PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइतबारको विस्फोटमा मृत्यु हुनेहरु 'नागरिक' नभएको सरकारको दाबी, 'विप्लवसँग चार कम्पनी जनसेना' 



आइतबारको विस्फोटमा मृत्यु हुनेहरु 'नागरिक' नभएको सरकारको दाबी, 'विप्लवसँग चार कम्पनी जनसेना' 

काठमाडौं: आइतबार राजधानीमा भएका विस्फोटबाट मृत्यु हुनेहरु 'नागरिक' नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
 
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्। उनले विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताहरुको संलग्नता रहेको बताए। आइतबार सुकेधारा र घट्टेकुलोमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको थियो। 


'हिजोमात्र उपत्यकामा ठाउँठाउँमा विस्फोट भए। चार जनाको मृत्यु भएको छ। यहाँ कुनै नागरिकको मृत्यु भएको छैन। समूहसँग सम्बन्धित व्यक्तिको मृत्यु भएको छ। घाइते भएकाहरु पनि अधिकांश समूहसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्,' गृहमन्त्री थापाले भने, 'ने क पा विप्लव भन्ने समूहले राज्यविरुद्ध संविधान विरुद्ध शान्ति विरोधी गतिविरोधी गर्दै आएका छन्।' 

उनले विप्लव समूहले समानान्तर सरकार गठन गरेकोसमेत बताए। 'उनीहरुले जनसरकारको नाममा जनपरिषद् पनि गठन गरेका छन्। जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन्। यी सबैको गतिविधिको नेतृत्व गर्नका लागि नेकपा पार्टी पनि गठन गरेका छन्। केही समय यता सशस्त्र र  गैरकानुनी गतिविधि गर्दै आएका छन्। प्रदेश र संघको निर्वाचनमा पनि उनीहरुले गठन गर्‍यो,' उनले भने, 'केही समय यता उनीहरुले संविधान विरोधी गैर कानुनी र सशस्त्र गतिविधि गर्दै आएको छ,' उनले भने।
 
भ्रष्टाचार विरुद्धको नारा दिएर एनसेलका टावरहरुमा विष्फोष्ट गराएको भन्दै गृहमन्त्री थापाले आज पनि ठाउँठाउँमा आगजनी भएको बताए। कतिपय ठाउँमा होक्स राखिएको उनले संसदलाई जानकारी दिए।
 
उनले विप्लव समूहले आज गरेको बन्द नागरिक स्तरबाट असफल पारिदिएको दाबीसमेत संसदमा गरे। 'बन्द जनताबाट बहिस्कार भएको छ। विद्यालय तथा लामो दुरीका यातायातमा आंशिक प्रभाव परेको छ,' उनले भने। 

विप्लव समूहमाथि प्रतिबन्ध लगाएको भन्दै समूहलाई नियन्त्रण गर्ने र मूलधारमा ल्याउन सरकार प्रतिवद्धसमेत रहेको उनले बताए। 'सरकारले सो समूहका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र वार्ता गर्ने प्रक्रिया अगाडी बढाइरहेको छ,' उनले भने, 'यो समूहलाई नियन्त्रण गर्न र मूलधारमा ल्याउन सरकार प्रतिवद्ध छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell