PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल र भियतनामबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता छिट्टै गर्ने सहमति, के छ १६ बुँदे संयुक्त वक्तव्यमा?



विधुर ढकाल

नेपाल र भियतनामबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता छिट्टै गर्ने सहमति, के छ १६ बुँदे संयुक्त वक्तव्यमा?

काठमाडौं: नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार साझेदारी, कुटनीतिक र विशेष राहदानी बहाकलाई भिसा उन्मुक्तिसहितका विषयमा समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा भएको द्विपक्षीय भेटवार्तामा यस्तो सहमति भएको छ।

द्विपक्षीय वर्तापछि दुई देशका प्रधानमन्त्रीले १६ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।

१९७५ मा कुटनीतिक सम्बन्ध स्थापना गरेका दुबै देशले द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमासमेत हस्ताक्षर गरेका छन्।

दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्ट(आसयपत्र)मासमेत हस्ताक्षर भएको छ।

के छ १६ बुँदे संयुक्त वक्तव्यमा?

दुबै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा दुई देशका अधिकारीहरु एक भएर अगाडि बढ्न सहमत भएको उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भियतनामले हासिल गरेको उपलब्धिप्रति त्यहाँका नेता हो चि मिन्हको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ओलीको प्रधानमन्त्री कार्यालयमा आएपछिको यो पहिलो दक्षिण पूर्वि एसियाली मुलुकको भ्रमण हो। प्रधानमन्त्री ओलीले भियतनामले दुई देशबीचको बहुआयामिक सम्बन्ध विस्तार गर्नका लागि योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। जवाफमा भियतनामका प्रधानमन्त्रीले नेपालको ऐतिहासिक राजनीतिक उपलब्धि र मौलिक ढंगले शान्ति प्रक्रियालाई अगाडि बढाएको भन्दै बधाइ दिएका थिए।

उनले नेपाल सरकारले नेपाली जनताको जीवनस्तर उकास्नका ल्याएको 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा पूरा होस भन्न शुभकामना दिएका छन्। त्यस्तै संयुक्त वक्तव्यमा दुई देशबीच भएका सम्झौताको विषयमा उल्लेख गरिएको छ।

'दुबै नेताहरुले दुबै देशबीच सांस्कृतिक तथा ऐतिहासिक समानता रहेको भन्दै बौद्ध धर्मले दुई देशका जनताहरुलाई सम्बन्धमा बाँधेको छ,' वक्तव्यको बुँदा नं ४ मा अगाडि भनिएको छ, 'दुबै नेताहरुले भियतनाम र नेपाल दुबै देशले आफ्नो सार्वभौमिकता भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रतालाई जोगाउन अनेक संघर्ष गर्नुपरेको बताएका छन्।'

२०२० मा दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ४५ औँ वर्षगाँठ मनाउने विषयमा दुबै पक्ष सहमत भएका छन्। प्रधानमन्त्री ओलीको भ्रमण दुई देशबीचको सम्बन्ध कोसेढुंगा भएको र यसले दुबै देशको सम्बन्धलाई पर्यटन, व्यापार, लगानी र जनसम्बन्धका क्षेत्रमा नयाँ आयाम थपेको वक्तव्यमा उल्लेख छ।

'दुबै नेताहरु दुई देशबीचको कुटनीतिक सम्बन्ध थप उचाइमा पुगेको भन्दै आपसी समझदार र विस्वासका आधारमा दुई देशबीचको पारस्परिध सम्बन्धलाई सबै क्षेत्रमा विस्तार गर्न सहमत भएका छन्,' वक्तव्यमा भनिएको छ।

त्यस्तै दुबै पक्षबीच उच्च स्तरीय भ्रमण आदानप्रदानलाई अगाडि बढाउन सहमत भएका छन्। दुबै नेताहरुले उच्च स्तरीय भ्रमणका साथै राजनीतिक दल, सरकार, न्यायिक निकाय, स्थानीय तह तथा जनताहरुको भ्रमणलाई बढाउँदै लैजान सहमत भएका छन्।

दुबै नेताहरुले द्विपक्षीय आर्थिक तथा व्यापार साझदेरी आफ्नो क्षमता भन्दा कम भएको धारणा राख्दै यसलाई बढाउँदै लैजाने बताएका छन्। साथै दुबै देशबीच आर्थिक तथा व्यापारिक साझेदारीलाई बढाउनका लागि दुबै देशले प्रोत्सहान गर्दै अगाड बढ्न सहमति भएको छ। विद्युतीय सामाग्री, कपी, चिया, सीफूड, टेक्सटाइल, छालाका जुत्ता आयात निर्यातको सम्भावनालाई अध्ययन गर्न तथा उर्जा, नवीरणनीय उर्जा, उच्च प्रविधिको कृषि तथा पर्यटनलगायतका क्षेत्रलाई साझेदारीको नयाँ क्षेत्रको रुपमा विकास गर्दै लैजान सहमति भएको छ।

दुबै नेताहरु कृषि उत्पादनलाई एक अर्काको बजारमा प्रवेश गराउन प्रस्ताव तयार गर्न सहमत भएका छन्। यस क्षेत्रमा सूचनाको साझेदारी कृषि विज्ञान, प्राविधिक अनुसन्धान तथा कृषि विज्ञताको आदान प्रधानमा समेत दुबै नेता सहमत भएको वक्तव्यमा उल्लेख छ।

नेपालको अल्पविकसित देशहरुको सूचीबाट निर्धारित समयअगावै माथि उठ्ने लक्ष्य लिएको र त्यसलाई पूरा गर्न भियतनाम सरकारले नेपाली उत्पादनलाई आफ्नो बजारमा स्वागत गर्ने भियतानामी पक्षले जनाएको छ। साथै भियतनामले आफ्ना लगानीकर्ता र व्यवसायीहरुलाई नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्सहान गर्ने प्रतिवद्धता जनाएको छ।

त्यस्तै दुबै पक्ष कानुन कार्यान्वयन अपराधसम्बन्धी सूचनाको आदान प्रधान तथा यस सम्बन्धी कानुनी फ्रेमवर्क तयार गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न सहमत भएका छन्। अपराध र अपराध कानुनको कार्यान्वयनमा दुबै देशबीच साझेदारी गर्न दुबै नेता सहमत भएका छन्।

त्यसका लागि नेपालको गृहमन्त्रालय र भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयबीच छिट्टै अपराध नियन्त्रण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न सहमति भएको छ।

त्यस्तै दुबै पक्ष सांस्कृतिक, पर्यटन तथा जन सम्पर्क साझेदारीलाई बढाउन सहमत भएका छन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भियतनामले नेपाल तथा भगवान गौम बुद्धको जन्मस्थल लुम्बिनीमा धेरै भन्दा धेरै पर्यटक पठाएर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

'२०२० को हवाइ उड्डयनसम्बन्धी एमओयुको समीक्षा गर्दै दुबै पक्ष दुई देशबीच सीधा हवाइ सम्पर्क कायम गर्नुपर्ने आवश्यकतालाई औल्याउँदै व्यापार, लगानी, पर्यटन तथा जनसम्पर्कलाई प्रवर्द्धन गर्न छिट्टै हवाई सेवा सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको छ,' वक्तव्यमा भनिएको छ।

त्यस्तै दुबै नेताहरु भियतनामको हानोइमा भियतनाम-नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गर्न सहमत भएका छन्।

त्यस्तै दुबै पक्षबीच विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार तथा विपत् व्यवस्थानका क्षेत्रमा हुने साझेदारीलाई बढाउन सहमत भएका छन्।

दुबै नेताबीच साझा स्वार्थका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा एक ठाउँमा उभिन सहमत भएका छन्। भियतनामका प्रधानमन्त्रीले वर्ष २०२०-२१ का लागि राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले भियतनामले सहयोग गरेको भन्दै धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। 'प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुक निम्तोलाई सहर्ष स्विकार गर्नुभएको छ। भ्रमणको मिति कुटनीतिक तहबाट छलफल गरी तय हुने छ,' संयुक्त वक्तव्यमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell