PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

२०१७ पछि विश्वमै पहिलो पटक बर्ड फ्लुले नेपालमा लियो ज्यान : के मान्छेबाट मान्छेमा सर्छ?



सागर बुढाथोकी

२०१७ पछि विश्वमै पहिलो पटक बर्ड फ्लुले नेपालमा लियो ज्यान : के मान्छेबाट मान्छेमा सर्छ?

'मानिसमा बर्ड फ्लू! उपचारकै क्रममा निधन।'

घटना गत चैत १५ गतेको थियो।

स्वास्थ्य मन्त्रालयमा यस्तो जानकारी आएपछि सबैजना स्तब्ध भए। घटना अप्रत्याशित थियो। तत्कालै स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक डाक्यो। कृषि तथा पशुपन्छी मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले निष्कर्ष निकाले— 'यो अत्यन्तै संवेदनशील विषय हो। नेपालको ल्याबमा गरेको टेस्ट विश्वसनीय मानिन्न। र्‍याल परीक्षणका लागि बाहिर पठाऔँ।'

यस्तो निर्णय गर्नुका मुख्य तीन कारणहरु थिए।

पहिलो — नेपालमा मानिसमा बर्ड फ्लु देखिएको पहिलो पटक थियो।

दोस्रो— जनस्वास्थ्य प्रयोगशालामा आधुनिक ल्याबहरु नै छैनन्। त्यसैले आधिकारिक पुष्टी गर्नसक्ने अवस्था थिएन।

तेस्रो — पहिलो पटक भएकाले त्यसको 'जेनेटिक' समेत पत्ता लगाउनेगरी अनुसन्धान गर्नुपर्ने थियो।

यिनै कारणहरुले उक्त र्‍याल परीक्षण गराउन विश्व स्वास्थ्य संगठनको 'कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा' जापान पठाइयो। बर्ड फ्लु नै भएको ९५ प्रतिशत थाहा भए पनि जापानबाट रिपोर्ट नआई उक्त घटना कतै सार्वजानिक गरिएन।

उक्त परीक्षणको नजिता एक महिनापछि वैसाख १७ गते प्राप्त भयो। नतिजाको रिपोर्ट थियो— 'उक्त मानिसलाई इन्फ्लुएन्जा ए (H5N1) भएको हो।'

+++

गत चैत १० गते २१ वर्षीय युवक ज्वरो र खोकीको लक्षण सहित अस्पताल भर्ना भएका थिए। लक्षणले इन्फ्लुएन्जाको संकेत देखाएपछि घाँटीको र्‍याल परीक्षण गरियो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा। परीक्षणको नतिजा आउनु पहिले नै इपिडेमियोलोजी तथा रोग महाशाखाबाट उनलाई इन्फ्लुएन्जा विरुद्धको औषधि दिन सुरु गरिएको थियो।

तर, औषधि सेवन गरेको चार दिनभित्र ती युवकको निधन भयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भाइरसको प्रकार यकिन गर्नसक्ने अवस्था थिएन्। किनकि, 'पिसिआर टेस्ट मेथोड'को रिजल्ट प्रभावकारी मानिन्न। त्यसैले उक्त र्‍याल परीक्षण गर्न जापान पठाइएको थियो।

ती युवाको मृत्यु भएको कारण बर्ड फ्लु भएको जानकारी पाएपछि स्वास्थ्य मन्त्रालय सचेत भयो। किनकि यस्तो घटना सन् २०१७ पछि विश्वमै देखिएको छैन्। सन् २००३ देखि २०१७ सम्म ८ सय ६० जना मानिसमा बर्डफ्लु देखिएको छ। जसमध्ये ४ सय ५४ जनाको मृत्यु भयो भने अरु बाँच्न सफल भएका थिए।

++‌+

बर्डफ्लु देखिएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यस्तै लक्षण देखिएका बिरामीहरुको र्‍याल परीक्षण गर्न ल्याबमा पठाउन सर्कुलर जारी गर्‍यो। एक महिनाभित्र विभिन्न अस्पतालबाट बर्ड फ्लुको लक्षण देखिएका २ हजार २ सय ५० भन्दा बढी मानिसका र्‍याल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइयो। तर, परीक्षण गर्दा कसैमा पनि बर्ड फ्लुको नतिजा देखिएन।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले भने, 'अझै पनि हामीले विभिन्न अस्पताललाई यस्ता लक्षण देखिएका बिरामी जाँचको लागि ल्याबमा पठाउन अनुरोध गरेका छौँ। तर, त्यस्तो गम्भीर लक्षण भएका बिरामी कतैबाट पनि आएको छैन।'

यस्ता नौलो किसिमका भाइरसहरु देखिएमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले यो विषयमा स्वास्थ्य संगठनलाई जानकारी दिने तयारीसमेत गरेको छ।

'हामीले एक्सपर्टहरु खटाएर खोज गरिरहेका छौँ। रोग सर्न नदिन र यसबाट बच्ने तयारी गर्न स्वास्थ्य मन्त्रालय जुटिसकेको छ,' स्वास्थ्य सचिव पुष्पा चौधरीले भनिन्, 'यसको रिस्क अझै छ कि छैन भनेर स्वास्थ्य मन्त्रालयले अध्यन गरिरहेको छ।'

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर विवेककुमार लालका अनुसार पशु पन्छीबाट बर्ड फ्लु मानिसमा सर्नु अत्यन्तै दुर्लभ हो। यस्ता घटना बिरलै भएका छन्। बर्ड फ्लुका कारण एउटै ठाउँबाट लाखौँ पन्छी मरिरहेको अवस्थामा विश्वभर १५ वर्षमा ८ सय ६० जना मानिसमा मात्र बर्डफ्लु देखिनु दुर्लभ हुनुको प्रमाण हो।

पशुबाट मानिसमा बर्ड फ्लु सर्नु दुर्लभ भएजस्तै मानिसबाट मानिसमा बर्ड फ्लु सर्नु पनि दुर्लभ मानिन्छ। डा. लालले भने, 'मानिसबाट मानिसमा नसर्ने भन्ने होइन सर्छ। तर, एकदम कम। जब मानिसबाट मानिसमा सर्छ, त्यसपछि यसले महामारीको रुप लिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell