PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लाखको बिटो माग्दै हजारको लुट : कार चढेर पाकिस्तानी दम्पतीको लुट्ने काइदा



पहिलोपोस्ट

लाखको बिटो माग्दै हजारको लुट : कार चढेर पाकिस्तानी दम्पतीको लुट्ने काइदा

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्गलबार दुईजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेपछि चोरीको अर्को तरिकाको पर्दाफास भएको छ।

चोरीको अभियोगमा महाशाखाको टोलीले पाकिस्तानी नागरिक मोहसिन खान र उनकी श्रीमती पूजा मोसिन खानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरीको नयाँ तरिका पत्ता लागेको हो।

प्रहरीका अनुसार ती दुई दम्पत्तीले विभिन्न पसलहरुमा जाँदै आफूलाई नेपाली सबैभन्दा ठूलो नोट हेर्ने भन्दै झुक्याएर पैसा लुट्ने गरेको भेटिएको छ।

खान दम्पती विरुद्ध अपराध महाशाखामा भक्तपुरका व्यापारी रामकृष्ण श्रेष्ठ, सन्तकृष्ण हेका र शारदा वाग्लेले चोरी गरेको उजुरी दिएका थिए। प्रहरीले उनीहरूलाई सिनामंगलमा रहेको रुद्र भ्यु होटेलको कोठा नम्बर १०४ बाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट १ लाख ३७ हजार रुपैयाँ, केही विदेशी रकम र एउटा कार समेत बरामद गरेको छ।

खान दम्पती भिजिट भिसामा एक महिना अगाडि नेपाल आएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यस्तो छ चोरीको पाकिस्तानी दम्पत्ती शैली

वैशाख २९ गते साँझ करिब सात बजे। बा १९ च ७४ नम्बरको कार सूर्यविनायकमा रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के. इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स सेन्टर अगाडि रोकियो।

गाडीबाट एक दम्पत्ती बाहिर निस्किन्छन् र पसलका सञ्चालक श्रेष्ठलाई भेट्छन्। उनीहरूले आफू परिचय दिन्छन्। उनीहरू पाकिस्तानी नागरिक भएको खुल्छ। नाम मोहसिन खान र मोसिन खान। उनीहरुले आफू सामान किन्ने तर नेपाली पैसा नभएको बताउँछन्।

उनीहरू सामान हेर्न थाल्छन्। विदेशी नागरिकले सामान हेर्न थालेपछि श्रेष्ठ पनि दंग पर्छन्। ती दम्पत्तीले नेपालको सबैभन्दा ठूलो नोट नदेखेको र हेर्न चाहेको बताउँछन्। विदेशी धेरै मूल्यको सामान लेलान् भन्ने लोभमा श्रेष्ठले एक लाखको बिटो देखाउँदै उनीहरुलाई दिन्छन्। नोटको बिटो एकछिन हेरेर छामछुम पारेपछि एकलाखको बिटो फिर्ता दिएर उनीहरु बहाना बनाएर सामान नकिनि निस्किन्छन्।

उनीहरु बाहिरिएको केही समयपछि श्रेष्ठलाई शंका लाग्छ। त्यसपछि बल्ल उनी एकलाखको बिटो गन्न थाल्छन्। तबमात्र उनले थाहा पाउँछन्, एकलाखको बिटोबाट ३० हजार गायब। उनीहरुको कलाबारे महाशाखाका एसपी केदार ढकालले भने, ‘ पैसाको बिटोबाट केही रकम थाहा नै नपाइ चोरी गर्ने कला देखियो। उनीहरू चोर्ने उदेश्यले नै पैसाको बिटो माग्ने गरेको पाइयो।‘

पाकिस्तानी दम्पत्तीले श्रेष्ठको मात्र हैन लोकन्थलीमा सन्तकृष्ण हेकाले सञ्चालन गरेको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरेको खुलेको छ। खान दम्पतीले श्रेष्ठलाई झैँ नेपाली ठुलो नोट हेर्ने भन्दै झुक्काएर चोरी गरेको प्रहरीको दाबी छ। भाडामा लिएको गाडी लिएर उनीहरु उपत्यका बाहिरका जिल्लामा समेत चोरी गर्ने गरेको खुलेको छ।

उनीहरूले उपत्यकामा मात्र होइन बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रकम चोरी गरी लगेको प्रहरीको दाबी छ। ‘ विभिन्न भाडामा गाडि दिने कम्पनिसँग भाडामा लिएर चोरी गर्दै हिड्ने गरेको खुल्यो,‘ महाशाखाका एसएसपी सहकुल थापाले भने।

प्रहरी अनुसन्धानमा खान दम्पती दुई छोराछोरी सहित एक महिना अगाडि पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरुले केहीस्थानमा डकैती समेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले बताए।‘ धेरै रकमको कारोबार हुने पसलमा गएर विभिन्न बहानामा पसलको गल्ला हेर्ने र पैसा लिएर बाहिर तयारी अवस्थामा राखेको कार लिएर भाग्ने गरेको देखियो,‘ थापाले भने।

उनीहरुले चोरी गरिएको रकम विदेश पठाए वा विलासितमा खर्च गरे भन्ने खुल्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell