PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको फुट्यो बोली : जनअपेक्षा अनुसार काम नभए सरकार फेरिन्छ, सहमति अनुसार म प्रधानमन्त्री



पहिलोपोस्ट

प्रचण्डको फुट्यो बोली : जनअपेक्षा अनुसार काम नभए सरकार फेरिन्छ,  सहमति अनुसार म प्रधानमन्त्री

काठमाडौँ : पार्टी एकीकरणपछिको पोलिटव्यूरो गठन लगायतका विषयमा विवाद कायमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार अब आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन्। पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको भनाई छ।

प्राइभ टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रचण्डले सरकारको नेतृत्व आलोपालो गरेर जाने समझदारी रहेको बताएका छन्। ‘सरकारको नेतृत्व आलोपालो गरेर जाने भन्ने छ। लिखितै छ। बाहिर नै आइसकेको छ। यसमा धेरै प्रश्न गर्नुपर्ने म आवश्यकता नै ठान्दिनँ।’

सम्झौता कार्यान्वयन गर्नेमा प्रधानमन्त्रीसँग आफ्नो कुनै शंका नरहेको पनि प्रचण्डले बताए। सरकारले जनअपेक्षा अनुसार काम गरे र पार्टीमा आफ्नो भूमिका स्पष्ट भएमा प्रधानमन्त्रीमा ओली नै पाँच वर्षसम्म निरन्तर हुन सक्ने पनि उनले बताए।

अन्तर्वार्तामा उनले भनेका छन् ‘केपीजी र मेरो कुरा हुँदा सहमति अनुसार जाने नै भन्ने छ। म अहिले आशंका गर्दिनँ। फेरि उहाँ र मबीच सहमति भयो पार्टीमा नयाँ सहमति भयो भने केपीजी नै पाँच वर्ष जान पनि सक्नुहुन्छ।’

आधा–आधा कार्यकाल नेतृत्वमा सहमति भएको हो भन्ने प्रश्नमा पुनः प्रचण्डले भनेका छन् ‘म पनि एउटा नेताको हिसाबले मेरो जिम्मेवारी पनि परिभाषित हुनुपर्छ। त्यसो भएमा सरकारको नेतृत्व एउटा अध्यक्षले पार्टीको नेतृत्व अर्को अध्यक्षले गर्‍यो भने सन्तुलन मिल्छ। म प्रधानमन्त्री भइरहनु पर्दैन। पार्टी अध्यक्षका रुपमा मैले भूमिका खेल्छु। यसबारेमा पार्टी पंक्तिमा छलफल चलिरहेको छ।’

जनताका कतिपय विषयमा आफूले सार्वजनिक मञ्चमा धारणा राख्दा प्रचण्ड प्रधानमन्त्री पो बन्न लाग्यो कि भन्ने प्रश्न जन्माइएको उनको दाबी छ। आफूलाई प्रधानमन्त्री बन्ने कुनै पनि हतारो नभएको पनि उनले बताए। सरकारले सुशासन र जनअपेक्षाका काम गरेमा ओली प्रधानमन्त्री हुँदा आफूलाई कुनै संकोच नरहेको प्रचण्डले बताए।

तर, प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनको जिम्मेवारी आफूलाई दिन पनि कुनै संकोच मान्न नहुने प्रचण्डको भनाई छ। ‘एकताको सहमतिप्रति इमानदार हुनुपर्छ। अहिले म आशंका गर्दिनँ। समय आएपछि प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न। म लिन पनि अप्ठ्यारो मान्दिनँ। राम्रो काम भएर पार्टीमा सहमति भएमा उहाँलाई नै पाँचै वर्ष सरकार सञ्चालन गर्न र मैले पार्टीको जिम्मेवारी लिन उहाँले संकोच मान्न हुन्न।’

प्रधानमन्त्रीसँग तत्कालका लागि कुनै पनि विषयमा दूरी नरहेको प्रचण्डको भनाई छ। सहमति कार्यान्वयनमा र छलफलबाट निर्णय लिने विषयमा सबै जिम्मेवार हुनुपर्ने उनको भनाई छ।

संविधान जारी हुनुअघिको समेत प्रसंग अन्तर्वार्तामा जोड्दै प्रचण्डले आफू प्रधानमन्त्री पदको लालचमा नरहेको पनि बताएका छन्। संविधान मस्यौदाका अन्तिम चरणमा वर्तमान प्रधानमन्त्री ओलीलाई आफूले नै संविधान जारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको उनले अन्तर्वार्तामा भनेका छन्। सो समयमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति बन्न आफूले प्रस्ताव गरेको प्रचण्डको दाबी छ।

त्रिपक्षीय रुपमा भएको सहमति अनुसार कोइराला राष्ट्रपति र ओली प्रधानमन्त्री बन्ने प्रस्ताव आफ्नै भएको प्रचण्डको दाबी छ। तर, कोइरालाले उक्त सहमति तोडेको प्रचण्डले अन्तर्वार्तामा बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell