PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल फर्कनुअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनले जारी गरे १५ बुँदे वक्तव्य



पहिलोपोस्ट

नेपाल फर्कनुअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनले जारी गरे १५ बुँदे वक्तव्य
फोटो : .khmertimeskh.com

काठमाडौं : पूर्वी एसियाली मुलुकहरुको साता लामो भ्रमण सकेर प्रधानमन्त्री आज साँझ स्वदेश फर्किँदै छन्। गत वैशाख २६ गते भियतनाम पुगेका प्रधानमन्त्री ओली उतैबाट ३० गते कम्बोडिया पुगेका थिए।

कम्बोडियामा उनले त्यहाँका समकक्षी हु सेनसँग द्विपक्षीय वार्ता गरेका छन्।

वार्तापछि दुई देशका प्रधानमन्त्रीको १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री ओलीले कम्बोडियाको भ्रमणका क्रममा त्यहाँका कार्यवाहक राष्ट्र प्रमुख तथा सिनेटका अध्यक्ष साम्देक भिवोल सेनासँग शिष्टाचार भेट गरेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीले त्यहाँको राष्ट्रियसभाका अध्यक्ष साम्देक अक्का मोहासँग पनि भेट गरेका थिए।

त्यसअघि प्रधानमन्त्री ओली र त्यहाँका समकक्षी हु सेनबीच द्वीपक्षीय वार्ता भएको थियो। प्रधानमन्त्री ओलीको कम्बोडिया भ्रमण र यसअघि गत वर्ष त्यहाँका प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

दुवै देशका प्रधानमन्त्री व्यापार, लगानी, पर्यटन, सांस्कृति तथा शिक्षाका क्षेत्रमा हुने साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए। त्यस्तै छलफलमा समान मुद्दा तथा साझा फाइदा हुने क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा मिलेर काम गर्ने विषयमा समेत छलफल भएको थियो।

वार्तामा कम्बोडियाका प्रधानमन्त्री हु सेनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन र नेपालको मौलिक शान्ति प्रक्रियाको चर्चा गर्दै नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुनेमा विश्वास व्यक्त गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

'दुवै प्रधानमन्त्री दुई देशबीचको साझेदारी र सम्बन्धलाई मजबुद बनाउनका लागि नियमित रुपमा उच्चस्तरी भ्रमणको आवश्यकता भएको भन्दै यसअघि दुई देशका परराष्ट्र मन्त्रालयबीच सहमति भएको परामर्श संयन्त्रको बैठकलाई शीघ्र अगाडि बढाउन सहमति भएको छ,' वक्तव्यमा उल्लेख छ।

त्यस्तै दुवै देशका प्रधानमन्त्रीले दुवै देशका संघ संस्थाहरुलाई एक अर्काबीचको व्यापार लगानी तथा पर्यटन आदानप्रदानमा मिलेर काम गर्न आग्रहसमेत गरेका छन्। दुवै प्रधानमन्त्रीले आर्थिक विकास र व्यापार साझेदारीको लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

द्वीपक्षीय भेटवार्ता पछि दुई देशबीच व्यापार तथा लगानी सम्बन्धी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको थियो।

त्यस्तै भेटवार्तामा दुई देशबीच गत वर्ष कम्बोडियाका प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भएको हवाई सेवा सम्झौताको समीक्षा गर्दै दुवै देशका नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई यसको कार्यान्वयनका लागि प्रकृया अगाडि बढाउन निर्देशन दिइएको वक्तव्यमा उल्लेख छ। त्यस्तै दुवै देशका प्रधानमन्त्री संयुक्तमा सांस्कृति तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र पर्यटन आदान प्रदानमा सहमत भएका छन्।

त्यस्तै गत वर्ष नै दुई देशबीच भएको सांस्कृतिक साझेदारी सम्बन्धी समझदारीको कार्यान्वयनमा जोड दिइएको छ।

कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी हु सेनसँगै कम्बोडिया-नेपाल विजनेस फोरममा सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीले त्यहाँका उद्योगी तथा व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

उनले त्यहाँका प्रधानमन्त्री हु सेनलाई पुन: नेपाल भ्रमणको निम्तो दिएको र निम्तोलाई सेनले स्वीकार गरेको वक्तव्यमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell