PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तेस्रो पीएम कप क्रिकेट जेठ १ देखि २४ गतेसम्म, खेलाडीले छक्का हानेको बल एक हातले क्याच गर्नेलाई ५० हजार



पहिलोपोस्ट

तेस्रो पीएम कप क्रिकेट जेठ १ देखि २४ गतेसम्म, खेलाडीले छक्का हानेको बल एक हातले क्याच गर्नेलाई ५० हजार

काठमाडौँ : राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा आयोजना हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १ गतेदेखि हुने भएको छ।

आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म हुने घोषणा गरेको हो।

तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

दश टोलीलाई दुई समूहमा विभाजन गरेको लिगका खेलहरु सञ्चालन गरिनेछ। दुवै समूहको लिग खेलपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

२३ दिन सञ्चालन हुने प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुनेछ।

नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसीसीको निलम्वनमा परेपछि राखेपले ३ वर्षदेखि पीएम कप गर्दै आएको छ।

पहिलो संस्करणमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सैयुक्त रुपमा विजेता बनेको थियो भने दोस्रो संस्करणमा अर्को विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो।

 

राखेप र नेपालयबीच 'एमओयु'

आयोजक राखेप र इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपालय इन्टरनेशनलले आइतवार प्रतियोगिता सञ्चालन गर्नेबारे मेरोरन्डन अफ अन्डरस्ट्याण्डिङ (एमओयु) गरेको छ।

खेपका तर्फबाट सदस्यसचिव केशव कुमार विष्ट र नेपालयका अध्यक्ष सुबाश प्रधानले सम्झौता पत्र आदान प्रदान गरे।

सम्झौता अनुसार प्रतियोगितामा लाग्ने कूल बजेटको ८० लाख रुपैयाँ राखेपले खर्च गर्नेछ भने बाँकी रकम नेपालय इन्टरनेशनलले आफैँ वा प्रायोजक खोजेर खर्च गर्नेछ।

प्रतियोगिताको कूल बजेट १ करोड ७५ लाख लाग्ने सदस्य सचिव केशव विष्टले जानकारी दिए।

'त्यसमध्ये ८० लाख हामीले खर्च गर्नेछौँ। यसमा पुरस्कार, ग्राउण्ड खर्च लगायत पर्नेछ र त्यो हामी आफैँ दिनेछौँ। बाँकी रकम नेपालयले जुटाउनेछ।' सदस्यसचिव विष्टले भने।

प्रतियोगिताको आयोजना, बजेट बाँडफाँड र जिम्मेवारी छुट्याउनका लागि यो सम्झदता गरेको सदस्यसचिव विष्टले जानकारी दिए।

सम्झौतापछि नेपालले राखेपले दिने ८० लाख बाहेक ९३ लाख मात्र खर्च गर्न पाउने व्यवस्था रहेको छ।

जसले गर्दा नेपालले राखेपले तोकेभन्दा धेरै रकम उठाउन पाउनेछैन। यसले घाटा होलानी भन्ने प्रश्नमा नेपालयका अध्यक्ष प्रधानले भने 'हामीले नाफा घाटा हेरेर भन्दा पनि कोही न कोहीले ५० ओभरको प्रतियोगिता गर्नुपर्छ भन्ने सोचेर अगाडि बढेका हौँ।'

'हामी गतवर्ष भन्दा अझ सक्षम भएका छौँ र राम्रो गर्ने योजनामा छौँ।' प्रधानले भने।

गत वर्ष राष्ट्रिय टिमका कप्तान पारस खड्काहसित ४ खेलाडीले नखेलेको भन्दै आलोचना भएको थियो। यस पटक सबै राष्ट्रिय खेलाडीले खेल्ने जानकारी गराएको नेपालका अध्यक्ष प्रधानले बताए।

यस्तै राखेपका सदस्यसचिव केशव विष्टले विशेष कारण बाहेक अन्य अवस्थामा राष्ट्रिय टिमका सबै खेलाडीले खेल्ने बताए।

'बीचमा ठूलै अन्तर्राष्ट्रिय खेल भएमा खेल्न दिनुपर्छ। अन्यथा उनीहरुले नखेलेमा हामी स्पष्टिकरण सोध्नेछौँ।' विष्टले भने।

विष्टले मौसम चुनौतीको रुपमा रहेपनि ६ महिनादेखि पीएम कपको लागि मिति नपाएको बताए। पछिल्लो पटक मिति पाउँदा राष्ट्रिय खेलकुद परेकाले पनि यो समयमा गर्नुपरेको प्रतिक्रिया दिए।

 

 

विजेतालाई २० लाख

प्रतियोगिताको विजेताले गनद २० लाख हात पार्नेछन्। यस्तै उपविजेताले १० लाख पाउनेछन्।

नेपाली क्रिकेटको ५० ओभरको प्रतियोगिता यो सबैभन्दा ठूलो नगद पुरस्कार राशी हो।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ। कुन ब्राण्डको मोटरसाइकल दिने भन्ने निर्णय हुन बाँकी छ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार हात पार्नेछन्।

 

एक हातले क्याच गर्नेलाई ५० हजार

यस्तै यस पटक पीएम कपमा थप आकर्षणको रुपमा सिंगल ह्याण्ड क्याच (एक हाते क्याच) पनि रहेको छ। पछिल्ल समय नेपालमा भइरहेको टी २० लिगहरुमा यसको क्रेज बड्दो छ। त्यसैले आयोजकले यसपटक ५० ओभरको क्रिकेटमा पनि यो राखेको छ।

पीएम कपमा खेलाडीले छक्का हानेको बल एक हातले क्याच गर्ने दर्शकले नगद पुरस्कार पाउनेछन्।

'छक्का हानेको बल एक हातले क्याच गर्ने दर्शकले ५० हजार पाउनेछन्। एकै खेलमा जतिपटक एक हात क्याच हुन्छ, त्यति जनाले नै यो पुरस्कार प्राप्त गर्नेछन्।' प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट गर्ने नेपालयका अध्यक्ष सुबाश प्रधानले भने।

यस्तै मैदान बाहिर बसेर खेल हेर्ने दर्शकललाई पनि विभिन्न सुविधा प्रदान गर्ने प्रधानले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell