PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘नेपाल सुन्दर छ’ भन्ने संदेश दिन १०१ फोटो प्रदर्शनीमा

‘नेपाल सुन्दर छ’ भन्ने संदेश दिन १०१ फोटो प्रदर्शनीमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: बबरमहल, आर्ट काउन्सिलको तेस्रो तला। ढोकाबाट भित्र छिर्ने बित्तिकै देब्रेतर्फको भित्तामा फोक्सुन्डो तालको फोटो देख्न सकिन्छ। आरके अदिप्त गिरीले खिचेको उक्त फोटोको क्याप्सनले बुझाउँछ फोटो बारे। त्यससँगै छ मोहन दुवालले खिचेको मनाङको ब्रग गाउँको फोटो। नेपालको प्राकृतिक सौन्दर्य झल्कने यी फोटोहरु लगत्तै पालो आउँछ धार्मिक महत्व र अर्थ बोक्ने फोटोहरुको। मन्दिरदेखि मस्दिजमा दुवा मागिरहेकाहरुको फोटो।

उक्त हलदेखि एक तला माथिसम्मका भित्तामा एक सय एक फोटोहरु राखिएका छन्। २९ जना फोटोग्राफरहरुको नाम र फोटो क्याप्सनसहितका यी फोटोहरुले प्राकृतिक सौन्दर्य, धार्मिक महत्वसँगै ऐतिहासिक सम्पदा र परम्परागत, सांस्कृतिक चाड पर्वहरु आदि झल्काउँछ। केही फोटो छन् जसले सामाजिक अवस्थाहरु पनि चित्रण गर्छन्। हिमाल, ताल, पहाड, फूल, जनावर, चरा चुरुङ्गी, जात्रा, पूजा लगायतका फोटोहरु आकर्षक लाग्छन्। 

‘देशलाई हाम्रो खाँचो छ’ नामक संस्थाले आयोजना गरेको हो यो फोटो प्रदर्शनी। जसको मुख्य उद्देश्य ‘पर्यटन वर्ष २०२०’लाई सहयोग पुर्‍याउनु रहेको आयोजक संस्थाका प्रमुख अजय रानाभाटले बताए। भने,'हामी फोटोहरुमार्फत देशभरका सुन्दर विषय र वस्तुहरुलाई चिनाउन चाहन्छौं।'

शुक्रबार चार दिन लामो चल्ने फोटो प्रदर्शनीको उद्घाटन भयो। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली लगायतले कार्यक्रमको उद्घाटन गरेका हुन्। ज्ञवालीले कार्यक्रम आयोजनाका लागि धन्यवाद व्यक्त गर्दै भने,'प्राकृतिक, सांस्कृतिक र परम्परागत विविधता बोकेको हाम्रो देशको महत्व फोटोमार्फत प्रचार गर्नु अत्यन्त सुन्दर कुरा हो। यसले नेपाल पर्यटकीय स्थल हो भन्ने संदेश भरपुर प्रवाह गर्छ भन्ने आशा लिएको छु।' 

प्रदर्शनीको पहिलो दिन नेपालका लागि थाइल्यान्ड, इजिप्टका र म्यानमार दुतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उद्घाटन सहारोहपछि उपस्थित अतिथिहरुले फोटो अवलोकन पनि गरेका थिए।

'नेपाल सुन्दर छ' भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीको यो दोस्रो संस्करण हो। यसअघि भूकम्प लगत्तै विश्वभर नेपाल बारे फेलिएको भयावह समाचारहरुको असर कम गर्न सन् २०१५ को सेप्टेम्बरमा पहिलो संस्करण आयोजना भएको थियो।

कार्यक्रमका लागि निर्णयाक जगदिश तिवारले २९ जना फोटोग्राफरका एक सय एक फोटो चयन गरेका हुन्। जसमध्य मोहन दुलाल, अजय महर्जन र सुशील श्रेष्ठ क्रमश: माउन्टेन्स एण्ड ल्यान्स्केप, कल्चरल र वाइल्ड लाइफ विधाका लागि फिचर्ड छन्। 

प्रदर्शनी आर्ट काउन्सिलमा अप्रिलको १५ तारिखसम्म निरन्तर चल्नेछ। 

 



ट्रेन्डिङ पोस्ट

Ncell