PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एएफसी कप : पहिलो जितको खोजीमा मनाङ र मिनेर्भा पञ्जाब



पहिलोपोस्ट

एएफसी कप : पहिलो जितको खोजीमा मनाङ र मिनेर्भा पञ्जाब

काठमाडौँ : मनाङ मर्स्याङ्दी नेपालको ए डिभिजन लीग च्याम्पियन टोली हो भने मिनेर्भा भारतको शीर्ष डिभिजन 'आइ-लिग २०१७-१८' को च्याम्पियन हो। यस सिजन भने मिनेर्भाले नवौं स्थानमा रहेर लिग सकाएको थियो।

आ-आफ्नो देशमा च्याम्पियन बनिसकेका यी दुई टोली एएफसी कप २०१९ मा भने पहिलो जितको खोजीमा छन्। समूह ई मा तीन खेल खेलिसक्दा दुवै टोलीले कुनै खेल जित्न सकेका छैनन्।

मिनेर्भाले यसअघिको तीनवटै खेल बराबरी खेलेको थियो। यस्तै नेपालको मनाङले भने सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो। तेस्रो खेलमा मात्र मनाङले बराबरी खेलेर अंक जोडेको हो।

पछिल्लोपटक मनाङ र मिनेर्भाबीच भारतमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। उक्त खेलमा मनाङका सुजल श्रेष्ठले पेनाल्टी 'मिस' गरेका थिए। विदेशी खेलाडी एडेलाजा सोमिडेले अन्तिम समयमा बराबरी गोल पर्काउदै मनाङलाई एएफसी कपकै पहिलो अंक दिलाएका थिए।

अब नेपालमा यी दुई टोलीबीच आज रिटर्न लिग हुँदैछ र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्फ मैदानमा दुवै टोली जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रँदैछन्।

मिनेर्भालाई भारतमै बराबरीमा रोकेको मनाङ घरेलु मैदानमा खेल्नुअघि केही आत्मविश्वासी समेत छ।

एन्फा कम्प्लेक्समा खेल्दा मनाङलाई घरेलु मैदान र दर्शकको फाइदा समेत हुनेछ। मनाङले त्यही मैदानमा ए डिभिजन लिगको उपाधि जितेको थियो।

मंगलबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले घरेलु दर्शक टिमको लागि मुख्य फाइदा रहेको बताएका थिए।

उनले यसअघि मनाङले  तीनवटै खेलमा राम्रो खेलेको तर आफ्नै गल्ती र कमजोरीका कारण नतिजा ल्याउन असफल भएको स्वीकारे। अब मिनेर्भा विरुद्धको खेलमा उक्त कमजोरी सुधार गर्दै नयाँ रणनीतिअनुसार खेलेर ३ अंक जोड्ने लक्ष्य रहेको उनले बताएका छन्।

यस्तै लोप्साङले यस समूहबाट अघिल्लो चरण पुग्ने सबै टोलीको सम्भावना कायम रहेको बताउदै आजको खेल जित्न सके खेलाडीलाई हौसला मिल्ने बताए। 'हाम्रो सम्भावना अझै सकिएको छैन। शीर्ष दुईमा पर्नको लागि मिनेर्भासँगको खेल खेल जित्नुपर्छ। यस खेल जितेमा केटाहरुको हौसला बढेर बाँकी दुई खेलमा पनि राम्रो गर्ने विश्वास छ।'

यस्तै कप्तान विराज महर्जनले पनि ३ अंककै लागि खेल्ने बताएका छन्।

उता मिनेर्भाका प्रशिक्षक सचिन बडाढेले पनि मनाङ विरुद्ध खेल्नुअघि सकरात्मक रहेको र ३ अंककै लागि खेल्ने बताए।

प्रशिक्षक बडाढेले अघिल्लो चरण पुग्ने सबै टिमको सम्भावना बाँकी रहेकोले यो खेल महत्वपूर्ण रहेको बताए। मनाङ विरुद्धको खेल जित्न सके अघिल्लो चरणको यात्रा सहज हुने उनले सुनाए।

अहिलेसम्म समूह ई मा ३ खेल हुँदा अर्को भारतीय क्लब चेन्नायी अपराजित रहँदै ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ। ४ अंक जोडेको बंगलादेशी क्लब अबहानी दोस्रो र ३ वटै खेल बराबरी खेल्दै ३ अंक रहेको मिनेर्भा तेस्रो स्थानमा छ। मनाङ १ अंकसहित पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell