PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिस्काको पहिलो दिन नै भत्कियो भैरवनाथको तीन तल्ले रथ, तर गुठी भन्छ,'रथ गुड्ने अवस्थामा छ'

बिस्काको पहिलो दिन नै भत्कियो भैरवनाथको तीन तल्ले रथ, तर गुठी भन्छ,'रथ गुड्ने अवस्थामा छ'

सहयोग रञ्जित/पहिलोपोस्ट


बुधबार भक्तपुरको टौमडीबाट भैरवनाथ र भद्रकालीको रथ मध्यरातमा ग: हिटी पुर्‍याइयो।

त्यहाँसम्म पुर्‍याइँदा रथमा क्षति पुगेको छ। प्यागोडा शैलीमा बनेको तीन तल्ले रथको फोल:(छानो) बिग्रिएको छ भने काठका तोरणहरु झरेका छन्।

भैरवनाथको मूर्तिलाई आज बिहान मन्दिरबाट निकालेर पालाको घरमा राखिएको छ।

गएराति टौमडीबाट रथलाई दत्तात्रय पुर्‍याउने क्रममा घर र बिजुलीका पोलहरुमा ठोक्किन पुग्दा रथमा क्षति पुगेको थियो।

रथ तान्ने क्रममा गोलमढी पुग्दा घरहरुमासमेत क्षति पुगेको छ। घरका छानोहरु निस्किएका छन् भने केही मन्दिरमासमेत क्षति पुगेको छ। 

भक्तपुर गुठी संस्थानका प्रमुख हरी सुवेदीले भने रथमा सामान्य क्षति पुगेको र छिट्टै निर्माण कार्य सुरु गरिने बताए।

'काठको रथ हो। घर र पोलमा ठोक्किँदा रथमा केही क्षति पुग्नु स्वभाविक हो। माथिल्लो भागको छानोमात्रै बिग्रिएको हो। रथ गुड्ने अवस्थामा छ,' उनले भने।

यता स्थानीय भने गुठी संस्थान र जात्रा व्यवस्थापन गर्ने मानिसहरुको कमजोरीका कारण भैरवनाथको रथ बिग्रिएको आरोप लगाउँछन्।

स्थानीय रामहरी प्रजापति रथमा क्षमताभन्दा बढी मानिस राखेको र मनलाग्दी रथ तानेकोले क्षति पुगेको बताउँछन्।

भैरवनाथको रथमा गुठी नाइके, पूजारी, चौगुठीलगायत तोकिएका व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनाधिकृत रुपमा नचढ्न, जात्रा स्थलमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार नगर्न र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले अपिल गरेको थियो।

विगतका वर्षहरुमा रथमा अत्याधिक मानिस चढ्दा मानवीय क्षति हुँदै आएको छ। तर यसपटक पनि रथमा आवश्यकभन्दा बढी मानिस बसेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell