PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विप्लव नेतृत्वको नेकपाको चरणवद्ध आन्दोलनका कार्यक्रम, वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बिथोल्ने



पहिलोपोस्ट

विप्लव नेतृत्वको नेकपाको चरणवद्ध आन्दोलनका कार्यक्रम, वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बिथोल्ने
फाइल फोटो

काठमाडौँः सरकारले प्रतिवबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सोमबार महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विप्लवले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै कार्यक्रमलाई विथोल्नेसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

विप्लवले पार्टीका कार्यक्रमविरुद्ध सरकार 'पागल'पूर्ण रूपमा लागेको आरोपसमेत लगाएका छन्।

‘ओली सरकार र रामबहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजीको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ।’

विप्लवले नेकपाले क्रान्तिलाई अगाडि बढाइरहेको भन्दै नजिस्क्याउन समेत चेतावनी दिएका छन्। उनले शान्ति, वार्ता र सम्झौताका नाममा देश, जनता र क्रान्तिलाई धोका भएको भन्दै प्रतिवाद गर्नेसमेत चेतावनी दिएका छन्।

‘नेपाल राष्ट्र र नेपाली जनताको यो हबिगत बनाउने दलाल पुँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहितका नेता कार्यकर्तालाई फागुन २८ गतेदेखि पक्राउ गरी झुटा मुद्दा लगाएर फसाएको आरोपसमेत विप्लवले लगाएका छन्।

विप्लवले प्रतिबन्धको विरुद्ध चैत २६ गतेदेखि २९ गतेसम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेका छन्। त्यस्तै वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अवरोध गर्ने र सहभागी हुन प्रतिबन्ध लगाउने घोषणासमेत विप्लवले विज्ञप्तिमार्फत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell