PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्व पौडी च्याम्पियनसीपका लागि खेलाडी छनोट



पहिलोपोस्ट

विश्व पौडी च्याम्पियनसीपका लागि खेलाडी छनोट
फाइल फोटो

काठमाडौं : कोरियाको ग्वाङ्गजु शहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनोट गरिएको छ। नेपाल पौडी संघले विश्व च्याम्पियनसीपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो।

च्याम्पियनसीपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसीपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानी खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ।

उक्त प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिइन्। यस्तै सोफियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै विश्व च्यामिपयनसीपका लागि छनोट हुन सफल भएकी हुन्।

महिला तर्फ वैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य रहेकी छिन्। शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिइन्। डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसीपमा सहभागी हुन १४ वर्ष पूरा हुनुपर्नेमा उनको उमेर १३ वर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसीपमा सहभागी हुन नसकेको संघले जनाएको छ।

यस्तै पुरुष तर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसीपका लागि छनोट भएका हुन्। वैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय कीर्तिमानका साथै आफूले सहभागिता जनाएको सवै विधामा स्वर्ण हात पारेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell