PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेपाललाई विद्वानहरुको देश बनाउनुपर्छ, 'जेनेटिक मेमोरी'को उपयोग गरौं : प्रम ओली 



 नेपाललाई विद्वानहरुको देश बनाउनुपर्छ, 'जेनेटिक मेमोरी'को उपयोग गरौं : प्रम ओली 
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन्।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
 
“नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ, ” प्रधानमन्त्री ओलीले भने, “हाम्रा विद्वान पूर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ। विद्वान पूर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन।” 

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए। “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ,” प्रम ओलीले भने, “त्यसपछिमात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन्।”

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको  स्वरुप फेरिएको स्पष्ट पारे। “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्,” प्रम ओलीले भने, “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ।”

गत वर्षदेखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन्। “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो। हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ। यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ। यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन,” प्रधानमन्त्री ओलीले भने।

 अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलले सहजीकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell