएन?

'इन्डियाज मस्ट वान्टेड' को टिजर रिलिजपछि मात्र नेपालमा छायाङ्कन भएको बारे चर्चा भयो।

नेपाललाई अपराधिक हबको रुपमा प्रस्तुत गरिएको फिल्मको छायाङ्कन अनुमति लिने क्रममा स्क्रिप्ट सेन्सर गरेको नगरेको बारे प्रश्न पनि उठे। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने,'छायाङ्कनका लागि निवेदन र संक्षिप्त कथावस्तु मात्र दिइन्छ। त्यसैले नेपाललाई कसरी प्रस्तुत गरिएको छ भन्ने बारे फिल्म हेरेपछि मात्र भन्न सकिन्छ।'

मन्त्रालयले नै विदेशी फिल्म खिच्ने अनुमति दिन्छ।

रिलिज नहुँदा नेपाली कलाकार छक्क

फिल्ममा भारतीय सुरक्षाकर्मीलाई सहयोग गर्ने नेपाली प्रहरीको भूमिकामा नेपाली कलाकार रवि गिरी छन्। त्यसैगरी पाकितानलाई सहयोग गर्न भूमिकामा सुवर्ण थापा, कमलमणि नेपाल लगायतको पनि अभिनय छ।

भारतीय टोलीको मिसन असफल बनाउन प्रयासरत पाकिस्तानीको भूमिकामा छन् नेपाली कलाकार कमलमणि नेपाल।

फरक भूमिका र कामका कारण उक्त फिल्म 'मस्ट वान्टेड' थियो कमललाई पनि। फिल्म कबड्डीको तेस्रो संस्करण छायाङ्कनका लागि मुस्ताङमा रहँदा फिल्म प्रदर्शन मिति सार्वजनिक भयो। सोचेका थिए काम सकिएपछि पोखरा झरेर हेर्छु। 'फिल्म रिलिज नै भएन भनेर बल्ल थाहा पाउँदैछु', पहिलोपोस्टसँगको कुराकानीमा भने,'यो त अचम्म भयो नि। आधाभन्दा बढी भाग नेपालमा खिचिएको छ। किन रिलिज गरेन छन् त।'

आश्चर्यमा परेका उनी फिल्मको कथा वस्तु र नयाँ टिमसँगको कामका कारण फिल्म हेर्न उत्साहित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell