PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइसीसी यू १९ विश्वकप छनोट : वर्षा बाधक बन्दा नेपाल युएईसँग १ रनले पराजित



पहिलोपोस्ट

आइसीसी यू १९ विश्वकप छनोट : वर्षा बाधक बन्दा नेपाल युएईसँग १ रनले पराजित

काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आज भएको खेलमा वर्षा बाधक बन्दा नेपाल युएईसँग पराजित भएको छ।

दोस्रो इनिङ्समा वर्षाका कारण खेल रोकिँदा दुर्भाग्यजनक रुपमा नेपाल पराजित भएको हो।

युएई डर्कवर्थ लुइस मेथडमा १ रनले विजयी भएको हो।

नेपालले दिएको लक्ष्य पछ्याउँदै युएईले ब्याटिङ गरिरहेको अवस्थामा वर्षाका कारण खेल स्थगित भएको थियो। त्यसपछि खेल पुन: सुरु नहुँदा नेपालले हार बेहोर्नुपर्‍यो।

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएको थियो। पार स्कोर १२१ थियो। त्यसैले युएई १ रनले विजयी भयो।

किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर २४७ रन बनाएको थियो। ११५-५ को स्थितीमा रहेको नेपालको इनिङ्स हरि बहादुर चौहान र भिम शार्कीले अर्धशतक प्रहार गर्दै उकासेका थिए।

हरि र भिमले छैटौँ विकेटका लागि ९२ रनको साझेदारि गरे। हरिले ६७ र भिमले ५३ रन प्रहार गरे। यस्तै ओपनर रित गौचमले ४४ र आसिफ शखले २७ रन जोडे।

युएईका आर मुखर्जीले ४ र मोहमद फाराजुद्दिनले ३ विकेट लिए।

युएईका लागि ब्याटिङमा भृत्य अरविन्दले नटआउट ४७ रन बनाएका थिए।


कुवेत शीर्ष स्थानमा

लगातार दुई खेल जितेको कुवेत अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा ओमानलाई पराजित गरेको कुवेतले दोस्रो खेलमा सिंगापुरलाई पराजित गरेको हो।

यस्तै युएईले पनि लगातार दुई खेल जितेको छ। पहिलो खेलमा युएईले मलेसियालाई पराजित गरेको थियो।

समान ४ अंक भएपनि कुवेतको रनरेट राम्रो रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell