PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजकुमार पुडासैनीले स्वीकारे यौन दुर्व्यवहारको आरोप, थिएटरले गर्‍यो निलम्बन



पहिलोपोस्ट

राजकुमार पुडासैनीले स्वीकारे यौन दुर्व्यवहारको आरोप, थिएटरले गर्‍यो निलम्बन

यौन दुर्व्यवहारको आरोप लागेका रङ्गकर्मी राजकुमार पुडासैनीलाई उनी संलग्न वान वर्ल्ड थिएटरले निलम्बन गरेको छ। थिएटरमा उनी सह निर्देशक एवं वरिष्ठ कलाकारको रुपमा कार्यरत थिए।

उनीविरुद्ध समाचार प्रकाशन पश्चात् थिएटरले पीडित पक्ष र पुडासैनीलाई प्रत्यक्ष छलफलमा बोलाएको थियो।  जारी विज्ञप्तीमा लेखिएको छ,'अनुचित व्यवहार भोगेका महिलाहरुमा मानसिक तनाव देखियो। त्यस्तै पुडासैनीको व्यवहार दुराचारयुक्त तथा पदको दुरूपयोग रहेको निष्कर्षमा वान वर्ल्ड थिएटर पुगेको छ।'

पुडासैनीले आफ्नो व्यवहारप्रति जिम्मेवारी लिएका छन्। विज्ञप्तीका अनुसार उनले आफ्नो व्यवहार सुधार्ने वाचा समेत गरेका छन्। थिएटरले उल्लेख गरे अनुसार उनलाई सुधारवादी निलम्बनमा राखिएको हो।

लेखिएको छ,'निलम्बनमा रहँदा उहाँलाई वान वर्ल्ड थिएटरले एक वर्षको समयसम्म कुनै पनि निर्देशन वा प्रशिक्षण को काम दिनेछैन। यो अवधिमा उनलाई केहि काम दिनेभए कम्पनीका वरिष्ठ निर्देशकको सूक्ष्म निगरानीमा केवल कलाकार को रुपमा काम दिइनेछ। यो अवधिमा उहाँले अनिवार्य रुपमा आफ्नो आचरणको आत्म-आलोचनाको लागि काउन्सेलिङ लिनु पर्नेछ।'

एक वर्ष अवधिको अन्त्यमा यो सुधारवादी निलम्बनको मुल्यांकन गरिने र त्‍यसपछिका कदम थिएटरको निर्णय अनुसार हुने प्रष्ट पारिएको छ।

दुई दशकभन्दा लामो समय नाट्य क्षेत्रमा संलग्न उनले २०५४ मा राष्ट्रिय नाचघरबाट अभिनय थालेका हुन्। त्यसपछि आरोहण गुरुकुलमा आवद्ध रहे। हाल नाटकसँगै म्युजिक भिडियो साथै फिल्मको काममा पनि सक्रिय उनी निर्देशन समेत गर्छन्।

उनीसँगै यौन दुर्व्यवहारका आरोपित कलाकार तथा निर्देशक राजन खतिवडाले 'आफ्ना गल्तीका लागि सजाय भोग्न तयार छु' भन्दै वक्तव्य दिएका छन् भने। अर्का नाट्यकर्मी सुनिल पोख्रेल यस विषयमा मौन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell