PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

चेकमा २ वर्ष र रुसमा २ वर्ष उडेपछि लुक्लामा भयो दुर्घटना : यस्तो छ दुर्घटनामा परेको विमानको नालिबेली



चेकमा २ वर्ष र रुसमा २ वर्ष उडेपछि लुक्लामा भयो दुर्घटना : यस्तो छ दुर्घटनामा परेको विमानको नालिबेली

काठमाडौँ :  लुक्ला विमानस्थलमा आइतबार बिहान दुर्घटना भएको समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान विदेशी आकाशमा चार वर्ष उडेपछि नेपाल ल्याइएको थियो। 

यसलाई गोमा एयरलाइन्सले नेपाल ल्याएको थियो। गोमा एयरलाइन्सकै नाम १३ मार्च २०१७ देखि समिट एयरलाइन्स बनाइएको हो। 
समिटले चेक गणतन्त्रको एक्सपोर्ट बैँकसित ऋण लिएर किनेको यो विमान सन् २०१३ मा बनेको हो।

समिटले किन्नुअघिसम्म यो विमान रुसको आकाशमा RA-67039 कल साइनमा सन् २०१४ देखि २०१६ सम्म दुई वर्ष उड्यो। 

रुसमा उड्दाताकाको विमानको फाइल फोटो : एयरलाइन्स डट नेट।

रुसी आकाशमा उड्नुअघि यसलाई चेक गणतन्त्रमा लगभग दुई वर्ष OK-JDP कलसाइनमा उडाइएको थियो। 

यो विमान नेपालमा दुई वर्षअघि फेब्रुअरीमा ल्याइएको थियो। 

गएको वर्ष वैशाख ३ मा जोगिएको थियो दुर्घटनाबाट

एक वर्षअघि पनि यही विमान सोही विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको थियो। 

२०७५ वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना यात्रु लिएर लुक्ला उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्यामा परेको थियो। 

ह्विल लक भएको विमान रनवेको दायाँ पट्टी चिप्लिएको थियो। घटनामा कसैलाई केही भएन। 

तर यो वर्ष भने यो विमान दुर्घटनाबाट जोगिन सकेन। 

छोटो र कच्ची रनवेमा पनि ल्यान्डिङ गर्न सक्षम एलइटी एल-४१० ट्विन इन्जिन विमान आज बिहान उडानको क्रममा रनवेको दायाँपट्टी चिप्लिन पुग्यो। त्यो ठाउँमा मनाङ एयरको हेलिकप्टर थियो। समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरमा ठोक्कियो, त्यसपछि दुवै घिस्रिएर तल्लो हेलिप्याडतिर खस्यो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रका अनुसार दुर्घटनामा समिट एयरको विमान र मनाङ एयरको हेलिकप्टर पूर्ण क्षतिग्रस्त छ भने श्री एयरलाइन्सको हेलिकप्टरमा सामान्य क्षति पुगेको छ। 

समिटको विमानमा पाइलट, को पाइलट र एयरहोस्टेस गरी तीन जना थिए। त्यसमध्ये यो समाचार तयार पार्दासम्म को पाइलट सुनील ढुङ्गानाको मृत्यु भयो भने पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ। एयरहोस्टेस ठीक छिन्। 

मनाङको हेलिकप्टरमा क्याप्टेन चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा थिए। उनीहरुको उपचार ग्रान्डी अस्पतालमा भइरहेको छ।  

घटनास्थलमा रहेका प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा पुर्‍याइएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भयो।

५२ वर्षका स्याङबोचे कार्कीसहित पाइलट रवीन्द्र रोकाय, मनाङको हेलिकप्टरमा रहेका क्याप्टेन चेत बहादुर गुरुङ, लाक्पा शेर्पा गरी चार जनाको ग्रान्डीमा उपचार भइरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell