PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

ने क पा एकीकरणको एक वर्षः जनवर्गीय संगठनको नेतृत्व घोषणा, यी हुन् संयोजक र सहसंयोजक



पहिलोपोस्ट

ने क पा एकीकरणको एक वर्षः जनवर्गीय संगठनको नेतृत्व घोषणा, यी हुन् संयोजक र सहसंयोजक
फाइल फोटो

काठमाडौँः एकता घोषणाको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का जनवर्गीय सङ्गठनको आज नेतृत्व घोषणा गरिएको छ। जिल्ला नेतृत्वको तयपछि जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति भएको हो। सचिवालय र जिल्ला नेतृत्वको अनुपात अनुसार पूर्व एमाले र माओवादीबाट जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति भएको हो। 

पार्टी एकीकरण तथा २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा नाम घोषणा गरिएको हो। बिहीबार बसेको ने क पा’को सचिवालय बैठकले २२ जनवर्गीय सङ्गठनको नेतृत्व चयन गरेको हो। 

नेतृत्व चयनमा विभेद भएको भन्दै केहीले भने असन्तुष्टि समेत जनाएका छन्।

जनवर्गीय सङ्गठनमा नेतृत्वमा सहमति भए पनि पोलिव्यूरो सदस्य चयनले अन्तिम रूपमा पाउन सकेको छैन।

एकीकरण प्रक्रियाले मूर्त रूप नलिँदा सङ्गठनको गतिविधि निश्क्रिय भएको भन्दै कार्यकर्ता भने रुष्ट छन्। प्रक्रिया लम्बिँदा स्थानीय तहसम्म पार्टीका गतिविधि हुन नपाएको उनीहरूको गुनासो छ।

 

यी हुन् संयोजक

सहमति अनुसार पूर्व एमालेले किसान, विद्यार्थी, वकिल, मजदुर तथा पेशागत महासङ्घ लगायतका सङ्गठनको नेतृत्व गर्नेछ। पूर्व एमालेले संयोजक पाएका सङ्गठनमा पूर्व माओवादीका सहसंयोजक रहनेछन्। यस्तै माओवादीले संयोजक पाएकोमा एमालेबाट सहसंयोजक रहनेछन्।

किसानको संयोजकमा वामदेव गौतम रहेका छन्। यस्तै, सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ रहनेछन्। भूमिहीन किसानमा रामप्रीत पासवान संयोजक र सहसंयोजक पदम देवकोटा रहेका छन्। मजदुरमा संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा छन्। विद्यार्थीमा संयोजक ऐन महर तथा सहसंयोजकमा रञ्जित तामाङ रहेका छन्। तामाङले आफूलाई अन्याय भएको बताएका छन्। यस्तै, पूर्व अखितबाट पनि ऐन महराको नाममा असन्तुष्टि छ।

पेसागत महासङ्घको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल छन्। मुस्लिम सङ्गठनको संयोजकमा सिराज फारुकी तथा सहसंयोजकमा अत्तर हुसेन फारुकी छन्। जनसांस्कृतिक महासङ्घको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्री रहेका छन्।

बुद्धिजीवी सङ्गठनको नेतृत्वमा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा कृष्ण केसी छन्। इन्जिनियरहरूको सङ्गठनको संयोजकको जिम्मेवारी शम्भुबहादुर श्रेष्ठले पाएका छन्। सहसंयोजक हरि पराजुली रहेका छन्। कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएनको संयोजक रुद्र नेपाल र सहसंयोजक दिनमणि पोखरेल रहेका छन्। नेपाल बार एसोसिएसनको निर्वाचन अघि नै यो सङ्गठनको संयोजक/सहसंयोजक चयन भइसकेका थिए।

यस्तै, मानव अधिकार सङ्गठनको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन्। उद्योगी व्यवसायी सङ्गठनमा संयोजक लक्ष्मीराज मानन्धर र सहसंयोजक श्याम पाठक रहेका छन्।

पूर्वमन्त्री समेत रहेका पुरुषोत्तम पौडेललाई खेलकुद महासङ्घको जिम्मेवारी दिइएको छ। सहसंयोजकमा शिव कोइराला चयन भएका छन्। निर्माण व्यवसायी सङ्गठनमा यक्षध्वज कार्की संयोजक भएका छन्। शिव चौलागाईं सहसंयोजक बनेका छन्। प्रवासी नेपाली मञ्चमा संयोजक लोकनाथ भण्डारी र सहसंयोजक ईश्वरी भण्डारी रहेका छन्।

यस्तै, महिला सङ्गठनको नेतृत्वमा अमृता थापामगर चयन भएकी छन्। सहसंयोजक सीता पौडेल चयन भएकी छन्। युवा सङ्गठनको नेतृत्व रामप्रसाद सापकोटा र सहसंयोजकमा रमेश पौडेल रहेका छन्।

पत्रकार सङ्गठनको नेतृत्वमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत चयन भएका छन्। चयनप्रति पूर्व एमालेभित्र असन्तुष्टि रहेको छ। दाहालको नाम पोलिव्यूरोमा पनि प्रस्तावित छ।

यस्तै, दलित सङ्गठनको नेतृत्वमा तिलक परियार र सहसंयोजकमा बोम विश्वकर्मा, जनजाति महासङ्घको संयोजकमा सुरेश आले र सहसंयोजक शेरबहादुर तामाङ चयन भएका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell