PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लिबिया संकटभित्रको तेल राजनीति : त्रिपोली नजिकै हफ्तारका लडाकु, राष्ट्रसंघ मिसनको सुरक्षामा नेपाली सेना



विधुर ढकाल

लिबिया संकटभित्रको तेल राजनीति : त्रिपोली नजिकै हफ्तारका लडाकु, राष्ट्रसंघ मिसनको सुरक्षामा नेपाली सेना

काठमाडौं: लिबियामा विद्रोही सैनिक र राष्ट्र संघ समर्थित अन्तरिम सरकारका सैनिकबीच भिडन्त जारी छ। हालसम्म त्यहाँ दुबै पक्ष तथा सर्वसाधारण गरी कम्तीमा ५१ जनाको मृत्यु भइसकेको छ।

जनरल खलिफा ह्फतार नेतृत्वको लिबिएन नेसनल आर्मीका (एलएनए)का लडाकुहरु राजधानी त्रिपोलीलाई घेर्दै अगाडि बढिरहेका छन्।

लिबियामा राजधानी त्रिपोली र पश्चिमी भूभाग राष्ट्र संघ समर्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए)का सेनाको नियन्त्रणमा रहेको छ। पूर्वी भागमा एलएनएको नियन्त्रणमा रहेको छ।

चार दिन अगाडिदेखि पूर्वमा रहेका एलएनए लडाकुहरु पश्चिम तर्फ अगाडि बढिरहेका छन्।

एलएनएका लडाकुहरु तीब्र रुपमा त्रिपोलीतिर अगाडि बढिरहेका छन्। उनीहरु त्रिपोलीको केन्द्र भागदेखि १० माइलको दुरीमा रहेका छन्।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार सरकारी सेनाका जवानहरु विद्रोही सेनासमक्ष आत्मसमर्पण गरिरहेका छन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय संकटकाल घोषणा गरेको छ।

पश्चिमी शहरहरु जावाइया र मिस्राताबाट सरकार समर्थित सैनिकहरु विद्रोही सैनिकसँग लड्नका लागि राजधानीतिर लागेका छन्।

मुहमुर गद्दाफीको मृत्युपछि लिवियामा साना साना लडाकु समूहहरु खडा भएका छन्। त्यस्तै लडाकु समूहमध्येको जोइन्ट त्रिपोली प्रोटेक्सन फोर्सले विद्रोही एलएनएका लडाकुलाई रोक्न परिचालन भएका छन्।

१०० भन्दा बढी हफ्तारका लडाकुहरु जावाइवाका लडाकुको कब्जामा रहेको बताइएको छ। उनीहरुको साथमा आर्मोड गाडीहरुसमेत रहेको बताइएको छ। यो समूह एनएलएको १०६औँ बटालियन रहेको हफ्तारका छोरा खालिदको नेतृत्वमा रहेको बताइएको छ।

मिस्राटाका लडाकुले एनएलएविरुद्ध एयर स्ट्राइक गरेको बताइएको छ।

युद्धको भूमरी पर्दा यहाँका दुई अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका छन्। राजधानी त्रिपोलीमा रहेको त्रिपोली अन्तर्राष्ट्रिय विमानस्थल आइतवारदेखि नै बन्द भएको थियो भने अर्को विमानस्थल पनि सोमवारबाट बन्द भएको छ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुर्रेटेरसको पहिलो लिविया भ्रमणसँगै यहाँ युद्ध भड्किएको छ। शुक्रवारमात्र उनी विद्रोही लडाकु नियन्त्रित पूर्वी क्षेत्र गएका थिए।

महासचिवले त्यहाँ पुगेर हफ्तार समर्थित पूर्वी क्षेत्रका संसदका प्रमुख अग्लिया सलेहसँग भेट गरेका थिए।

सोमवारमात्र विद्रोहीहरु मितिका विमानस्थलमा आक्रमण गरेका छन्। जुन शहरको ८ किलोमिटर मात्र पूर्व रहेको छ।

राष्ट्र संघका लिविया मिसन प्रमुखले घटनाको निन्दा गरेका छन्। सर्वसाधरणहरु उडानका लागि तयार भइरहेका बेला विमानस्थललाई लक्षित गरी एयरस्ट्राइक भएको थियो।

यहाँबाट ६ वटा विमानहरु यात्री लिएर उडान भर्न लागेका थिए।

राष्ट्र संघका अधिकारीका अनुसार पछिल्लो हिंशाका कारण ३४ सय मानिसहरु विस्थापित भएका छन्। उनीहरु मानवीय सहायताबाट बञ्चित बनेको र घाइतेहरु उपचारबाटसमेत बञ्चित रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले घाइतेहरुको उपचारमा संलग्न दुई जना चिकित्सकहरुको हत्या भएको जनाएको छ।

किन बढ्दै छ हफ्तारका लडाकु त्रिपोलीतिर?

पूर्व सैनिक शासक गद्दाफी समर्थित हफ्तारले सन् २०१७ मा लिबियाको पूर्वी शहर बगांजी नियन्त्रणमा लिएका थिए।

उनी समर्थित लडाकुहरुले यसै वर्षको शुरुवातमै देशका ठूला तेल खानीहरु नियन्त्रणमा लिएको थियो। एक महिनामै दक्षिणी लिबियाको ठूलो शहर साबालाई नियन्त्रणमा लिएको थियो। त्यहाँ नियन्त्रण लिएसँगै हफ्तारको नियन्त्रणमा यतिवेला झण्डै दुई तिहाइ लिबियाको भूभाग कब्जामा आएको छ। अब यो समूह पश्चिम लिबिया र राजधानी त्रिपोली कब्जा गर्ने रणनीतिसहित अगाडि बढेका छन्।

हफ्तार र उनको आर्मी एलएनएलाई साउदी अरब, युएई, जोर्डन, इजिप्ट, रुस र फ्रान्स लगायतका देशहरुको सैन्य तथा राजनीतिक सहयोग रहँदै आएको छ। 

गत मार्चको अन्त्य तिर हफ्तारले रियादको भ्रमण गरेका थिए। त्यहाँ उनले साउदी राजा शलमानसँग भेट गरेका थिए। त्यस्तै अबुधाबी पुगेर राजकुमार मोहम्मद विन जायेद र इजिप्ट पुगेर त्यहाँका राष्ट्रपतिसँग भेट गरेका थिए।

तेलको राजनीति

लिबियाली सैन्य शासक मुअमार गद्दाफीको हत्याको ८ वर्ष हुँनै लाग्दा लिबिया अहिले दुई भागमा बाँडिएको छ पूर्व र पश्चिम। यहाँको तेल खानीमाथिको नियन्त्रण लिने गरी युद्ध अर्थतन्त्र अगाडि बढेको छ।

लिबियाको ८० बिलियन डलर बराबरको तेल रेभिन्यू तथा विदेशी सञ्चिती त्रिपोलीमा रहेको जिएनए सरकारको नियन्त्रणमा रहेको छ।

तर पूर्वी र दक्षिणी क्षेत्रमा रहेका तेला खानीहरुमा नियन्त्रणमा लिएका जनरल हफ्तारले पूर्वमा समानान्तर सरकार चलाइरहेका छन्।

उनका सेनाहरु त्रिपोलीतर्फ बढ्दै गर्दा युद्धको अर्को आगो सल्किने त्रास बढ्दै गएको छ।

देशको आम्दानी खर्च नभएर थुप्रिएर बसेको छ।  यहाँ रहेका सबै पक्ष एक ठाउँमा आउने सम्भावना न्यून रहेको छ।

हफ्तारलाई कसले सहयोग गरिरहेको छ? लिबियाको तेल माथि कसको नियन्त्रण हुने?  देश विभाजन भयो भने यहाँ थुप्रिएको देशको सम्पत्ति कसको हुने? भन्ने प्रश्नहरु यतिबेला उब्जिएका छन्।

अहिले चलिरहेको युद्धमा कुनै पनि सिद्धान्तले नखेलेको इनर्जी एस्पेक्ट्स भूराजनीति विश्लेषक रिकार्डो फाबियानी बताउँछन्।

'यो संकटमा कुनै आइडियोलोजीको हात छ भन्ने मलाई लाग्दैन। यो देशको तेल र अर्थतन्त्र तथा विदेशी मुद्रा नियन्त्रणमा लिने प्रयास हो। लडाकुहरु एकअर्काबीच लडिरहेका छन् किनभने उनीहरु यी सबै क्षेत्रमा नियन्त्रण चाहन्छन्,' उनले भने।

हफ्तार आफू लिबियाको संकट समाधान गर्न सुत्रको रुपमा लिँदै आएका छन्।

अन्तर्राष्ट्रिय चासो

लिबियाका संकट बढ्दै जाँदा अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ।

अमेरिकाले हफ्तारलाई आफ्नो केन्द्रमा फर्किन आग्रह गरेको छ। विदेश मन्त्री माइक पोम्पिओले वक्तव्य जारी गर्दै आक्रमण रोक्न आग्रह गरेका छन्

'हामीले प्रष्ट रुपमा भनेका छौँकी त्रिपोलीमाथि खालिफा हफ्तारको फोर्सले गर्ने आक्रमणको विपक्षमा हामी छौँ। र उनको फोर्स आफ्नो स्थानमा फर्किनुपर्छ,' वक्तव्यमा भनिएको छ।

अमेरिकाले लिबिया संकटको समाधान सैन्य अप्रेसनबाट नहुनेसमेत बताएको छ। पोम्पिओले लिबियाको राजनीतिक समाधान लिबियाको एकता र सम्पूर्ण लिबियालीहरुको सुरक्षा, स्थायित्व र समृद्धिको मार्गचित्र नै भएको बताएका छन्।

अमेरिकाले लिबियामा संकट बढ्दै जाँदा आफ्नो सैनिकहरुलाई स्थानान्तरण गरेको जनाएको छ। अमेरिकी सेनाको युएस अफ्रिका कमाण्ड त्यहाँबाट सारिएको बताइएको छ।

त्यस्तै भारतले पनि शान्ति सेनामा कार्यरत आफ्ना सैनिक तथा प्रहरीलाई सारेको जनाएको छ। भारतीय विदेश मन्त्री सुस्मा स्वराजले त्यहाँ कार्यरत १५ सेन्ट्रल रिजर्भ पुलिस फोर्सका शान्ति सेनालाई त्रिपोलीबाट उद्धार गरिएको जानकारी गराएकी छन्।

इटालीको बहुदेशीय तेल तथा ग्यास कम्पनी एनीले आफ्ना सबै कामदारहरुलाई उद्धार गरेको जनाएको छ। त्यस्तै राष्ट्र संघले आवश्यक बाहेकका आफ्ना अधिकारीहरुलाई बाहिर पठाएको छ।

त्रिपोलीमा रहेको राष्ट्र संघको मिसन मुख्यालयको सुरक्षा जिम्मा नेपाली सेनाका ब्लु हेलमेटहरुले सम्हालिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell